मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
२०८० जेठ १५ सोमबार १०:५७:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

कर्णाली राजमार्ग दैलेख खण्डको खाल्डा पुर्न चटारो, ३१ किलोमिटर सडक रिसोलिङ

Read Time : < 1 मिनेट
२०८० जेठ १५ सोमबार १०:५७:००

‘मृत्युमार्ग’को उपमा पाएको कर्णाली राजमार्गको दैलेख खण्डका खाल्डा पुर्दै सडक रिसोलिङ कार्य सुरु भएको छ । कालोपत्रे सडकमा खाल्डैखाल्डा भएका कारण यात्रुहरूलाई यात्रामा निकै सास्ती भएको थियो भने दुर्घटनाको जोखिम पनि उत्तिकै बढेको थियो । सडक डिभिजन कार्यालय सुर्खेतमार्फत कर्णाली राजमार्गको दैलेख खण्डका विभिन्न भागमा सडक निर्माणकार्य सुरु गरिएको छ । कतिपय स्थानमा कालोपत्रे गर्ने, खाल्डा पुर्ने र सडक रिसोलिङ गर्ने कार्य धमाधम भइरहेको सडक डिभिजन कार्यालय सुर्खेतले जानकारी दिएको छ । 

दैलेख खण्डमा पर्ने सडकमध्ये ३१ किलोमिटर सडक रिसोलिङको काम सुरु गरिएको भए पनि अहिलेसम्म ७ किलोमिटर सडक मात्र रिसोलिङ सम्पन्न भएको छ । यो काम असारसम्म सक्नुपर्ने हो । निर्माण कम्पनीलाई काम दु्रत रूपमा गर्न सडक विभागले बारम्बार निर्देशन दिएको छ । 

कतिपय स्थानमा आवधिक मर्मतअनुसार काम भइरहेका छन् । गत असोजमा आएको अविरल वर्षाले भत्किएका सडकसमेत मर्मतसम्भारको काम भइरहेको इन्जिनियर सुरेन्द्र सिंहले जानकारी दिए । सडक मर्मत भएपछि कर्णाली राजमार्ग हुँदै यात्रा गर्ने यात्रुहरू तथा रारासम्म पुगेर फर्कने पर्यटकका लागि पनि यात्रा सहज हुनेछ । वैकल्पिक सडकका रूपमा मध्यपहाडी राजमार्ग सञ्चालनमा आएपछि कतिपय सवारीसाधन दैलेख सदरमुकाम दैलेख बजार हुँदै मध्यपहाडी सडकको राकमकर्णाली–साइखोला हुँदै यात्रा गर्ने गरेका छन् ।