मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o जेठ ३२ बिहीबार
  • Sunday, 22 December, 2024
अनिल यादव काठमाडाैं
२o८o जेठ ३२ बिहीबार o६:१८:oo
Read Time : > 5 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

माइतीघरमा देखिन्छन् सहकारीपीडितका दु:खका पहाड : कसैका सपना चकनाचुर भए, कसैको परिवार खलबलिँदै

Read Time : > 5 मिनेट
अनिल यादव, काठमाडाैं
नयाँ पत्रिका
२o८o जेठ ३२ बिहीबार o६:१८:oo

काठमाडौं नागार्जुनकी राधा महर्जन हरेक दिन ताहचल पुगेर एक निजी घरमा सरसफाइ गर्थिन् । तर, १३ दिनयता उनी काममा गएकी छैनन् । अहिले उनको दैनिकी छ– सहकारीपीडितको आन्दोलनमा सहभागी भई माइतीघर मण्डलामा धर्नामा बस्ने । जहाँ उनीजस्तै घाम–पानी, भोक–तिर्खा केही नभनी सयौँ पीडित धर्नामा छन् । 

राधाको जीवनको खुसी र लय बिथोल्ने काम गोंगबुमा रहेको खुसी बचत तथा ऋण सहकारी संस्थाले गरेको हो । सहकारी सञ्चालक बचतकर्ताको रकम डुबाएर फरार छन् । बचत गरेको साढे आठ लाख उठाउन उनी माइतीघर आन्दोलनमा जोडिएकी हुन् । 

राधा आन्दोलनमा हुँदा उता मालिकले घरमा अर्कै कामदार राखिसकेका छन् । ‘एक–दुई दिन आएपछि सरकारले सुन्छ भन्ने लागेको थियो, तर हप्तौँ बस्नुपर्ने भयो,’ उनले भनिन्, ‘दिनको तीन–तीन घन्टा गरेर तीन ठाउँ काम गर्न जान्थेँ । म नगएपछि सबै ठाउँ नयाँ मान्छे राखिसके ।’ बुधबार नयाँ पत्रिकासँग कुरा गर्दै उनले भोकभोकै चिच्याइरहेको बताइन् । ‘आज एकादशीको व्रत छ । बिहानदेखि एक कप फिक्का चिया खाएको भरमा चिच्याइरहेकी छु,’ उनले भनिन्, ‘त्यसैले आज घर जाने प्लान छ । नुहाइधुवाइ गरेर भोलि फेरि आउँछु ।’ 

राधाले तीन वर्षअघि साढे तीन लाख ऋण गरेर छोरीलाई वैदेशिक रोजगारका लागि दुबई पठाएकी थिइन् । दुबईबाट छोरीले पठाएको रकमसहित आफ्नो सबै कमाइ गरेर साढे आठ लाख रकम उनले खुसी सहकारीमा बचत गरेकी थिइन् । ०६१ सालमा श्रीमान् ‘ब्लड क्यान्सर’का कारण बितेपछि छोराबुहारीसँग बसिरहेकी उनी अहिले पैसा फसेपछि विलखबन्दमा छिन् ।

उता दुबईबाट फोन गरेर हरेक दिन छोरी रुन्छिन् । ‘राम्रो सहकारी भन्नुहुन्थ्यो, मैले दुःख गरेर कमाएको पैसा डुबाइदिनुभयो,’ छोरीले राधालाई भनिरहेकी हुन्छिन् । घरमा छोरा रिसाउँछन् । ‘मैले पाँच हजार माग्दा पैसा छैन भन्नुहुन्थ्यो, किन छैन भन्नुभयो, अहिले पो थाहा भयो,’ छोराले यही सुनाउँछन् । 

