१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o असार १३ बुधबार
  • Wednesday, 03 July, 2024
जिल्ला ब्युरो काठमाडाैं
२o८o असार १३ बुधबार o८:२२:oo
Read Time : > 1 मिनेट
ad
ad
ad
ad
अर्थ प्रिन्ट संस्करण

चर्को गर्मीमा विद्युत् अनियमित हुँदा सास्ती

Read Time : > 1 मिनेट
जिल्ला ब्युरो, काठमाडाैं
नयाँ पत्रिका
२o८o असार १३ बुधबार o८:२२:oo

गर्मीको समयमा विद्युत् अनियमित हुँदा सर्वसाधारण मारमा परेका छन् । बारम्बार विद्युत् अनियमित हुने, पावर नपुग्नेजस्तो देखिने तथा  दैनिक १०–१२ पटकसम्म विद्युत् जाने गरेको धनगढी उपमहानगरपालिका–१ का गगन भण्डारीले बताए ।

‘बारम्बार विद्युत् जान्छ, कतिवेला पावर नपुगेर पंंखा चल्दैन,’ भण्डारीले भने, ‘गर्मीमा बस्नै समस्या छ ।’ उद्योग, कलकारखानामा पनि यसको प्रभाव परेको छ । पावर नपुग्ने र वेलावेला बत्ती जाने समस्याले उत्पादन प्रभावित भएको उद्योगीहरूको गुनासो छ । पटक–पटक विद्युत् अवरुद्ध हुँदा विद्यार्थी मारमा परेका नेपाल विद्यार्थी संघ कैलालीका अध्यक्ष मनीष कुँवरले बताए । विद्युत् नियमित गर्न माग गर्दै नेपाल विद्यार्थी संघ कैलालीले गत ४ असारमा नेपाल विद्युत् प्राधिकरणको धनगढी वितरण केन्द्रलाई ज्ञापनपत्रसमेत बुझाएको थियो ।  

 नेपाल विद्युत् प्राधिकरण धनगढी वितरण केन्द्रका निमित्त प्रमुख मोहन जोशीले लोडसेडिङ नभएको, तर अन्य प्राविधिक कारणले विद्युत् अनियमित हुने गरेको बताए । गर्मीको सिजनमा विद्युत् बढी खपत हुने भएकाले ‘ओभरलोड’ हुँदा सिस्टम जाने, वर्षा र हावाहुरीले पोल ढल्ने, तारहरू जुध्ने, तारमा रूख र हाँगाहरू खस्नेजस्ता कारणले विद्युत् आपूर्तिमा समय–समयमा समस्या देखिने गरेको उनले बताए ।

रुपन्देही उद्योग संघका पूर्वअध्यक्ष गणेश अधिकारीले विद्युत्को समस्या बढ्दो रहेको बताए । बुटवल औद्योगिक क्षेत्र उद्योग संघका पूर्वअध्यक्षसमेत रहेका अधिकारीले लो भोल्टेज र पटक–पटक लाइन जाने समस्या रहेको बताउँछन् । बुटवल उद्योग वाणिज्य संघका महासचिव विमलराज भट्टराई विद्युत् अनियमितताले सबैलाई मार परेको बताउँछन् ।विद्युत्मा आत्मनिर्भर भइयो भन्ने, तर पूर्वजानकारीविनै लोडसेडिङ गर्ने प्रवृत्तिले सबै क्षेत्रलाई नराम्रो प्रभाव पारेको छ, महासचिव भट्टराईले भने, विद्युत्मा तत्काल सुधार गर्न आवश्यक छ, यसतर्फ सम्बन्धित निकायले ध्यान दिनुपर्छ । 

वीरगन्ज–पथलैया औद्योगिक करिडोर क्षेत्रमा झ्यापझ्याप विद्युत् जाने कारण उद्योगी सञ्चालनमा कठिन भएको व्यवसायीले बताएका छन । विद्युत् प्राधिकरणले घोषित रूपमा लोडसेडिङ नभने पनि ट्रिपिङका कारण समस्यामा परेको बताएका हुन् । दैनिक पाँचदेखि १० पटकसम्म बत्ती आउने–जाने कारण ठूलो मारमा परेको उद्योग वाणिज्य संघ वीरगन्जका उपाध्यक्ष माधव राजपालले बताए । उनका अनुसार औद्योगिक करिडोरका उद्योगीले उत्पादन गर्दै आएका गुणस्तरीय सामग्रीमा असर परेको छ । दिनभरि विद्युत् आपूर्ति सहज नहुँदा लोडसेडिङ नै गरेर विद्युत् आपूर्ति सहज गर्न उनको माग छ । विद्युत् आपूर्तिमा समस्या हुँदा नागरिक र होटेल–व्यापारमा असर देखिएको बताए ।

१५ दिनयता लमजुङमा दैनिकजसो विद्युत् अवरुद्ध भइरहेको छ । नेपाल विद्युत् प्राधिकरणअन्तर्गत ३३ केभिएको संरचनामा समस्या हुँदा जिल्लाभर समस्या भएको केन्द्रले जनाएको छ । बेँसीसहर–१, उदिपुरस्थित सबस्टेसनको प्रणालीमा समस्या हुँदा आमउपभोक्ताले सास्ती खेप्नुपरेको विद्युत् वितरण केन्द्र लमजुङका प्रमुख मेघनाथ भट्टराईले बताए । विद्युत् सेवा प्रभावित हुँदा उद्योगी–व्यवसायी, गृहिणीलाई बढी सास्ती भएको छ ।  

जिल्लामा ७० मेगावाटको मध्यमस्र्याङ्दी जलविद्युत् आयोजना, ५० मेगावाटको माथिल्लो मस्र्याङ्दी जलविद्युत् आयोजना, दोर्दी करिडोरका ५४ मेगावाटको सुपर दोर्दी ‘ख’, २५ मेगावाटको माथिल्लो दोर्दी ‘ए’, ३० मेगावाटको दोर्दी खोला जलविद्युत् आयोजना र १२ मेगावाटको दोर्दी–१ जलविद्युत् आयोजना तथा अन्य खुदी, सिउरी, राधी, स्याँगे, छ्याङ्दी, मिदिमलगायत साना आयोजनाबाट दुई सय ४० मेगावाटभन्दा बढी विद्युत् उत्पादन भइरहेको छ ।

धनगढीमा तेजराज भट्ट, वीरगन्जमा तिवारी यादव बुटवलमा विष्णु घिमिरे र लमजुङमा शान्ता कमली

ad
ad
ad
ad