१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
२०८० असार १९ मंगलबार ०९:२२:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

दोस्रो पटक धरानका मेयर साङपाङले राखेकाे बोर्ड इटहरीका मेयर पौडेलको निर्देशनमा हटाइयो 

धरान–इटहरी सीमा विवाद

Read Time : > 1 मिनेट
२०८० असार १९ मंगलबार ०९:२२:००

धरान र इटहरी उपमहानगरपालिका बीचको सीमा विवाद पुनः बल्झिएको छ । सोमबार धरानका नगरप्रमुख हर्कराज साङपाङले इटहरीको तरहरास्थित पानीपियामा सीमा प्रारम्भ बोर्ड लगाएका थिए । अपराह्न धरानका नगरप्रहरीले धरान उपमहानगरपालिका सीमा प्रारम्भ लेखेको बोर्ड राखेका थिए । सो बोर्ड केही समय पश्चात नै इटहरी उपमहानगर प्रमुख हेमकर्ण पौडेलको निर्देशनमा इटहरी नगरप्रहरीले हटाएका छन् । 

गत १० वैशाख गते पनि साङपाङले पानीपियामै सीमा प्रारम्भ बोर्ड राखेका थिए । त्यसलगत्तै युवा संघ इटहरीले त्यसलाई हटाएको थियो । सोही समयदेखि धरान इटहरीबीच सीमा विवादको रुपमा देखिदै आएको छ । त्यसको केही दिन पश्चात शान्त रहेको सो विवाद सोमबार मेयर साङपाङले पुनः बोर्ड राखेसँग फेरी बल्झिएको हो ।

पहिलेबाटै इटहरी– धरानको सिमाना सेउती पुल रहेको इटहरीका मेयर पौडेलको दाबी छ । यसअघि उनले धरानले बोर्ड राखेपछि पौडेलले सीमा निर्धारण गर्दा ऐतिहासिक तथ्यलाई ख्याल गर्नुपर्ने बताएका थिए ।

धरानको सीमा क्षेत्र पानीपिया भएको भन्दै बोर्ड राखिएको धरान उपमहानगरका प्रमुख साम्पाङको भनाई छ । बीचमा समन्वय तथा छलफलका लागि पहल गर्दा प्रहरी प्रशासनबाट सहयोग नआएकाले आफ्नो सीमा क्षेत्रमा बोर्ड राखेको उनी बताउँछन् । उता, इटहरी उपमहानगरपालिकाका प्रमुख हेमकर्ण पौडेलले भने समन्वय र संवाद मार्फत समस्याको हल गर्नुपर्ने बताउँदै आएका छन् ।

बोर्ड राखेको स्थान पानीपिया भन्दा ५ किलोमिटर उत्तरमा रहेको सेउती पुललाई नै इटहरी र धरानको साँध रहेको इटहरीको दाबी छ । अघिल्लो पटक र सोमबार धरानले बोर्ड राखेको क्षेत्र इटहरी उपमहानगरपालिकाको २० नम्बर वडा तरहरा क्षेत्रमा पर्छ ।

इटहरीका मेयर पौडेल र धरानको प्रशासकीय अधिकृत मातृका भट्टराईसँग फोन सम्पर्कबाट यो समस्या हटाउन कुरा भइरहेको जिल्ला समन्वय समितिका अध्यक्ष राजन मेहताले बताए । ‘सोमबार साँझबाटै फोनबाट कुरागरिरहेको छु’ उनले भने, ‘वडा, नगर कहाँकहाँ कहिले मर्ज भयो भन्ने विषय पनि हेर्नुपर्ने भएकाले मंगलबार बैठक बस्न सक्ने गरी पहल भइरहेको छ।’

छलफलका लागि मंगलबार बिहान मात्र के गर्ने भन्ने विषयमा टुंगो लाग्ने उनले बताए । यो सामान्य जस्तो देखिए पनि सामान्य विवाद नभएको र चाँडै नै यसकाे समाधान हुनुपर्ने समेत उनको भनाई छ ।