१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o असार १३ बुधबार
  • Wednesday, 03 July, 2024
२o८o असार १३ बुधबार १२:१o:oo
Read Time : > 2 मिनेट
ad
ad
ad
ad
अर्थ प्रिन्ट संस्करण

देशैभर विद्युत् ट्रिपिङको समस्या, जलविद्युतकाे चक्र प्रभावित

प्रसारण लाइन अभाव भएपछि उत्पादन घटाउन जलविद्युत् आयोजनालाई प्राधिकरणको निर्देशन

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o८o असार १३ बुधबार १२:१o:oo

प्रसारण लाइनलगायतका विद्युतीय पूर्वाधारको क्षामताले नधान्दा देशभर झ्याप–झ्याप बत्ती जाने (ट्रिपिङ) समस्या झन् बढ्दै गएको छ । गर्मीमा विद्युत्को माग उच्च हुँदा ३१ जेठदेखि ३ असारसम्म मध्य र पश्चिम नेपालमा विद्युत् आपूर्तिमा समस्या आएको थियो । अहिले त देशभर सिस्टमबाटै स्वतः विद्युत् कटौती हुने समस्या बढ्न थालेको हो । प्राधिकरणले यसअघि विद्युत् आपूर्तिमा समस्या आएमा उद्योगमा कटौती गरेर भए पनि घरायसी र अस्पतालमा विद्युत् दिने गरेको थियो । तर, यसपालि घरायसी र अस्पतालमा समेत विद्युत् ट्रिपिङ हुन थालेको छ । 

पछिल्ला दिनहरूमा विराटनगर, वीरगन्ज, काठमाडौं उपत्यका, चितवन, पोखरा, नेपालगन्जलगायतका अधिकांश सहरहरूमा विद्युत् जाने समस्या झन् बढ्न थालेको छ । दिनमा ५–६ पटक नै विद्युत् जाने–आउने गरेको पूर्वी नवलपरासीस्थित गैँडाकोटमा बसोवास गर्दै आएकी स्नेहा विश्वकर्माले बताइन् । यसैगरी नयाँ बानेश्वरमा बस्ने प्युठानका सुवासचन्द्र केसी पनि विद्युत् जाने समस्याबाट हैरान भएको बताउँछन् ।

साँगास्थित स्माइनल इन्जुरी पुनस्र्थापना केन्द्र (अस्पताल)मा ओखलढुंगाकी विष्णुमाया मगरले छोरा सरोज श्रेष्ठलाई थेरापीका लागि राखेकी छिन् । एक सातादेखि अस्पतालमै रहेकी उनले विद्युत् आउने–जाने समस्याले उपचारमा कठिनाइ भएको बताइन् । ‘म केही दिनदेखि छोराको उपचारका लागि यहाँ छु । तर, अस्पतालमा समेत बिजुली जाने समस्या दैनिक देखिएको छ,’ उनले भनिन्, ‘यसले व्यावहारिक पक्षहरूमा समस्या परेको छ ।’ 

नेपालको अधिकतम विद्युत् माग १७ सय मेगावाट हाराहारी हुँदा प्रसारण लाइन, सबस्टेसनलगायतका पूर्वाधारले धानेकै थियो । तर, अहिले विद्युतीय सवारीसाधन, विद्युतीय चुलो, एसीलगायतका उपकरणले दुई–तीन सय मेगावाट माग बढ्दा पनि वितरण प्रणालीमा समस्या आएको छ । प्रसारण प्रणालीमा ओभर लोड हँुदा ट्रिपिङको समस्या बढेको प्राधिकरणका प्रवक्ता सुरेश भट्टराई पनि स्वीकार गर्छन् ।

आन्तरिक उत्पादन बढेसँगै प्राधिकरणले भारतमा विद्युत् निर्यात गर्न सुरु गरिसकेको छ । तर, अन्तरिक प्रसारण प्रणाली बलियो नहुँदा स्वेदशमै विद्युत् आपूर्तिमा समस्या आउन थालेको हो । नेपालमा अहिले विद्युत्को जडित क्षमता २७ सय मेगावाट पुगिसकेको छ । यो स्वदेशी पिक डिमान्डभन्दा सात–आठ सय मेगावाट बढी हो । तर, प्रसारण प्रणालीलगायतका पूर्वाधार पर्याप्त नबन्दा विद्युत् उत्पादन भएर पनि लोडसेडिङ हुने संकेत देखिएको सरोकारवाला बताउँछन् ।

