Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०८० जेठ २४ बुधबार ११:५२:००
Read Time : > 1 मिनेट
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

सोलुको पाँचपोखरीमा फस्टाउँदै आन्तरिक पर्यटन

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०८० जेठ २४ बुधबार ११:५२:००

पर्यटकीय क्षेत्रका रूपमा सोलुखुम्बुको पाँचपोखरी चिनिएको धेरै भएको छैन । नेपाल पर्यटन बोर्डले एक सय नयाँ गन्तव्यको सूचीमा यसलाई नवौँ स्थानमा राखेको छ । यहाँ छोटो अवधिमै पर्यटकको संख्या बढ्दो छ ।

सोलुखुम्बुको महाकुलुङ गाउँपालिका–१, मकालु वरुण राष्ट्रिय निकुञ्ज क्षेत्रमा रहेको पाँचपोखरीमा पछिल्लो समय आन्तरिक पर्यटकको संख्या बढिरहेको छ । यहाँ पाँचवटा (बुबा, आमा, छोरा, बुहारी र गोठालो/कमरा) पोखरी छन् । ६ दिने यात्राका क्रममा पर्यटकले प्राकृतिक दृश्यसँगै स्थानीय संस्कृतिलाई पनि नजिकबाट नियाल्न पाउँछन् । यात्राका क्रममा पर्यटकले सोलुखुम्बुको तल्लो भेगका उपत्यकासँगै नुम्बुर, कुसुम काङ्गुरु, कांगटेगा, कञ्चनजंगालगायत हिमशृंखला देख्न पाउँछन् । 

धार्मिक महत्व
हिन्दू तथा बौद्ध धर्मावलम्बीका लागि पाँचपोखरीको धार्मिक तथा सांस्कृतिक महत्व विशेष छ । यहाँ दर्शन तथा पूजापाठ गर्नाले मनोकामना पूरा हुने जनविश्वास छ । पाँचपोखरीमा भदौ महिनाको जनै पूर्णिमा र नागपञ्चमीका दिन भव्य मेला लाग्छ । यात्राका क्रममा स्थानीय कला, संस्कृति, भेषभूषा र रहनसहनको पनि अवलोकन गर्न पाइन्छ । यात्राका क्रममा खिरौले गाउँ पुगिन्छ ।

कसरी पुग्ने ? 

पहिलो दिन : जिप वा आफ्नो सवारीसाधनमार्फत काठमाडौंदेखि ओखलढुंगाको पात्लेधाप हुँदै सोलुखुम्बुको बुङ महाकुलुङमा वास बस्न पुगिन्छ । त्यहाँ खान–बस्न होटेलको राम्रो व्यवस्था छ । 

दोस्रो दिन : महाकुलुङबाट ट्रेक सुरु हुन्छ । यहाँबाट करिब तीन–चार घन्टा यात्रा गरेपछि खिरौले पुगिन्छ । यात्राका क्रममा राई र शेर्पा समृदायको संस्कृतिलाई नजिकबाट नियाल्न सकिन्छ । त्यहाँ खान र बस्न होटेलको व्यवस्था पनि छ । 

तेस्रो दिन : करिब ६ घन्टाको यात्रापछि खिरौले गुम्बाबाट चोलेम (जंगल क्याम्प) पुग्न सकिन्छ । हरियाली डाँडाको मनोरम दृश्य देख्न सकिन्छ । चोलेममा फोक्टे पोखरी र लालीगुराँसको जंगल अवलोकन गर्न सकिन्छ । फोक्टे पोखरी नेपालको नक्साजस्तै आकारको भएकाले पनि निकै चर्चित छ । यहाँबाट सोलुखुम्बुको उपत्यका र केही हिमाल मज्जाले देखिन्छ । 

चौथो दिन : चोलेमबाट ६ घन्टा यात्रापछि पाँचपोखरी पुगिन्छ । यो चार हजार चार सय ६० मिटर उचाइमा छ । सिँढी चढ्दै उचाइमा पुगेपछि मनोरम दृश्यावलोकन गर्न सकिन्छ । 

पाँचौँ दिन : पाँचपोखरीबाट सात घन्टाको यात्रापछि खिरौले गुम्बा वा बुङ महाकुलुङ फर्किएर वास बस्न पनि सकिन्छ । यहाँ खाना, खाजा र वासको राम्रो व्यवस्था छ । 

छैटौँ दिन : खिरौले गुम्बा वा बुङ महाकुलुङबाट बिहानै जिपबाट काठमाडौं फर्किन सकिन्छ ।