
विद्यालय प्रशासनको लापरबाहीका कारण राजविराजस्थित शिव इन्टरनेसनल बोर्डिङ सेकेन्डरी स्कुलमा अध्ययरत एक विद्यार्थीको शुक्रबार बिहान करेन्ट लागेर मृत्यु भएको छ । कक्षा १० मा अध्ययरत जिल्लाको राजगढ गाउँपालिका– १ झुटकीका लक्ष्मणप्रसाद यादवका १५ वर्षीय छोरा पेसलानन्दको करेन्ट लागेर मृत्यु भएको हो ।
प्रत्यक्षदर्शीका अनुसार विद्यालयले नियमित रूपमा शुक्रबार आयोजना गर्दै आएको खेदकुद प्रतियोगिताका लागि पेसलानन्दलाई स्पिकर बजाउन विद्युतको पोलमा हुकिङ गर्न खटाइएको थियो । हुकिङ गर्ने क्रममा ११ हजार भोल्टको तारमा करेन्ट लागेर गम्भीर घाइते भएका उनलाई उपचारका लागि गजेन्द्रनारायण सिंह अस्पताल राजविराज लगिएको थियो । सोही क्रममा उनलाई चिकित्सकले मृत घोषणा गरे ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक नरेशकुमार सिंहले करेन्ट लागेर विद्यार्थीको मृत्यु भएको पुष्टि गरे । ‘घटनाबारे अनुसन्धान भइरहेको छ,’ उनले भने । घटनाबारे विद्यालयका प्रिन्सिपल नरेशप्रताप साहसँग बुझ्न खोज्दा उनको फोन उठेन ।