फिफा विश्वकप विजेता लियोनल मेसी र पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डो सम्भवतः अब युरोपियन लिगमा फर्कनेछैनन् । वर्तमान समयका यी दुवै स्टार खेलाडीले युरोपभन्दा अन्य महादेशको फुटबल लिगलाई मन पराएका छन् । मेसी अमेरिका र रोनाल्डो एसिया महादेशका क्लबमा आबद्ध छन् । रोनाल्डो गत सिजन नै एसियातर्फ लागेका थिए । मेसी एसिया आउने ठूलो हलचलबीच अमेरिका होमिए ।
कीर्तिमानी रूपमा सातपटक फिफा वर्ष खेलाडी भएका मेसी डेभिड बेकह्यामको स्वामित्वमा रहेको इन्टर मियामीबाट खेल्नेछन् । मेसीसँगै बार्सिलोनाका सहयात्री बुस्केट पनि इन्टरबाट खेल्ने लगभग पक्का छ । मेसी र रोनाल्डोका निर्णयका कारण अब युरोपेली शीर्ष लिगमा अन्य खेलाडीहरूको पनि आकर्षण घट्ने सम्भावना देखिएको छ ।
उनीहरू मात्र होइन, फ्रान्सका करिम बेन्जिमा र विश्वकप विजेता स्पेनका सर्जियो बुस्केटले पनि युरोपेली लिग छाडेका छन् । बेन्जिमा साउदी अरेबियाको प्रो लिगमा अनुबन्धित भए । बुस्केट अमेरिकन लिगमा आबद्ध भए । एक रिपोर्टअनुसार दर्जनौँ नाम चलेका खेलाडी साउदी अरेबियासँग जोडिने संघारमा छन् । यसैबीच, केही शीर्ष स्टार खेलाडीले युरोपियन करिअर छाडेका छन् । धेरै खेलाडीको नजर किन मध्यपूर्वी एसियाको खाडीमा रहेको भन्ने प्रश्न छ ।
साउदी अरेबियाका क्लबहरू आफ्नो लिग र क्लबलाई विश्वमाझ पुर्याउन हजाराैँ मिलियन डलर खेलाडीमा लगानी गर्न तयार छन् । उनीहरूले कुनै पनि खेलाडीलाई खर्च गर्न लागेको रकम युरोपका नाम चलेका क्लबहरूले तिर्न सक्दैनन् । पछिल्लो आर्थिक मन्दीका कारण युरोपका क्लबहरू खेलाडीमा धेरै लगानी गर्न चाहेका छैनन् । यसको ठीक विपरीत एसिया र अमेरिकी क्लब खेलाडीमा मोटो रकम खर्च गर्न इच्छुक छन् ।
साउदी अरेबियाको ध्यान विश्वकप आयोजना
साउदी अरेबियाले फिफा विश्वकप २०३० आयोजना गर्ने लक्ष्य राखेको छ । कतारले सन् २०२२ विश्वकप आयोजना गरिसक्दा साउदीले २०३० आयोजना गर्ने रणनीति बनाएको हो । साउदी प्रो लिगलाई बलियो बनाउन चाहन्छ । मैदानभरि दर्शक भर्दै फुटबलको माहोल भएको देखाउन संघर्षरत छ । यही फुटबल संस्कृति देखाउँदै साउदी अरब सन् २०३० को विश्वकप आयोजनाका लागि दाबी गर्ने योजनामा छ ।