
युरोपेली सुरक्षाका लागि जनरल क्रिस्टोफर काभोलीको सर्वोच्च ऐलाइड कमान्डर (स्याकियुर)को कार्यकाल यस गर्मीयाममा समाप्त हुँदै छ । सन् १९५१ देखि अमेरिकी चारतारे जनरल वा एड्मिरलले यो पद सम्हाल्दै आएका छन् । तर, ट्रम्प प्रशासनले खर्च कटौती र युरोपमा अमेरिकी नेतृत्व घटाउने संकेतका रूपमा यो परम्परा अन्त्य गर्ने विचार गरिरहेको छ । यसैक्रममा युक्रेन रक्षा सम्पर्क समूहको हालैको बैठकमा अध्यक्षता बेलायत र जर्मनीले गरे, जबकि पहिले यो भूमिका अमेरिकाले सम्हाल्थ्यो ।
सेनामा भएको सुनुवाइमा काभोलीले नेटो नेतृत्वबाट अमेरिकी पछाडि हटाइए गम्भीर असर पर्ने चेतावनी दिएका छन् । अघिल्ला स्याकियुरले पनि यही कुरा दोहो¥याएका छन् । अमेरिकी स्याकियुर हटाउँदा नेटोको सैन्य क्षमतामा असर पर्न सक्छ, गठबन्धनको निवारक रणनीति कमजोर बन्न सक्छ । अमेरिकी कमान्डरको सट्टा युरोपेली नियुक्त गर्दा अमेरिकाको प्रतिबद्धताप्रति अनिश्चितता बढ्न सक्छ, जसले नेटोको विश्वसनीयता घटाउने खतरा सिर्जना गर्छ, त्यो पनि विशेषतः रुसी आक्रामकता बढिरहेको वेलामा ।
ट्रम्प प्रशासनको नेटोप्रतिको दृष्टिकोण भविष्यमा कसरी विकसित हुन्छ भन्ने अझै स्पष्ट छैन । नेटोको समर्थन गर्ने सार्वजनिक बयान उनको मन्त्रिमण्डलका सदस्यले कुख्यात ‘सिग्नल–गेट’ च्याटमा व्यक्त गरेका निजी विचारसँग विरोधाभाषी छन् । अघिल्ला अमेरिकी राष्ट्रपति जो बाइडेनले साझेदार राष्ट्रलाई अमेरिकाको अपराजेय शक्तिको रूपमा हेर्थे । तर, ट्रम्पले आफ्ना निर्णयले साझेदारमा पार्ने प्रभावप्रति खासै चासो देखाउँदैनन् । यदि अमेरिकी स्याकियुर पद हटाइयो भने यसले ट्रम्पको उपेक्षायुक्त दृष्टिकोणलाई पुष्टि गर्नेछ र नेटोको निवारण क्षमतालाई रुसी सम्बन्धमा अत्यन्त संवेदनशील समयमा कमजोर बनाउनेछ ।
ट्रम्प युरोपबाट अमेरिकी परराष्ट्र नीतिको ध्यान हटाउने पहिलो राष्ट्रपति होइनन् । सन् २०११ नोभेम्बरमा राष्ट्रपति बाराक ओबामाले ‘एसियातर्फ ध्यान दिऊँ’ भनेर घोषणा गरेका थिए, जसमा चीनलाई प्रमुख चुनौतीको रूपमा लिइएको थियो । ट्रम्पको पालामा यो दृष्टिकोण व्यावहारिक नीति बन्यो, युरोपेली साझेदारलाई नेटोमा थप योगदान दिन दबाब दिइयो, ताकि अमेरिका आफ्नो स्रोत प्रशान्त क्षेत्रतर्फ केन्द्रित गर्न सकोस् । ट्रम्पले नेटोप्रति आफ्नो अवज्ञा लुकाएका छैनन् । प्रायः उनी यसले अमेरिकालाई के फाइदा हुन्छ भनेर प्रश्न उठाउने गर्छन् । यस्ता भनाइ प्रायः अमेरिकी आन्तरिक राजनीतिको खपतका लागि भए पनि यसले नेटोको शक्ति र एकताप्रतिको अन्तर्राष्ट्रिय धारणालाई कमजोर बनाउँछ ।
