वैशाखमा बैंक तथा वित्तीय संस्थाहरूको खुद नाफा बढेको छ । नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार चैतको तुलनामा वैशाखमा संस्थाहरूको खुद नाफा १७.११ प्रतिशतले बढेको हो । चालू आर्थिक वर्षको १० महिनामा बैंक तथा वित्तीय संस्थाहरूले ६२ अर्ब ६० करोड खुद नाफा आर्जन गरेका छन् ।
चैतसम्म बैंक तथा वित्तीय संस्थाहरूको खुद नाफा ५३ अर्ब ४६ करोड मात्रै थियो । सो अवधिमा संस्थाको कुल आम्दानी पाँच खर्ब ९१ अर्ब पुगेको छ । यो गत चैतभन्दा १२.४० प्रतिशतले बढी हो । चैतसम्म आम्दानी पाँच खर्ब २६ अर्ब पुगेको थियो । वैशाखसम्मको कुल आम्दानीमा पाँच खर्ब ३६ अर्ब ब्याज आम्दानी भएको छ । चैतको तुलनामा ब्याज आम्दानीमा १२.८३ प्रतिशतको वृद्धि भएको छ ।
वाणिज्य बैंकहरूको नाफा १७.३७% ले वृद्धि
केन्द्रीय बैंकका अनुसार १० महिनामा वाणिज्य बैंकहरूले ५७ अर्ब १६ करोड नाफा कमाएका छन् । यो चैतसम्मको तुलनामा १७.३७ प्रतिशतले बढी हो । चैतसम्ममा बैंकहरूको नाफा ४८ अर्ब ७० करोड रुपैयाँ थियो । वैशाखमा मात्रै बैंकहरूको नाफा आठ अर्ब ४६ करोडले बढेको हो । चैतमा नाफा ०.२६ प्रतिशतले घटेको थियो । १० महिनामा बैंकहरूले पाँच खर्ब १० अर्ब आम्दानी गरेका छन् । जसमा ब्याज आम्दानी मात्रै चार खर्ब ६२ अर्ब पुगेको छ ।
विकास बैंकहरूको नाफा चार अर्ब २९ करोड
विकास बैंकहरूले चालू आर्थिक वर्षको १० महिनामा चार अर्ब २९ करोड खुद नाफा आर्जन गरेको छ । यो गत चैतको तुलनामा १३.४४ प्रतिशतले बढी हो । वैशाखमा मात्रै विकास बैंकहरूले ५० करोडभन्दा बढी नाफा आर्जन गरेका हुन् । १० महिनामा विकास बैंकहरूको आम्दानी ६६ अर्ब ३२ करोड पुगेको छ । १० महिनामा विकास बैंकहरूको ब्याज आम्दानी मात्रै ६१ अर्ब १६ करोड रुपैयाँ छ । त्यस्तै, वित्त कम्पनीको नाफामा १८.५७ प्रतिशतको वृद्धि भएको छ । १० महिनामा वित्त कम्पनीहरूले एक अर्ब १४ करोड नाफा आर्जन गरेका छन् ।
जिडिपीको अनुपातमा निक्षेप शतप्रतिशत नाघ्यो
केन्द्रीय बैंकका अनुसार कुल गार्हस्थ्य उत्पादन (जिडिपी)को अनुपातमा बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप संकलन १०२.११ प्रतिशत पुगेको छ । चालू आर्थिक वर्षमा जिडिपी ५३ खर्ब ८१ अर्ब पुग्ने अनुमान छ । हाल बैंक तथा वित्तीय संस्थाको कुल निक्षेप ५५ खर्ब ६८ अर्ब पुगिसकेको छ । वाणिज्य बैंकहरूको मात्रै निक्षेप जिडिपीको अनुपातमा ८९ दशमलव ९९ प्रतिशत छ । जिडिपीसँगको कुल कर्जा अनुपात भने ९० दशमलव ६७ प्रतिशत पुगेको छ । वाणिज्य बैंकको कुल कर्जाको अनुपात ८० दशमलव ३६ प्रतिशत छ ।
कुल निक्षेपको तुलनामा कुल कर्जाको अनुपात ८८.७९ प्रतिशत छ । त्यस्तै, कर्जा निक्षेपको अनुपात (सिडी रेसियो) भने ८४.८८ प्रतिशत छ । वाणिज्य बैंकको मात्रै यस्तो अनुपात ८४.९७ प्रतिशत छ । कुल निक्षेपमा मुद्दतीको अंश ५९.५४ प्रतिशत छ । वाणिज्य बैंकहरूसँग मात्रै यस्तो अनुपात ५८.२० प्रतिशत छ । त्यस्तै, बैंक तथा वित्तीय संस्थाहरूको निष्क्रिय कर्जाको अनुपात ३.३४ प्रतिशत पुगेको छ । वाणिज्य बैंकको ३.२३ प्रतिशत कायम छ ।