वैदेशिक रोजगारीमा गएकी छोरी काठमाडौं आएर केही उद्यम गर्ने योजनामा थिइन् । त्यसलै राधाले पैसा ‘फिक्स्ड डिपोजिट’ गरेकी थिइन् । ‘२९ चैतदेखि सहकारी सञ्चालक भागेका छन्,’ राधाले भक्कानिदै पीडा सुनाइन्, ‘वर्षौँदेखि मारवाडीको घरमा काम गर्दै बचत गरेको पैसा पनि गयो । छोरीको सपना पनि गयो । मेरो जागिर पनि गयो । खुसी सहकारीले हाम्रो परिवारकै खुसी खोस्यो । सम्झिएर सुत्न सकेकी छैन ।’ 

राधाका अनुसार १० दिनअघि गृहमन्त्री नारायणकाजी श्रेष्ठ अर्कै एक आन्दोलनमा आएका थिए । मौकामा छेउमै रहेका गृहमन्त्रीलाई उनीहरूले पनि आफ्नो दुःख पोखे । ‘तर, गृहमन्त्रीले साह्रै नराम्रो व्यवहार गरे,’ राधाले भनिन्, ‘म तिमीहरूका लागि आएको होइन, अर्कै कार्यक्रममा आएको हुँ भन्नुभयो । हामीले लुटिएको कुरा राख्दा सहकारीमा किन राखेको पैसा, मैले राख्नु भनेको हो ? भन्दै नमिठो वचन गर्नुभयो ।’ 

घरेलु मजदुरका रूपमा काम गर्ने नागार्जुनकी सहरकारीपीडित राधा महर्जन भक्कानिँदै । तस्बिर : ज्ञानेन्द्र कार्की/नयाँ पत्रिका

राधा एक प्रतिनिधि पात्र मात्रै हुन् । माइतीघरमा जम्मा हुने सहकारीपीडितको संख्या दिनहुँ थपिइरहेको छ । ‘नेपालभरका सहकारीपीडित एक हौँ, निक्षेपको साँवा–ब्याज अविलम्ब फिर्ता र सुनिश्चितताका लागि आफैँ लडौँ’ भन्ने नारासहित माइतीघरको सडकमा आइपुगेका छन् उनीहरू । उनीहरूले सहकारीपीडित बचतकर्ता महासंघ संघर्ष समिति नै गठन गरेर आन्दोलन गरिरहेका छन् । 

समिति अध्यक्ष सुनितासिंह राजभण्डारी अहिलेसम्म देशभरका ५५ वटा सहकारीका पीडित आन्दोलनमा जोडिएको बताउँछिन् । ‘पहिलो दिन १३ वटा सहकारीपीडित मात्रै भेला भएका थियौँ, अहिले ५५ वटा सहकारीका पीडित जोडिएका छन्,’ उनले भनिन्, ‘अर्बौँ रकम फसेको छ । कैलाली, बर्दिबास, बर्दियालगायत ठाउँबाट पनि पीडित आइरहनुभएको छ ।’ उनका अनुसार माइतीघरमा आन्दोलन छ, पैसा उठ्छ होला भन्ने आशाले सयौँ पीडितले ऐक्यबद्धतासहित फोन गरिरहेका छन् । 

राजभण्डारी आफू स्वयं ललितपुरको देउराली सहकारीबाट पीडित हुन् । आफूहरूको मूल माग बचत रकम फिर्ता नै रहेको उनले बताइन् । ‘अब हाम्रो लडाइँ सहकारी सञ्चालकसँग मात्रै होइन, सरकारसँग पनि हो,’ उनले भनिन्, ‘सरकारले लाइसेन्स दिएर सहकारीलाई ठगी धन्दा चलाउन अनुमति दियो, अब यसको जिम्मेवारी उसले लिनैपर्छ । सञ्चालकको सम्पत्ति जफत गरेर हुन्छ या कसरी हुन्छ, जसरी भए पनि हामीलाई हाम्रो बचत फिर्ता गराउनुपर्‍यो ।’ 

