१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २३ आइतबार
  • Sunday, 05 May, 2024
हेवाखोलामा अस्थायी रूपमा सवारी सञ्चालनका लागि डाइभर्सन निर्माण गरिँदै । तस्बिर सौजन्य : जिल्ला प्रहरी कार्यालय पाँचथर ।
२o८१ बैशाख २३ आइतबार o८:२८:oo
Read Time : > 1 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

दुई सातासम्म सञ्चालनमा आउन सकेन मेची राजमार्गको पाँचथर–ताप्लेजुङ खण्ड

बेलिब्रिज निर्माण गर्न अझै १०–१५ दिन लाग्ने, ताप्लेजुङमा पेट्रोलियम पदार्थ र खाद्यान्न अभाव

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २३ आइतबार o८:२८:oo

बाढीले पुल बगाउँदा मेची राजमार्गअन्तर्गत पाँचथर–ताप्लेजुङ खण्ड दुई सातादेखि अवरुद्ध छ । गत २ असार मध्यरातको बाढीपहिरोका पाँचथरस्थित हेवाखोलाको पुल बगाउँदा अवरुद्ध भएको सडक अझै सञ्चालनमा आउन सकेको छैन ।मेची राजमार्ग अवरुद्ध हुँदा दुई सातादेखि ताप्लेजुङ सडक सञ्जालसँग जोडिएको छैन ।

मेची राजमार्गको विकल्पमा रहेको तमोर करिडोरअन्तर्गत पाँचथरको हेवाखोलाले बेलिब्रिज बगाउँदा राजमार्ग पनि ठप्प छ । तमोर करिडोरमा भने करिब पाँच सय मिटर एप्रोज रोडसमेत बगाएको सडक विभागका प्रवक्ता रामहरि पोखरेलले बताए । बाढीपहिरोको भोलिपल्ट ३ असारमा भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वालाले १० दिनभित्र बेलिब्रिज पुल निर्माण गरेर यातायात सञ्चालनमा ल्याइने दाबी प्रतिनिधिसभामै गरे पनि अझै १०–१५ दिन लाग्ने भएको छ ।

त्यतिखेर मन्त्री ज्वालाले बर्खामा सडक अवरुद्ध हुन सक्ने भएकाले बेलिब्रिज र त्यसमा आवश्यक उपकरण तयारी अवस्थामा रहेको र तुरुन्तै काम गर्न सकिने अवस्था रहेको बताएका थिए । सडक विभागका प्रवक्ता रामहरि पोखरेलले बेलिब्रिजका लागि फाउन्डेसनको काम भइरहेको र अझै १० देखि १५ दिन लाग्न सक्ने बताए । ‘राजमार्ग अहिले पनि ठप्प छ ।

डाइभर्सन निर्माण गरेका थियौँ । फेरि अर्काे बाढीले बगाएर लग्यो,’ उनले भने, ‘डाइभर्सन बनाउने ठाउँ रहेनछ । तर, बनाउने प्रयास भइरहेको छ । पानी घट्यो भने ह्युमपाइप राखेर निर्माण गर्छौँ ।’ पाँचथरका प्रमुख जिल्ला अधिकारी मेखबहादुर मंग्रान्तीले दुईपटक अस्थायी डाइभर्सन निर्माण गरे पनि पानीको बहाव बढेर भत्काएको बताए । ‘केही दिनदेखि राजमार्ग अवरुद्ध भएको छ । त्यसलाई खुलाउने प्रयास भइरहेको छ,’ उनले भने ।

बाढीले पुल बगाएको तेस्रो दिनबाट बेलिब्रिज निर्माणको काम सुरु गरिएको हो । भौतिक पूर्वाधारमत्री ज्वाला शनिबार मात्र निर्माणाधीन बेलिब्रिजको निरीक्षणका लागि हेवाखोला पुगेका थिए ।मेची राजमार्गमा पर्ने हेवाखोलामा पुल निर्माण नहुँदा यात्रुले बाँसको पुलमा यात्रा गरिरहेका छन् ।  उनीहरूले सामग्री तुइनमार्फत वारिपारि गर्दै आएका छन् । ताप्लेजुङसँग जोड्ने दुवै राजमार्ग ठप्प हुँदा ताप्लेजुङमा पेट्रोलियम पदार्थ र खाद्यान्न अभाव देखिएको ताप्लेजुङकी प्रमुख जिल्ला अधिकारी गोमादेवी चेम्जोङले बताइन् । ‘ताप्लेजुङमा दुईवटा पेट्रोल पम्प छन् । 

अहिले आकस्मिकका लागि राखिएकोबाहेक सर्वसाधारणलाई दिने गरिको पेट्रोलियम पदार्थ छैन । बीचमा डाइभर्सनबाट एक दिन सवारी चल्दा १८ हजार लिटर र डिजेल १८ हजार लिटर ल्याइएको थियो । ती सबै सकिए,’ उनले नयाँ पत्रिकासँग भनिन्, ‘खाद्यान्न पनि व्यवसायीले हेवाखोलामा लगाइएको तुइनमार्फत ल्याउँदै हुनुहुन्छ । यस्तै रहने हो भने खाद्यान्न संकट पर्न सक्छ ।’

 मोटरसाइकल सञ्चालन गर्न झोलुङे पुल
राजमार्गमा वैकल्पिक माध्यमबाट यात्रा गराउन स्थानीय र सुरक्षाकर्मीले खोलामा तुइन, बाँसको पुल बनाएका छन् । ठप्प राजमार्गमा मोटरसाइकलसम्म भए पनि सञ्चालनका लागि सुरक्षाकर्मीले अस्थायी झोलुंगे पुल निर्माण गरेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रवक्ता प्रहरी निरीक्षक दिवस कुँवरले जानकारी दिए । उनका अनुसार आइतबारबाट यो झोलुंगे पुल भएकाले मोटरसाइकल आवतजावत सुरु भएको छ । फिदिम नगरपालिकाको आर्थिक सहयोगमा सुरक्षाकर्मीले फलाम र बाँसबाट अस्थायी झोलुंगे पुल निर्माण गरेका हुन् ।

ad
ad