युरोपेली स्याकियुरको अवधारणा पनि नयाँ होइन । अमेरिकी पूर्वविदेशमन्त्री हेनरी किसिन्जरले यो प्रस्तावलाई सन् १९८४ मा शीतयुद्धको एक न्यूनतम बिन्दुमा राखेका थिए । युरोपेली सैन्य नेतृत्वले युरोपेली राजनीतिक नेतालाई नेटोको आणविक नीतिप्रतिको जिम्मेवारी स्वीकार गर्न बाध्य पार्नेछ भन्ने उनको विचार थियो । लोकतान्त्रिक राष्ट्रका लागि सैन्य शक्तिमाथि राजनीतिक नियन्त्रण हुनु अनिवार्य हुन्छ । स्याकियुर नेटोको सर्वोच्च निकायले नर्थ एट्लान्टिक परिषद् (एनएसी)मा प्रतिवेदन दिन्छ, जसमा सबै सदस्य राष्ट्रका राजदूत हुन्छन् । यस परिषद्को अध्यक्ष सधैँजसो युरोपेली (वा क्यानडेली) हुन्छन्, र उपाध्यक्ष अमेरिकी हुने गर्छन् ।
सैन्य कमान्डको सबैभन्दा उच्च अधिकार जसलाई अमेरिकामा ‘कम्ब्याटेन्ट कमान्ड (कोकोम) भनिन्छ, अधिकांश नेटो राष्ट्रले आफैँसँग राखेका छन् । तर, तल्लो तहको कमान्ड अधिकार ‘अपरेसनल कमान्ड (अपकम) भने नेटो कमान्डरलाई सुम्पिने गरिन्छ । अमेरिकी घरेलु कानुनअनुसार अमेरिकी सैन्य बलमा कोकोमको अधिकार केवल अमेरिकी अधिकृतले मात्र प्रयोग गर्न सक्छन् । यो अधिकार सुम्पन मिल्दैन । यसले अर्थ राख्छ कि एक अमेरिकी स्याकियुरले नेटोमा तोकिएका सबै सैन्य बलमा सञ्चालनात्मक कमान्ड गर्न सक्छ, तर त्यही भूमिकामा रहेका युरोपेली नेताले अमेरिकी बलमा निकै सीमित अधिकार मात्र प्रयोग गर्न सक्नेछन्, त्यो पनि युद्धको अवस्थामा मात्र प्रयोग गर्न सक्छन । बहुराष्ट्रिय सैन्य सञ्चालनमा एकीकृत नेतृत्व ७५ वर्षको तालिमपश्चात् पनि चुनौतीपूर्ण छ र यो कानुनी अड्चन थप ठुलो अवरोध बन्न सक्छ ।
अर्को ठुलो मुद्दा नेटोको आणविक नेतृत्वसँग सम्बन्धित छ । अमेरिकी आणविक हतियार प्रयोग गर्ने अधिकार केवल अमेरिकी राष्ट्रपतिको हातमा हुन्छ । त्यसैले नेटोको आणविक सञ्चालन शृंखलाका सबै प्रमुख पद अमेरिकी अधिकारीले सम्हालेका छन् । नेटोको आणविक हमला अनुरोध स्याकियुरमार्फत अमेरिकी राष्ट्रपतिसमक्ष पेस गरिन्छ । यदि स्याकियुर युरोपेली बनेमा यस्तो प्रक्रिया कसरी कार्यान्वयन हुनेछ भन्ने अझै स्पष्ट छैन । यो कमान्ड युरोपेलीलाई सुम्पनुअघि समाधान गर्नुपर्ने प्रमुख चुनौतीमध्ये एक हो ।
अझ अर्को जटिल पक्ष के छ भने संकटको समयमा नेटोले ३० वटा सेना डिभिजन (प्रत्येकमा १५ हजार जवान), ३० स्क्वाड्रन लडाकु विमान र ३० युद्धपोत ३० दिनभित्र तैनाथ गर्ने योजना बनाएको छ । यस्तो अवस्थामा स्याकियुरले लाखौँ जवानलाई नेतृत्व दिनुपर्ने हुन्छ । यति ठुलो संख्यामा अन्तर्राष्ट्रिय बलको नेतृत्व गर्ने अनुभव भएका युरोपेली अधिकृत निकै कम छन् वा सम्भवतः छैनन् । उदाहरणका लागि, कुनै पनि बेलायती अधिकृतले सन् २००३ को इराक आक्रमणपछि कुनै पनि तैनाथ डिभिजनको कमान्ड सम्हालेका छैनन् । यदि यो गर्मीयाममा काभोलीको स्थानमा युरोपेली स्याकियुर नियुक्त गरिने हो भने नेटोले यी जटिल समस्या समाधान गर्नुपर्नेछ, वा कम्तीमा समाधानको योजना ल्याउनुपर्नेछ, नत्र युरोपेली सुरक्षामा गम्भीर जोखिम उत्पन्न हुन सक्छ ।
(कोर्बेट किंग्स कलेज लन्डनका सुरक्षा अध्ययनका वरिष्ठ लेक्चरर हुन्) द कन्भर्सेसनबाट