माइतीघरमा त्रिपाल ओछ्याएर सहकारीपीडितले २४ सै घन्टा धर्ना दिइरहेका छन् । युवादेखि वृद्धवृद्धासम्म र बिरामीसमेत आफ्नो फसेको रकम उठ्ने आशामा माइतीघर आएका छन् । ‘थरीथरीका पीडित हुनुहुन्छ, पीडा सुन्दा आँसु झर्छ,’ अध्यक्ष राजभण्डारीले भनिन् ।

उनका अनुसार आन्दोलनमा एकजना वृद्ध क्यान्सरपीडित छन् । सुगर र प्रेसरका बिरामी पनि छन् । कतिले नियमित औषधि खान पाएका छैनन् । अध्यक्ष राजभण्डारी धर्नामा सहभागीको व्यथा सुनाउँछिन्, ‘रुनुहुन्छ, कराउनुहुन्छ, माग कहिले पूरा हुन्छ भनेर सोध्नुहुन्छ । तर, कसैसँग जवाफ छैन ।’ सरकारले मागप्रति चासो नदेखाएको उनको गुनासो छ । 

काठमाडौं धापासीकी रञ्जना लामाको पीडा पनि राधाको भन्दा कम छैन । उस्तै काम गरेर गुजारा चलाइरहेकी उनी वसुन्धरास्थित उत्तम बचत तथा सहकारीमा फसेको आफ्नो चार लाख रकम उठाउन माइतीघर सडकमा छिन् । सहकारीमा पैसा फसेकै कारण वसुन्धराको मिनार अंग्रेजी माध्यमिक विद्यालयमा पढिरहेका उनका दुई सन्तानलाई त्यहाँबाट निकालेर सरकारी स्कुलमा भर्ना गराउन बाध्य भएकी छिन् । 

‘केही हुन्छ भनेर अरूको घर–घर र अफिस–अफिसमा पुगेर झाडु–पोछा गर्दै कमाएको पैसा थियो,’ लामाले भनिन्, ‘दिनको सय–पचास गर्दै आठ वर्षको मिहिनेतले चार लाख जम्मा भएको थियो । तर, सबै खाएर भागे । बोर्डिङ स्कुलमा पढाएको बच्चालाई यसपटक सरकारी स्कुलमा लगेर भर्ना गर्न बाध्य भएँ । मिनारमा पढाउँथेँ, त्यहाँबाट निकालेर बाँसबारी स्कुलमा भर्ना गराएकी छु ।’

उनका छोरा सात र चार कक्षामा पढ्छन् । चालक रहेका उनका श्रीमान्बाट पनि बचाएर उनले त्यो पैसा सहकारीमा बचत गरेकी थिइन् । तर, अहिले डुबेको थाहा पाएपछि घरबार बिग्रिने अवस्था सिर्जना भएको उनले बताइन् । ‘उहाँ (श्रीमान्)लाई पैसा बचत गरेको थाहा थिएन,’ उनले भनिन्, ‘अहिले थाहा पाएपछि घर बस्ने अवस्था छैन । त्यो पैसा जसरी राख्न दिइस्, त्यसरी नै फिर्ता लिएर आइज, नत्र जसलाई राख्न दिइस्, त्यहीसँग जा भन्छन् श्रीमान् । रिसले चुर छन्, डिभोर्स हुने स्थिति आइसक्यो ।’

सहकारी सञ्चालक दुर्गा न्यौपाने र लक्ष्मी श्रेष्ठविरुद्ध जाहेरी लिएर महाराजगन्जमा रहेको प्रहरी वृत्त हुँदै अदालतसम्म पुग्दा पनि कुनै सुनुवाइको वातावरण नबनेको उनले गुनासो पोखिन् । ‘हामी चक्रपथ प्रहरी कार्यालय हुँदै अदालतसम्म पुग्यौँ, तर कहीँ न्याय पाएनौँ,’ उनले भनिन्, ‘प्रहरीले अदालत जानु भन्यो । तर, अदालतबाट पनि न्याय नपाएपछि हामी सडकमा आउन बाध्य भएका छौँ ।’

