१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o असार ११ सोमबार
  • Wednesday, 03 July, 2024
गणेश लम्साल विराटनगर
२o८o असार ११ सोमबार १५:२७:oo
Read Time : > 1 मिनेट
ad
ad
ad
ad
समाचार डिजिटल संस्करण

रोहित जाजु नागरिकता पाउने पहिलो सेवाग्राही 

Read Time : > 1 मिनेट
गणेश लम्साल, विराटनगर
नयाँ पत्रिका
२o८o असार ११ सोमबार १५:२७:oo

जिल्ला प्रशासन कार्यालय मोरङबाट विराटनगरका रोहित जाजुले पहिलो सेवाग्राहीका रूपमा जन्मसिद्ध आमाबाबुबाट वंशजको नागरिकता पाएका छन्। 

विराटनगर महानगरपालिका– ९ निवासी नन्दकिशोर र सुमन जाजुका छोरा रोहित जाजुले सोमबार जिल्ला प्रशासन मोरङबाट जन्मसिद्ध नागरिकता प्राप्त गरेका आमाबाबुको सन्तान भएको नाताले पहिलो सेवाग्राहीका रूपमा वंशजको नागरिकता प्राप्त गरेका हुन्।
 
जन्मसिद्ध नागरिकता प्राप्त गर्ने आमाबुबाको सन्तानबाट पछिल्लो समय पहिलोपटक वंशजको नागरिकता प्राप्त गर्ने सेवाग्राही बनेको भन्दै मोरङका सहायक सिडिओ शरदकुमार पोखरेल आफैँले नागरिकता प्रदान गरे। 

०६३ मा जन्मसिद्ध नागरिकता प्राप्त गरेका आमाबाबुहरूका सन्तानले लामो संघर्ष गर्दा पनि वंशजको नागरिकता प्राप्त गर्न पाएका थिएनन्। पछिल्लो समय सर्वाेच्च अदालतले बाधा फुकाइदिएपछि मोरङमा नागरिकता सिफारिस गराउन पालिकाको वडा कार्यालय र लिनका लागि इलाका र प्रशासन कार्यालयमा सेवाग्राहीको भिड लागेको छ। 

सर्वाेच्च अदालतले बाधा फुकाएछि गृह मन्त्रालयले सबै जिल्ला प्रशासनलाई निर्देशन गरे पनि आइतबार विराटनगरबाट जन्मसिद्धका सन्तान एकजनाले पनि नागरिकता प्राप्त गरेनन्। 

पहिलो दिन विराटनगर महानगरपालिका र गाउँपालिकाहरूको बजेट भाषणले गर्दा वडा कार्यालयहरूले सिफारिस नगर्दा सदरमुकाम विराटनगरस्थित प्रशासन कार्यालयबाट एकजनाले पनि नागरिकता प्राप्त नगरेको सहायक सिडिओ पोखरेलले बताए। सिडिओ पोखरेलका  अनुसार इलाका प्रशासन रंगेली र उर्लाबारी कार्यालयले भने केही थान नागरिकता वितरण प्रक्रिया थाले पनि नागरिकता वितरण गर्न सकेनन्।  

प्रशासन कार्यालयका अनुसार मोरङमा कुल ३५ हजारजनाले जन्मसिद्धको नागरिकता लिएका छन्। उनीहरूका सन्तानहरूलाई करिब एक लाखजनालाई नागरिकता वितरण गर्ने अनुमान प्रशासनको छ। 

जनशक्ति अभावले गर्दा र धेरैजना हतार गरेर नागरिकता लिन आउने भएकाले मोरङ प्रशासनले एउटा अलग्गै कार्यकक्षको व्यवस्था गरेर अतिरिक्त कर्मचारी खटाएर नागरिकता वितरण गर्ने तयारी गरेको सहायक सिडिओ पोखरेलले बताए। उनका अनुसार सकेसम्म दैनिक टोकन प्रणालीबाट ३० देखि ४० जनालाई नागरिकता वितरण गर्ने योजना छ। 

मोरङमा जम्मा १७ पालिका छन्। तीमध्ये विराटनगर महानगर, सुन्दरहरैँचा र बेलबारी नगरपालिका अनि बुढीगंगा, ग्रामथान, केराबारी, कटहरी, जहदा गाउँपालिकाले सदरमुकामस्थित जिल्ला प्रशासन कार्यालयबाट नागरिकता बनाउनेछन्। 

यसैगरी रंगेली, सुनबर्सी र रतुवामाई नगरपालिका र धनपालथान गाउँपालिकाले इलाका प्रशासन रंगेली र उर्लाबारी, लेटाङ र पथरीशनिश्चरे नगरपालिका अनि कानेपोखरी र मिक्लाजुङ गाउँपालिकाले इलाका प्रशासन उर्लाबारीबाट नागरिकता प्राप्त गर्दछन्। 

ad
ad
ad
ad