१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
सहिद स्मारक ए डिभिजन लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेडका खेलाडी ट्रफीका साथ । तस्बिर : ज्ञानेन्द्र कार्की/नयाँ पत्रिका
रमेश सुवेदी काठमाडाैं
२o८१ बैशाख २० बिहीबार o८:२३:oo
Read Time : > 2 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

ए डिभिजन लिग सम्पन्न : चर्च ब्वाइज नयाँ च्याम्पियन, एपिएफ र खुमलटार रेलिगेसनमा 

Read Time : > 2 मिनेट
रमेश सुवेदी, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार o८:२३:oo

अन्तिम दिन थ्री स्टारले जावलाखेल युथविरुद्ध जित निकाल्दा खुमलटार युथसँगै एपिएफ फुटबल क्लब पनि रेलिगेसनमा

चर्च ब्वाइज युनाइटेड डेब्यु च्याम्पियन तथा खुमलटार युथ र एपिएफ फुटबल क्लब रेलिगेसनमा परेसँगै सहिद स्मारक ए डिभिजन लिग ०७९–०८० सम्पन्न भएको छ । ४४औँ संस्करणको शीर्ष डिभिजनले चर्च ब्वाइजलाई नयाँ च्याम्पियन पाएको हो । खुमलटार युवा क्लब र सशस्त्र प्रहरी बलको एपिएफ फुटबल क्लबले ए डिभिजन लिगको हैसियत गुमाएका छन् । दुवै टोली बी डिभिजन लिगमा घटुवा भएका हुन् ।

शनिबारको दशरथ रंगशालामा भएको अन्तिम खेलमा थ्री स्टार क्लबले जावलाखेल युथ क्लबलाई १–० ले हराउँदा एपिएफ रेलिगेसनमा परेको हो । ०६२ सालमा सीधै ए डिभिजन लिग खेल्न सुरु गरेको एपिएफ पहिलोपटक बी डिभिजनमा घटुवा भयो । ०६० सालयता विभागीय टोली (नेपाली पुलिस, त्रिभुवन आर्मी फुटबल क्लब)ले सीधै ए डिभिजन लिग खेलेका हुन् । तर, विभागीय टोली यसअघि रेलिगेसनमा परेका थिएनन् । ‘टोलीको यो प्रदर्शनको जिम्मेवारी मैले लिनुपर्छ । सबैप्रति माफी माग्छु,’ एपिएफका प्रशिक्षक रत्नकाजी महर्जनले भने । 

शुक्रबार मात्रै डेब्यु ए डिभिजन लिग खेलेको खुमलटार पहिलो संस्करण नै रेलिगेसन परेको थियो । चर्च ब्वाइज बी डिभिजन लिग विजेता बन्दा खुमलटार उपविजेता हुँदै अघिल्लो सिजन शीर्ष डिभिजनमा बढुवा भएका थिए । चर्च ब्वाइज डेब्यु च्याम्पियन बन्दा उपाधि दाबेदार दिएको खुमलटार भने रेलिगेसनमा परेको छ । 

यता, साबिक विजेता मच्छिन्द्र फुटबल क्लब उपाधिमाथि ह्याट्रिक गर्नबाट चुक्यो । मच्छिन्द्रको उपाधि यात्रामा चर्च ब्वाइज बाधक बनेको थियो । २४औँ चरणमा नेपाल पुलिससँग १–० ले पराजित हुँदा मच्छिन्द्र ह्याट्रिक उपाधिबाट चुकेको हो । मच्छिन्द्र यस सिजनमा उपविजेता भयो । साथै, मच्छिन्द्रले एएफसी कपको प्रारम्भिक छनोट खेल्नेछ । च्याम्पियन चर्च ब्वाइजसँग एएफसी लाइसेन्स नभएपछि मच्छिन्द्रलाई यो अवसर आएको हो । छनोट आगामी अक्टोबरमा हुनेछ । 

नेपाल पुलिस क्लबले तेस्रो स्थान हासिल गर्‍यो । १६औँ चरणसम्म रेलिगेसन क्षेत्रको पुलिस लगातार जित निकाल्न सफल भएको थियो । पहिलोपटक ए डिभिजन लिग हेरिरहेका पुलिसका प्रशिक्षक चेतन घिमिरेले आफूलाई सफल प्रशिक्षकका रूपमा उभ्याउन सफल भए । पुलिस लिगको ‘फेयर प्ले’ टिम बन्यो । यसैगरी, जावलाखेल युथ चौथो हुँदा सातदोबाटो युथ पाँचौँ भएको छ । न्युरोड टिम एनआरटी छैटौँ, आर्मी सातौैँ, कीर्तिमानी आठौँपटकको च्याम्पियन मनाङ मस्र्याङ्दी आठौँ, थ्री स्टार नवौँ, संकटा दशौँ, हिमालयन शेर्पा ११औँ, फ्रेन्ड्स १२औँ स्थानमा रहँदा १३औँ स्थानको एपिएप र १४औँ स्थानको खुमलटार पुछारमा रह्यो । 