रञ्जना अहिले पनि दैनिक दुई–तीनवटा घरमा सफाइको काम गर्न जान्छिन् । ‘त्यो सब काम भ्याएर म यहाँ आन्दोलन गर्न आइरहेकी छु । अब पनि पैसा फिर्ता भएन भने त सहकारी सञ्चालकको घरअगाडि के–के गर्नुपर्छ गर्छौँ,’ उनले बाध्यता सुनाइन् । 

दुई सातादेखि आन्दोलनरत सहकारीपीडित माइतीघरमा 

जोरपाटी बस्दै आएकी सिन्धुपाल्चोककी सानुनानी लामिछाने आफ्नो बचत फिर्ता गराउन माइतीघरको चिसो सडकमा गर्मी, लामखुट्टे र पानी केहीको पर्वाह नगरी रात कटाइरहेकी छिन् । ‘मंगलबार पानी पर्दा त्रिपालले थामेन, पूरै भिजियो, तैपनि यहाँबाट उठेका छैनौँ,’ उनले भनिन्, ‘अब पैसा नलिई नउठ्ने हो । दुःख गरेर कमाएको पैसा सहकारीले कहाँ त्यसै लुट्न पाउँछ ।’

तीन वर्षअघि दुबईबाट फर्किएपछि गौशालामा उनले कपडा पसल खोलेकी थिइन् । उनका श्रीमान् मलेसिया थिए । पसलको आम्दानी र श्रीमान्ले कमाएको पैसा गरेर उनले दुईपटकमा चार लाख रकम पुरानो बानेश्वरको गेटवे बचत तथा सहकारीमा ‘फिक्स्ड डिपोजिट’मा राखेकी थिइन् । 

तर, सहकारीका सञ्चालक सयौँ बचतकर्ताको रकम जोखिममा पारेर फरार छन् । ‘पैसा उठाउन गत वर्षको भदौदेखि सहकारीकै पछि दौडिएको दौडिएकै छौँ,’ उनले भनिन्, ‘तैपनि पैसा उठेको छैन । यसकै पछि लागेर नभ्याउने भएपछि पसल पनि बेच्नुपर्‍यो । श्रीमान्लाई सहकारीमा पैसा डुबेको थाहा छैन । थाहा पाउनुभयो भने सम्बन्ध नै बिग्रिन सक्छ ।’

बाजुराकी छिनकला मल्ल तीन वर्ष भएको छोरा पढाउन काठमाडौं झरेकी थिइन् । ललितपुरको थेचुमा मासिक तीन रोपनी जग्गा भाडामा लिएर तरकारी खेती गरिरहेकी थिइन् । मासिक ६५ हजार भाडा तिर्थिन् । खेतमा उब्जिएको साग, टमाटर दिनहुँ धापाखेल सडकमा लगेर बेच्थिन् । 

उनलाई मिति पनि थाहा छ, ०७९ असार ४ गते खुमलटारमा रहेको सन्देश बचत तथा सहकारी संस्थाकी कर्मचारी ‘अन्टी, पैसा फाइनान्समा हाल्नुपर्छ, ब्याज पनि आउँछ’ भन्दै खाता खोलाउन आइपुगेकी थिइन् । अर्को वर्ष छोरोले एसइई दिँदा काम लाग्छ भनेर उनले दिनको ५०, सय, दुई सय ५० गर्दै रकम बचत गरेकी थिइन् । यसरी बचत गरेर ८० हजार पुगेको उनको रकम अहिले डुबेपछि न्यायको आससहित उनी माइतीघरमा छिन् । 

