मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०८० जेठ ३ बुधबार ०६:२९:००
Read Time : > 1 मिनेट
अर्थ डिजिटल संस्करण

नेपाल–बंगलादेश ऊर्जा बैठक : त्रिपक्षीय पिपिएदेखि अन्तरदेशीय प्रसारण लाइन बनाउनेसम्मको सहमति 

नेपाली जलविद्युतमा बंगलादेशको निजी लगानी आर्कषित गरिने 

Read Time : > 1 मिनेट
२०८० जेठ ३ बुधबार ०६:२९:००

नेपालबाट बंगलादेशमा ४० मेगावाट विद्युत् निर्यात गर्न त्रिपक्षीय विद्युत् खरिद–बिक्री सम्झौता (पिपिए) गरिने भएको छ। नेपाल, भारत र बंगलादेशबीच त्रिपक्षीय पिपिए सम्झौता गरिने भएको हो । मंगलबार बंगलादेशमा सम्पन्न नेपाल–बंगलादेश ऊर्जासचिवस्तरीय ऊर्जा बैठकमा उक्त सहमति भएको हो ।

नेपालको नेपाल विद्युत् प्राधिकरण (एनइए), बंगलादेशको बंगलादेश पावर डेभलपमेन्ट बोर्ड (बिपिडिपी) र भारतको एटिपिसी विद्युत् व्यापार निगम (एनभिभिएन)बीच त्रिपक्षीय पिपिए गरिने सहमति भएको ऊर्जासचिव दिनेश घिमिरेले जानकारी दिए । उनका अनुसार अब बंगलादेशको पावर डेभलपमेन्ट बोर्डले एनभिभिएनलाई यसबारे जानकारी पठाउनेछ । त्यसपछि आवश्यक प्रक्रिया पूरा गरेर पिपिएमा त्रिपक्षीय हस्ताक्षर गरिनेछ । 

गत भदौमा काठमाडौंमा सम्पन्न ऊर्जासचिवस्तरीय बैठकमा बंगलादेशले गत कात्तिकभित्रै नेपालबाट ४० देखि ५० मेगावाट विद्युत् किन्ने सहमति गरेको थियो । तर, भारतसँग समयमै समन्वयन नहुँदा त्यो सफल हुन सकेको थिएन । भारतले सहयोग गर्ने प्रतिबद्धता गरेपछि यही बर्खा बंगलादेशमा विद्युत् बिक्री गर्ने प्राधिकरणको तयारी छ। गत फागुनमा सम्पन्न नेपाल–भारत ऊर्जा बैठकमा भारतले यसमा सहमति जनाएको थियो । त्यसपछि यस सम्बन्धमा थप प्रक्रिया अघि बढेको हो । 

यस्तै, ६८३ मेगावाटको सुनकोसी तेस्रो जलविद्युत् आयोजना निर्माणका लागि ६ महिनाभित्र नेपाल विद्युत् प्राधिरकण र बंगलादेश पावर डेभलपमेन्ट बोर्ड संयुक्तबीच लगानी सम्झौता गर्ने सहमति पनि भएको छ। गत भदौमा सम्पन्न ऊर्जासचिवस्तरीय बैठकमा नेपाल र बंगलादेशको संयुक्त लगानीमा उक्त आयोजना बनाउने सहमति भएको थियो । सोहीअनुसार आगामी ६ महिनाभित्र संयुक्त लगानी सम्झौता गर्ने सहमति गरिएको हो । 

यसका अलावा नेपाल र बंगलादेशबीच अन्तरदेशीय प्रसारणलाइन बनाउने सहमति पनि भएको छ। यसमा सम्भावित विकल्पसहित ६ महिनाभित्र अध्ययन प्रतिवेदन पेस गर्ने सहमति भएको घिमिरेको भनाइ छ । 

यसका लागि हाल सञ्चालित भारत बंगलादेश क्रसबोर्डर प्रसारणलाइनको लिंक प्रयोग गर्ने तथा भारत र बंगलादेशबीच अवस्थित बेगारमोर–भेडानारा लिंकको क्षमता बढाउने विकल्प अघि सारिएको छ। साथै, दुहबी (नेपाल)–पूर्णिया (भारत)–बारापोकरिया (बंगालदेश) मा प्रसारणलाइन बनाउने विकल्प पनि अघि सारिएको छ । 

यस्तै, नेपालको जलविद्युत् क्षेत्रमा बंगलादेशको निजी क्षेत्रलाई आकर्षित गर्न सहजीकरण गर्ने सहमति पनि भएको छ । यसैगरी वैकल्पिक ऊर्जाको क्षेत्रमा सहकार्य गर्न बनाइएको समझदारीपत्रमा हस्ताक्षरण गर्ने सहमति पनि भएको छ । नेपालको वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र र बंगलादेशको सस्टेनेबल एन्ड रिन्युयल इनर्जी डेभलपमेन्ट एथोरिटीबीच सहकार्य गर्न एओयूको मस्यौदा तयार भइसकेको छ । अब प्रशासनिक प्रक्रिया पूरा गरेर त्यसमा द्विपक्षीय हस्ताक्षर गरिनेछ ।  यस्तै, नेपाल, बंगलादेश र भारतबीच ऊर्जा क्षेत्रमा सहकार्य गर्न उच्चस्तरीय त्रिपक्षीय प्रशासनिक सयन्त्र स्थापना गर्न पहल गर्ने सहमति पनि भएको छ ।