विजेता चर्च ब्वाइजलाई ७५ लाख
पहिलो संस्करण नै च्याम्पियन बनेको चर्च ब्वाइजले ७५ लाख प्राप्त गरेको छ । उपविजेता मच्छिन्द्रले ५० लाख र तेस्रो भएको नेपाल पुलिस क्लबले ३५ लाख पाएको हो । यसबाहेक प्रत्येक क्लबले ‘म्याच मनी’ पाउनेछन् । प्रत्येक खेल जित्दा ५० हजार र खेलबराबर हुँदा दुवै टोलीले समान २५ हजार बाढ्नेछन् । प्रतियोगितामा नेपाल पुलिस क्लब फेयर प्ले घोषित हुँदै तीन लाख प्राप्त गरेको छ । 

अनन्त सर्वाेत्कृष्ट खेलाडी
लिगको सर्वाेत्कृष्ट खेलाडी चर्च ब्वाइजका कप्तान अनन्त तामाङ घोषित भएका छन् । पहिलोपटक घरेलु लिग उपाधि जितेका अनन्तले अवार्डसँगै तीन लाख रुपैयाँ प्राप्त गरे । उपविजेता मच्छिन्द्रका नाइजेरियन स्ट्राइकर ओलावाले ओलादिपो आफिजले सर्वाधिक गोलकर्ता भए । उनले प्रतियोगितामा २१ गोल गरे । उनी यसैसिजनमा मच्छिन्द्र पुगेका हुन् । आफिजले खुमलटारका मेसुके ओलोमोउ १८ र जावलाखेलका एनकोटो मासोआबी १६ गोललाई पछि पारे । थ्री स्टारका गोलकिपर एभ्स प्रिसो सर्वाेत्कृष्ट गोलकिपर चुनिए । उनले ११ क्लिन सिट राखेका थिए । आफिज र प्रिसो दुवैले दुई लाख पुरस्कार पाएका छन् । उदीयमान खेलाडी थ्री स्टारका लाकेन लिम्बू भए । लाकेनले एक लाख ५० हजार पाए । 

थ्री स्टार रेलिगेसनबाट जोगियो
कप्तान विक्रम लामाले निर्णायक गोल गरेपछि थ्री स्टारले जावलाखेललाई १–० ले हराउँदै रेलिगेसनबाट जोगिएको छ । अन्तिम दिनको खेलसम्म रेलिगेसन क्षेत्रमा रहेको थ्री स्टारले जित निकाल्दै ए डिभिजन लिग हैसियत जोगाएको हो । ०३८ साल यता ए डिभिजन लिगमा रहेको थ्री स्टारले २६ खेलमा ३२ अंक जोडेर नवौँ स्थानमा रह्यो । थ्री स्टारको जितपछि १३औँ स्थानमा झरेको एपिएफ रेलिगेसनमा परेको छ । ८३औँ मिनेटमा विक्रमले पेनाल्टीमार्फत गोल गरेका थिए । जावलाखेलका प्रमिन श्रेष्ठले पेनाल्टी बक्समा विक्रमलाई लडाएपछि थ्री स्टारले पेनाल्टीको अवसर पाएको थियो । जसमा विक्रम सफल रहे । यस खेलसँगै विक्रमले व्यावसायिक फुटबलबाट सन्न्यास लिएका छन् । अघिल्लो दिन मात्र नेपाल पुलिसका जुमनु राई र भोला सिलवाल तथा आर्मीका दीपक गुरुङले बिदाइ लिएका थिए ।

मच्छिन्द्रले मनाङलाई हरायो 
साबिक विजेता मछिन्द्रले अन्तिम खेलमा मनाङलाई ३–१ ले हराएको छ । दशरथ रंगशालामा मच्छिन्द्रले पुनरागमन जित निकालेको हो । पहिलो हाफमा एक गोलले पछि परेको मच्छिन्द्रले दोस्रो हाफमा तीन गोल फर्काएको हो । मच्छिन्द्रको जितमा ओलावाले आफिजले दुई तथा विमल घर्तीमगरले एक गोल गरे । यसअघि खेलको १६औँ मिनेटमा मनाङले अग्रता बनाएको थियो । रन्दीप पौडेलको क्रसलाई विजय श्रेष्ठले गोल गरेका थिए । ८०औँ मिनेटमा ओलावाले बराबरी गोल गरे । विमलको पासलाई ओलावाले सिक्स यार्ड बक्सबाट वान टचमै गोल गरे । ८६औँ मिनेटमा छिरिङ गुरुङको पासलाई सदुपयोग गर्दै विमलले गोल गरेका हुन् । इन्जुरी समयमा आफिजले व्यक्तिगत दोस्रो गोल गरे । जारी लिगमा ओलावालेको २१औँ गोल हो । उनी सर्वाधिक गोलकर्ता बनेका छन् । 

 

ad
ad