‘सुदूरपश्चिम बाजुराकी मान्छे हुँ, एउटै छोरा छ, पढाउन भनेर यता ल्याया हुँ,’ नयाँ पत्रिकासँग उनले दुःख पोखिन्, ‘बुढाबुढी नै हामी तरकारी खेती गर्छौँ । दुई छोरी बिहे गरेर गए । एसइई दिने वेलामा पैसा निकाल्नुपर्छ भनेर जम्मा गरेको, अहिले सहकारी नै फरार रे । गोलभेँडाको रेट घटिसक्यो । उपचार गर्ने पैसा छैन । अब केले उपचार गर्ने । केले छोरालार्ई क्याम्पस भर्ना गर्ने । जम्मै पैसा खाइदियो । हाम्रा लागि ८० हजार ८० लाखजति भयो ।’

कोरियामा कमाएर ल्याएको ७० लाख डुबेपछि वसुन्धराका मोहन राउत अहिले तनावमा छन् । वसुन्धराको उत्तम बचत तथा सहकारी संस्थाले आफूले बचत गरेको पैसा फिर्ता नदिएपछि अन्य पीडितसहित उनी आन्दोलनमा छन् । करिब तीन हजार पीडितलाई संगठित गरेर संघर्ष समिति नै बनाएका छन् । ‘१७ प्रतिशत ब्याज आउँछ, दुई पैसा फाइदा हुन्छ र छोराछोरीको पढाइ खर्च आउला भनेर ०७८ फागुनमा फिक्स्ड डिपोजिटमा पैसा राखेको थिएँ,’ उनले भने, ‘६–६ महिनाका हिसाबले राखेको थिएँ । ६ महिनासम्म त ब्याज दियो ।’

त्यसपछि पैसा निकाल्न जाँदा सहकारीले समस्या देखाउन थाल्यो । ‘शंका लागेर प्रहरीकहाँ गयौँ । ६ महिनापछि साँवा–ब्याज एकैपटक दिन्छौँ भनेर कागज बनायो । वडा कार्यालयले पनि त्यही प्रमाणित गर्‍यो । तर, ६ महिना कट्दा पनि पैसा पाइएन,’ उनले भने । 

त्यसपछि सहकारीका अध्यक्ष रहेका लक्ष्मी श्रेष्ठलाई थुनामा पुर्‍याएको, तर उपाध्यक्ष दुर्गा न्यौपाने अहिलेसम्म फरार रहेको उनले बताए । ‘हामीले जग्गा भए पनि दिनुस् भनेका छौँ,’ उनले भने, ‘उसले भूमाफियामार्फत हामीसँग बार्गेनिङ गरिरहेको छ । सुरुमा कुल रकमको सय प्रतिशत थपेर मात्रै जग्गा दिन्छु भन्थ्यो, अहिले ५० प्रतिशत थप्नु अनि लानु भन्दै छ रे । कहाँबाट हुनु थप्ने पैसा ?’ उनले भने । 

चापागाउँका ६९ वर्षीय खगेन्द्रनाथ काफ्ले पनि मैतीदेवीको ओरिएन्टल बचत तथा सहकारीले खाएको करिब ४५ लाख रकम उठ्ने आसमा माइतीघरमा आन्दोलनरत छन् । त्यसो त यो सहकारीको समस्या एक दशकअघिकै हो । पटकपटक फिर्ताका लागि आन्दोलन र पहल भए । अहिलेसम्म पैसा फिर्ता नपाए पनि काफ्लेले आस मारेका छैनन् । ‘मेरो परिवारका तीन सदस्यको गरेर ४५ लाख छ । यो सहकारीका सात हजार सात सय ४६ पीडित छन् । मुद्दा सर्वोच्च अदालतसम्म पुगेको हो । सञ्चालक सुधीर बस्नेतले पैसा फिर्ता दिन्छु भनेर आश्वासन दिए, तर अहिलेसम्म दिएनन् । राज्यले पनि केही गरेन, किन यस्तो भएको हो बुझ्न सकेको छैन,’ उनले भने ।