१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o असार १५ शुक्रबार
  • Wednesday, 26 June, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८o असार १५ शुक्रबार ११:३६:oo
Read Time : > 1 मिनेट
ad
ad
ad
ad
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

दाम्पत्य जीवन सफल बनाउन...

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८o असार १५ शुक्रबार ११:३६:oo

आफ्नो दाम्पत्य जीवन सफल बनाउने चाहना सबैको हुन्छ । तर, विभिन्न कारणले वैवाहिक जीवन खुसी र सुखी हुन नसकेकोे धेरैको गुनासो सुन्न पाइन्छ । आखिर दाम्पत्य जीवन सफल हुन नसक्नुमा दोष कसको हुन्छ ? श्रीमान्–श्रीमतीबीच कस्ता कुराले समस्या सिर्जना हुन्छ ? दाम्पत्य जीवनलाई सफल बनाउन हरेक दम्पतीले अपनाउनुपर्ने केही उपाय यस्ता छन् : 

सह–पहिचान 
अधिकांशले आफ्नो चाहनाअनुसार मात्र जीवन जिइरहेका हुन्छन् । आफ्नो सहयात्रीको विचार तथा भावना बुझ्ने कोसिस पनि गर्दैनन् । दाम्पत्य जीवनको मुख्य मन्त्र भनेको जीवनसाथीको विचार तथा भावना बुझेर अगाडि बढ्नु हो । पार्टनरको कुरा सुन्नुभन्दा आफ्नो सुनाउन बढी आतुर हुँदा समस्या सिर्जना हुन्छ । यस्तै कारणले पुराना दम्पतीबीच पनि फाटो आइरहेको हुन्छ । अतः एक–अर्काको भावनालाई सही तरिकाले बुझ्न अत्यन्त जरुरी छ ।

एक–अर्काप्रति सम्मान
पतिपत्नीले एक–अर्काको विचार तथा भावनाको सम्मान वा कदर नगर्दा मनमा गहिरो चोट लाग्न सक्छ । मानिसले सबै कुरा गुमाउन सक्छ, तर आत्मसम्मान गुमाउन चाहँदैन । त्यसैले दाम्पत्य जीवन सुखमय बनाउन एक–अर्काप्रति सम्मान गर्नुपर्छ । धेरै दम्पतीको एउटै गुनासो हुन्छ, ‘तिमीले मलाई बुझेनौ ।’ त्यसैले एक–अर्कालाई बुझ्नु भनेको एक–अर्काप्रतिको विचार, भावना र व्यवहारप्रतिको सम्मान गर्नु हो ।

तनाव बुझ्नु
पतिपत्नीबीचको सन्तुलित यात्राविना जीवन पक्कै आनन्ददायी हुँदैन । एक–अर्काको उत्प्रेरणाकै कारण यात्रा सही रूपमा अगाडि बढाउन सकिन्छ । प्रायः जीवनसाथीबीच उत्प्रेरणा जगाउनुभन्दा कमजोरीलाई अघि सारेर होच्याइन्छ । यसो गर्दा उनीहरूबीच ठूलो फाटो आउँछ । पत्नीका हरेक कार्यमा पतिले सघाउने र पतिका कार्यमा पनि पत्नीले सहयोग पुर्‍याउनुपर्छ । एकले अर्काको तनावलाई बुझी व्यवस्थापनमा सहयोग गर्नुपर्छ ।

सम्बन्धलाई अर्थपूर्ण बनाउनु
प्रत्येक पति–पत्नी आफ्नो सम्बन्ध विशेष होस् भन्ने चाहन्छन् । कतिले समाजमै चर्चा होस् भन्ने पनि चाहन्छन् । यसका लागि श्रीमान्–श्रीमती सामाजिक कार्यक्रममा सँगै भाग लिने गर्नुपर्छ । कतिपय पत्नी पतिसँगै जान्छु भन्दा पनि साथै लैजान पतिले हिच्किचाउँछन् । दुवैजना सामाजिक कार्यक्रममा सँगै गएर योगदान पुर्‍याउँदा अपूर्व सन्तुष्टि मिल्छ । जसले गर्दा दाम्पत्य जीवन रोचक एवं अर्थपूर्ण बनाउन सकिन्छ ।

प्रेम, श्रद्धा र क्षमा
प्रेम यस्तो औषधि हो, जसले शरीर, मन र भावनाको समस्यालाई पनि निको पार्छ । ‘प्रेम’ शब्द हेर्दा छोटो देखिए पनि अत्यन्त गहिरो विषय हो । कतिले प्रेमलाई स्वार्थ, सर्त परिपूर्ति गर्ने माध्यम पनि ठान्दछन् । पतिपत्नीबीच सुमधुर सम्बन्धका लागि प्रेम महत्वपूर्ण हुन्छ । एक–अर्काको भावना बुझेर प्रेम गर्दै अघि बढ्नुपर्छ । एक–अर्कामा श्रद्धा गर्ने र कुनै गल्ती भयो भने त्यसलाई ठूलो पारेर पार्टनरलाई दबाउनु हुँदैन । यसले पार्टनरको आत्मविश्वासमा कमी हुन्छ । प्रायः पतिपत्नीको सम्बन्ध एक–अर्कालाई क्षमा गर्न नसकेका कारण भताभुंग भएको पाइएको छ ।

हरेक कुरालाई नवीन रूपमा हेर्नु
एउटै कुरा सधैँ दोहोरिँदा दिक्क लाग्नु स्वाभाविकै हो । यो पुरुषमा अलि बढी हुन्छ । धेरैजसो विवाहित पुरुष पत्नीलाई समय धेरै नदिने र सम्बन्ध पुरानो हुँदै जाँदा सम्बन्धमा रुचि कम हुँदै गएको विभिन्न मनोवैज्ञानिक अनुुसन्धानमा उल्लेख गरेको पाइन्छ । यसको समाधान भनेको सम्बन्धलाई ताजा राख्नु नै हो । यसका लागि हरेक व्यवहारलाई नवीन रूपमा हेर्ने कलाको विकास गर्नुपर्छ ।

सकारात्मक सोच र गल्ती स्वीकार
हरेक कुरालाई नकारात्मक रूपमा मात्र देख्ने धेरैको बानी हुन्छ । सहयात्रीका हरेक काममा खोट मात्र लगाउने बानीले सम्बन्धमा चिसोपना आउन सक्छ । यस्तो नकारात्मक सोचले घरको वातावरणमा समेत नराम्रो असर पुर्‍याउँछ । पतिपत्नीबीच सामान्य झगडा र मनमुटाव हुनु स्वाभाविक नै हो । तर, एकको गल्तीलाई अर्कोले औँल्याएर सकारात्मक रूपमा बुझाउन सकिन्छ । गल्ती भयो भने स्वीकार गर्न पछि पर्नुहुँदैन ।

ad
ad
ad
ad