१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
२o८१ बैशाख २० बिहीबार १८:५१:oo
Read Time : > 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

गाउँपालिका केन्द्र सार्ने निर्णयको विरोधमा गाउँसभामा ढुंगामुढा

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार १८:५१:oo

गाउँपालिका केन्द्र सार्ने निर्णयको विरोधमा कैलालीको मोहन्याल गाउँपालिकाको गाउँसभामा स्थानीयले ढुंगामुढा गरेका छन्। मोहन्याल–४ खिमडीमा आइतबार राति सम्पन्न गाउँसभाले बहुमतका आधारमा गाउँपालिका केन्द्र खिमडीबाट वडा नम्बर १ को भकुन्डेटारमा सार्ने निर्णय गरेको थियो।

केन्द्र सार्ने निर्णय भएपछि आक्रोशित स्थानीयले राति करिब १० बजेतिर गाउँ सभा बैठक सकिने वेला ढुंगामुढा गरेका हुन्। स्थानीयले ढुंगामुढा गरेपछि अध्यक्ष, उपाध्यक्षसहित जनप्रतिनिधि र कर्मचारीको भागाभाग भएको थियो। केन्द्र सार्ने निर्णय भएर गाउँसभा सकिनै लाग्दा स्थानीयले ढुंगामुढा गरेकाे उपाध्यक्ष कमलबहादुर साउदले बताए।

स्थानीयले ढुंगामुढा गरेपछि आफूहरूले भागेर ज्यान जोगाएको उनले बताए। ‘राति १० बजेतिर बैठक चलिरहेकै थियो, बाहिरबाट ढुंगामुढा हुन थाल्यो, केही मान्छे बैठकमै आएर आक्रमणको प्रयास गरेपछि भागेर ज्यान जोगायौँ,’ उनले भने, ‘ढुंगा लागेर केही जनप्रतिनिधिलाई चोट लागेको छ।’ आक्रमणबाट आफूसहित वडा नम्बर ५ का अध्यक्ष प्रवीण घर्ती, वडा नम्बर ७ का अध्यक्ष नवराज कठायतलगायत केही सदस्यहरूलाई चोट लागेको साउदले बताए।

उपाध्यक्ष साउदका अनुसार गाउँसभाको दुईतिहाइ बहुमतले गाउँपालिका केन्द्र खिमडीबाट भकुण्डेटारमा सार्ने निर्णय गरेको हो। वडा नम्बर ४ का जनप्रतिनिधिले भने केन्द्र सार्ने निर्णयप्रति असहमति जनाएका थिए। केन्द्र सार्ने विषयमा लिखित मत विभाजन भएको बताइएको छ।

स्थानीयको ढुंगामुढाबाट गाउँपालिकाको प्रिफ्याबको भवनका झ्यालका सिसाहरू फुटेकाे इलाका प्रहरी कार्यालय खिमडीका प्रमुख प्रहरी निरीक्षक भरत भण्डारीले बताए। राति दुई सयजनाभन्दा बढीको संख्यामा आएका स्थानीयले गाउँपालिका केन्द्र सार्ने निर्णयको विरोधमा ढुंगामुढा गरेका बताए। सुरक्षाकर्मीका अनुसार रातको समयमा धेरै संख्यामा स्थानीय आएकाले स्थिति नियन्त्रणमा लिन सक्ने अवस्था थिएन। ढुंगामुढा गर्नेको पहिचान हुन नसकेको र कुनै व्यक्तिविरुद्ध उजुरी पनि नआएको इलाका प्रहरी कार्यालयले जनाएको छ।

गाउँपालिका केन्द्र पायक पर्ने ठाउँमा नरहेको भन्दै सार्ने प्रस्ताव गाउँसभामा लैजाने निर्णय कार्यपालिका बैठकले केही दिनअघि गरेको थियो। उपाध्यक्ष साउदको नेतृत्वमा केन्द्र तोक्न सिफारिस समितिसमेत गठन गरिएको थियो। गाउँपालिकाका सबै नागरिकलाई पायक पर्ने ठाउँमा केन्द्र सार्न खोजिएको अध्यक्ष देवीदत्त उपाध्यायले बताए। अहिलेको ठाउँमा अपायक भएको भन्दै जनस्तरबाट केन्द्र सार्नुपर्ने माग उठ्दै आएको उनको भनाइ छ।

जिल्लाकै सबैभन्दा विकट पहाडी क्षेत्र पर्ने मोहन्याल गाउँपालिकाको केन्द्र सार्ने प्रयास यसअघिको कार्यकालमा पनि भएको थियो। विकट भएकाले विगत पाँच वर्षमा अधिकांश समय कर्मचारी गाउँपालिकामा बसेनन्। कर्मचारी जान नमानेपछि केही समय धनगढीमा कार्यालय सञ्चालन गरिएको थियो। स्थानीयले विरोध गरेपछि कार्यालय खिमडीमा सारियो, तर त्यहाँ विद्युत्, इन्टरनेट, बैंकलगायत सुविधा नभएको भन्दै घोडाघोडी नगरपालिकाको सुखडमा समेत कार्यालय राखिएको थियो।

केन्द्रको विषयमा विवादसँगै विकट भएको भन्दै कर्मचारी बस्न नमानेपछि पहिलो कार्यकालमा खिमडी, सुखड, फलेबिसौना र धनगढीबाट कार्यालय सञ्चालन गरिएको थियो। साबिकका मोहन्याल, पन्डाैन र सुगरखाल गरी तीन गाविसहरू गाभेर बनाइएको मोहन्याल गाउँपालिकाको क्षेत्रफल ६२६.९५ वर्ग किलोमिटर छ।

ad
ad