
कांग्रेस महामन्त्री गगन थापाले सरकार ढल्दै छ भन्दै होहल्ला गर्नेको विश्वास नगर्न आग्रह गरेका छन्। बाराको जितपुरसिमरा उपमहानगरपालिका–१८, बडर्हवा खेल मैदानमा बारा निर्वाचन क्षेत्र नम्बर ३ कांग्रेसद्वारा आयोजित क्षेत्रीय सम्मेलनमा सम्बोधन गर्दै थापाले यस्तो आग्रह गरेका हुन्।
कार्यक्रममा उनले केही मानिसले सरकार ढल्छ भन्दै होहल्लाहा गरेको, तर एमाले–कांग्रेसको सरकार ०८४ सम्म नढल्ने उद्घोष गरे। उनले सरकार सञ्चालनमा एमाले र कांग्रेसको सरकारसँग अझै भुइँमान्छे वा पिँधमा बसेका नागरिकको दु:खेसो रहेको हुँदा विकास र समृद्धिलाई अझै उचाइमा पुर्याई गठबन्धनको सरकारको महत्वलाई अझै बढाउनका लागि सरकारसँग आग्रह गरे।
महामन्त्री थापाले संविधान संशोधनमार्फत सबैको सर्वस्वीकार हुने संविधान परिकल्पना नै कांग्रेसको अबको बाटो हुनुपर्ने पनि बताए। थापाले संविधानमा रहेका त्रुटिलाई संशोधन गरी दलित, आदिवासी जनजाति, मुस्लिम, अल्पसंख्य र पछाडि पारिएका वर्ग, समुदायलाई पनि राज्यको मुलधारसम्म ल्याउने बाटो खुला गर्नुपर्ने धारणा व्यक्त गरे।
महामन्त्री थापाले मधेशमा कांंग्रेस कमजोर भएको स्मरण गर्दै मधेशविनाको कांग्रेस कल्पनासमेत गर्न नसकिने बताए। मधेशमा कांग्रेस कमजोर हुँदा नेपालको सबै क्षेत्र, सांसद तथा सिंहदरबारमा समेत कमजोर भएको इतिहास साक्षी रहेको स्मरण गराए। उनले कांग्रेसले निकट भविष्यमा मधेश जागरण अभियानको थालनी गर्ने घोषणा पनि गरे।
महामन्त्री थापाले ०८४ मा कांग्रेस कुनै पनि पार्टीसँग गठबन्धन नगर्ने ठोकुवा गर्दै एक वर्षभित्रमा पार्टीले उल्लेखनीय काम गरेर जनतालाई प्रभावकारी र उल्लेखनीय सन्देश दिने बताए।