मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o जेठ ५ शुक्रबार
  • Thursday, 19 December, 2024
नयाँ पत्रिका काठमाडौं
२o८o जेठ ५ शुक्रबार o८:२१:oo
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

शिव शिखर सहकारीका अर्का सञ्चालक पक्राउ 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o जेठ ५ शुक्रबार o८:२१:oo

भक्तपुरमा केन्द्रीय कार्यालय रही देशका विभिन्न सहरमा शाखा सञ्चालन गरेको शिव शिखर बहुउद्देश्यीय सहकारी संस्थाको करिब १४ अर्ब निक्षेप हिनामिनामा संस्थाका थप एक सञ्चालक पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले बुधबार सञ्चालक अमिस राजभण्डारीलाई पक्राउ गरेको हो । 

यसअघि हिनामिनामा संलग्न गीता शर्मा र पुष्कर मल्ललाई सिआइबीले पक्राउ गरिसकेको छ । गीता र उनका श्रीमान् केदारनाथ शर्माको नेतृत्वमा सहकारीमा हिनामिना भएको प्रहरीले जनाएको छ । सिआइबीको अनुसन्धानमा उनीहरूले मात्र १० अर्ब हिनामिना गरेको भेटिएको छ ।

संस्थाका पूर्वअध्यक्ष रहेका केदारनाथ फरार छन् । उनीहरूले सहकारीको पैसा नियमविपरीत आफ्ना एक दर्जन कम्पनीमा लगानी गरेका हुन् । सो रकम फिर्ता गर्न नसक्दा सहकारीले धराशयी भई निक्षेपकर्ताको पैसा फिर्ता गर्न नसक्ने भएपछि हाल बन्द छ । सहकारी विभागले यसअघि नै सो सहकारीका सञ्चालकको सम्पत्ति रोक्का गर्न विभिन्न निकायलाई पत्राचार गरिसकेको छ । 

सिआइबीमा हालसम्म करिब १० करोड ठगीको जाहेरी परिसकेको छ । हाल भक्तपुर शाखामा कारोबार गरेका निक्षेपकर्ताको मात्र जाहेरी लिइएको र भक्तपुरको सकिएपछि काठमाडौं र ललितपुरको लिइने सिआइबीका डिएसपी गोविन्दराज काफ्लेले बताए । 

उपत्यकाका तीनै जिल्लामा सो संस्थाका शाखा छन् । उपत्यकाबाहिरको हकमा भने सम्बन्धित जिल्लाका प्रहरी कार्यालयले नै अनुसन्धान गर्ने भएकाले जिल्ला प्रहरी कार्यालयमा उजुरी दिन आह्वान गरिएको छ । विराटनगर, पोखरा, हेटौँडा, भरतपुर, बुटवल, बाग्लुङ, कञ्चनपुर, कैलालीलगायत जिल्लामा निक्षेपकर्ताले प्रहरीमा उजुरी दिन थालेका छन् । सञ्चालकका साथै संस्थाका कर्मचारीसमेतको मिलेमतोमा रकम हिनामिना भएको प्रहरीले जनाएको छ ।