१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
मोहन विष्ट कञ्चनपुर
२०८० जेठ २४ बुधबार १६:०७:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

मापदण्डविपरीत उत्खननले तहसनहस बगुनछेला

Read Time : > 1 मिनेट
मोहन विष्ट, कञ्चनपुर
२०८० जेठ २४ बुधबार १६:०७:००

कञ्चनपुरको वेदकोट नगरपालिका उत्तरी भेगमा रहेको बगुनछेला खोला मापदण्डविपरीत उत्खननले तहसनहस भइरहेका छन्।

वेदकोट नगरपालिका ३ र ४ मा रहेका बगुनछेला खोलामा मापदण्डविपरीत उत्खनन कार्यले खोलाको रूप नै परिवर्तन भएको छ। 

उत्तरी चुरे भएर बग्ने प्राकृतिक नदी खोलाको अन्धाधुन्ध उत्खनन्ले गर्दा खोला कुरूप मात्रै होइन बस्तीसमेत विपद्को उच्च जोखिममा परेको छ। 

खोला दोहनले भूक्षयीकरण जोखिम बढाएर छेउछाउका बस्ती जोखिममा पारेको हो। वषौँदेखि मापदण्डविपरीत उत्खननले खोलाको दायाँबायाँ निर्माण भएको तारजाली तटबन्धसमेत भत्किएको छ। 

प्राकृतिक नदीनाला कुरुप हुने गरी अन्दाधुन्ध उत्खनन कार्यले जोखिम बढाएको भन्दै स्थानीय विरोधमा छन्। वेदकोट नगरपालिका ३ भम्काका स्थानीय वीरभान ऐडीले मापदण्डविपरीत मात्रै नभई अचाक्ली रूपमा दोहन गरिँदा आफ्नो घरखेत जोखिममा परेको बताए। 

‘हरेक वर्ष यो खोला मापदण्डविपरीत उत्खनन हुँदै आएको छ, ‘उनले भने, ‘सामुदायिक वन, मानवीय बस्ती र तटबन्धनजिकै क्षेत्रमा मेसिन नै प्रयोग गरेर उत्खनन हुँदा जोखिम बढायो।’ आफ्नो घरखेत जोखिममा पुर्याउँदासमेत सम्बन्धित निकायबाट मापदण्डविपरीतको उत्खनन कार्य नरोकिएको बताए। 

वेदकोट नगरपालिका ४ बैतडाका स्थानीय दीपेन्द्रप्रसाद भट्टले आज मात्रै नभई वेदकोट नगरपालिका क्षेत्रमा मापदण्डविपरीत उत्खनन कार्यले विपद् जोखिम निम्त्याएको बताए। 

‘हामीले स्थानीय सरकारलाई पटक-पटक अनियन्त्रित खोला, नदी दोहन रोक्न आग्रह गर्दै आएका छौँ,' उनले भने, ‘अहिलेसम्म कसैले हामी जनताको आवाज सुनेन, आज आएर ठेकेदार, ग्राभेल व्यवसायीले दुवैतर्फ भत्किने गरी उत्खनन गर्दै आएका छन्।’ 

स्थानीयले चरम बेथिति हुँदासमेत सरकारले नजरसमेत नलगाएको दुःखेसो पोखेका छन्। वेदकोट नगरपालिका ३ का वडाध्यक्ष मोहन गुधार्मीले यसअघि मापदण्डविपरीत उत्खनन कार्य रोकेको बताए।
‘मैले वडाबाट नियमित निगरानी अनुगमन गरेको छु, ‘उनले भने, ‘मापदण्डविपरीत उत्खनन हुँदा रोकेको छु, फेरि म यता आउँदा मापदण्डविपरीत उत्खनन गर्दै आएका छन्।’ 

यसअघि घुसुवा, बगुन नदीमा मापदण्डविपरीत उत्खनन गर्दा रोकेको बताउँदै वडाध्यक्ष गुधार्मीले छेलामा समेत तोकिएको मापदण्डविपरीत भए रोक्ने बताए। 

वडाध्यक्ष गुधार्मीका अनुसार चालू आर्थिक वर्षमा वेदकोट नगरपालिकाले ९१ लाख, १७ हजारबराबर बजेटमा गणपति कन्ट्रक्सन प्रालिसँग रोयल्टी संकलनका लागि सम्झौता गरेको बताए। जिल्ला समन्वय समिति कञ्चनपुरका प्रमुख दुर्गादत्त बोहराले मापदण्डविपरीत उत्खननका कार्य रोकिने बताए।

‘अब उत्खननको एक साता मात्रै बाँकी रहेको छ, ‘उनले भने, ‘अझै पनि मापदण्डविपरीत उत्खनन हुनु दुःखद विषय हुन जान्छ, यस हामी हामीले अनुगमन गर्दा वेदकोट नगरकै घुसुवा र बगुन खोलाको उत्खनन कार्य रोकेका छौँ, त्यहाँ पनि अनुगमन गछौँ।’ 

वेदकोट नगरपालिकाको अनुरोधमा सम्झौताअनुरूप छेला खोलाबाट केही परिमाणमा ग्राभेल संकलन गर्नुपर्ने अनुरोध आएकाले उत्खनन गर्न दिएको बताउँदै जिसस प्रमुख बोहराले मापदण्डविपरीत भए रोक्ने बताए। 

जिसस प्रमुख बोहराले आगामी वर्षदेखि उत्खनन कार्यको मोटालिटी परिर्वतन हुनुपर्ने बताएका छन्। ‘पुरानै विधिबाट ठेक्का दिने, उत्खनन गर्ने कार्यले अवधिभर किचलो विवाद सिर्जना हुँदै आएको छ, ‘उनले भने, ‘अब नदीजन्य पदार्थको उपभोगको विषयमा नयाँ योजना ल्याउनुपर्छ।’