शुक्रबार पोखरामा सम्पन्न गण्डकी प्रदेशस्तरीय खुला कायाकिङ प्रतियोगिताको उपाधि उदयपुरका डम्बरबहादुर पूर्वाछानेले जितेका छन्।
प्रदेश खेलकुद परिषद् गण्डकीको आयोजना तथा नेपाल र्याफ्टिङ तथा क्यानोनिङ संघको समन्वयमा पोखरा महानगरपालिका वडा नम्बर १९ र २५ स्थित मर्दी र सेती नदीको संगमबाट सुरु भएको प्रतियोगिता पोखरा– २५ स्थित याम्दी आएर सम्पन्न भएको थियो।
प्रतियोगितामा सहभागी अन्य १८ प्रतिस्पर्धीलाई पछि पार्दै पूर्वाछानेले उपाधिसँगै नगद ३५ हजार र स्वर्ण पदक पुरस्कार पाए। गोरखाका सुरेन्द्र चेपाङले दोस्रो हुँदै नगद २५ हजारसँगै रजत र गोरखाकै रविन चेपाङले तेस्राे हुँदै नगद १५ हजारसँगै कांस्य पदक हात पारे।
यसैगरी, गोरखाकै समिन चेपाङ चौथो हुँदै नगद १० हजार र खोटाङका प्रशान्त राईले सान्त्वना स्थान हात पार्दै नगद पाँच हजार पुरस्कार पाए।