 उत्पादन बढ्दा पनि उद्योगमा कटौती
उत्पादन बढ्दासमेत पिक आवरमा उद्योगहरूमा विद्युत् कटौती कायमै छ । सुक्खा याममा उत्पादन कम हुँदा उद्योगहरूमा बिहान–बेलुकाको पिक आवरमा ६ घन्टासम्म विद्युत् कटौती भएको थियो । अहिले उत्पादन बढ्दा पनि उद्योगहरूले पिक आवरमा मागअनुसार बिजुली पाउन नसकेको एक उद्योगीले बताए ।

‘उद्योग पनि ट्रिपिङको मारमा छन् । वितरण केन्द्रले फोन गरेर पिक आवरमा औद्योगिक लोड प्रयोग नगर्न भनेको छ,’ उनले भने, ‘बिजुली (लाइटिङ लोड) भने बाल्न पाएका हुन्छौँ । तर, उद्योग चलाउन पाउँदैनौँ । यसलाई लोडसेडिङ भन्ने कि अरू केही ?’ उद्योग संगठन मोरङका अध्यक्ष सुयेस प्याकुरेलले पनि उद्योगहरूमा दैनिक ५–६ पटक विद्युत् ट्रिपिङ हुने गरेको बताए । ‘हामी हिउँददेखि नै विद्युत् कटौतीको मारमा छौँ । त्यसवेला विद्युत् उत्पादन कम भएर पनि हामीले स्वाभाविक रूपमा लिएका थियौँ,’ उनले भने, ‘अहिले उत्पादन बढ्दासमेत पिक आवरमा मागअनुसार विद्युत् पाउन सकेका छैनौँ ।’  
 ३० आयोजनालाई उत्पादन घटाउन निर्देशन
प्राधिकरणले प्रसारण लाइन क्षमतालाई नै कारण देखाएर विद्युत् आयोजनालाई उत्पादन कटौती गर्न निर्देशन दिएको छ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान)का अनुसार प्राधिकरणले ३० आयोजनालाई विद्युत् घटाउन निर्देशन दिएको छ । 

यसरी निजी क्षेत्रको पाँच सय मेगावाट विद्युत् खेर गएको इप्पानका अध्यक्ष गणेश कार्कीले बताए । ‘प्रसारण लाइनको क्षमता पुगेन भनेर प्राधिकरणले विद्युत् उत्पादन घटाउन निर्देशन दिएको छ । त्यो नगरेमा विद्युत् नै नकिन्ने धम्कीसमेत आउँछ । त्यसैले हामी उत्पादन घटाउन बाध्य पनि छौँ,’ उनले भने । स्रोतका अनुसार सोमबार मात्रै प्राधिकरणको एक सय ५० मेगावाट विद्युत् खेर गएको छ ।  

 जलविद्युत् आयोजनालाई ‘इनर्जी टेबल’ परिमार्जन गर्न दिइने 
नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सञ्चालनमा रहेका जलविद्युत् आयोजनालाई एकपटक इनर्जी टेबल परिमार्जन गर्न दिने बताएका छन् । इप्पान पदाधिकारीसँगको भेटमा कार्यकारी निर्देशक घिसिङले, हाइड्रोलोजी अनुमान गर्न नसकिने भएकाले तोकिएभन्दा कम उत्पादन गरिरहेका आयोजनालाई एकपटक इनर्जी टेबल परिमार्जन गर्न दिने बताएका हुन् ।

यसअघि इप्पान अध्यक्ष गणेश कार्कीले जलविद्युत् आयोजनाको ग्लोबल वार्मिङका कारण इनर्जी उत्पादन क्याल्कुलेसन भरपर्दो नभएकाले आयोजना सञ्चालनमा आएको पाँच वर्ष नपुगे पनि इनर्जी टेबल परिवर्तन गर्न दिन माग गरेका थिए । ‘मौसम परिवर्तनका कारण विद्युत् प्राधिकरणका आयोजनाबाट समेत गत वर्ष ३० प्रतिशत कम विद्युत् उत्पादन भएको थियो,’ घिसिङले भने, ‘निजी क्षेत्रका आयोजनाहरू झन् धेरै प्रभावित भएका छन् । त्यसैले सञ्चालनमा रहेका आयोजनालाई इनर्जी टेबल परिमार्जन गर्न दिन हामी तयार छाैँ ।’ 


 

ad
ad
ad
ad