साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचक १९ दशमलव १२ अंकले घटेर एक हजार ८ सय ५० दशमलव ६१ बिन्दुमा आइपुगेको छ । नेप्से सूचकमा आइरहेको निरन्तर गिरावटले कारोबार रकम सात महिनायताकै न्यून हुन पुगेको हो । आइतबार ६० करोड ८१ लाख रुपैयाँको कारोबार भएको छ भने सबै समूहको सूचक घटेको छ ।
यसअघि, १३ असोज ०७९ मा ६३ करोड २४ लाख रुपैयाँको कारोबार भएको थियो । नेप्से सूचक त्यतिवेला १८ सय बिन्दुकै आसपासमा रहेको थियो । यस दिन सर्वाधिक कारोबार हुने कम्पनीमा शिवम् सिमेन्ट रहेको छ । कम्पनीको ३ करोड २२ लाख रुपैयाँको कारोबार भएको छ भने दोस्रो कारोबार हुने मकर जितुमाई हाइड्रोपावर कम्पनीको एक करोड ८९ लाख रुपैयाँको कारोबार भएको छ ।
पछिल्लो दुई सातादेखि सेयर कारोबार रकम एक अर्ब रुपैयाँ पुग्न सकेको छैन । मौद्रिक नीतिको तेस्रो समीक्षा सार्वजनिक हुने तयारीमा छ । अर्थमन्त्री डा. प्रकाशरण महतले आगामी मौद्रिक नीतिमा सरकारले पुँजी बजारलाई प्राथमिकतामा राख्ने बताउँदै नीति तथा कार्यक्रम र बजेटमा पनि पुँजी बजारलाई प्राथमिकताका साथ उठान गर्ने बताएका छन् । तर पनि सेयर बजार सकारात्मक हुन सकेको छैन । लगानीकर्ता तथा पुँजी बजार संघकी अध्यक्ष राधा पोखरेलले अर्थतन्त्रमा सुधारसँगै सेयर बजारमा पनि नयाँ आयाम थपिने जानकारी दिइन् ।
निजी क्षेत्रले पूर्वाधारका क्षेत्रका लगानी गर्न सकेनन् : अध्यक्ष हमाल
नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालले निजी क्षेत्रले पूर्वधार क्षेत्रमा लगानी गर्न नसकेको बताएका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ (सिबिफिन)ले आयोजना गरेको नेपाल बिजनेस समिट २०२३ मा धितोमा आधारित कर्जा लगानी गर्ने प्रणालीले गर्दा निजी क्षेत्रले पूर्वाधारका क्षेत्रका लगानी गर्न नसकेको बताएका हुन् ।
भेन्चर क्यापिटलको विकास नभई निजी क्षेत्रको पुँजी परिचालन नहुने भन्दै त्यसका लागि बोर्डले फास्ट ट्र्याकबाट भेन्चर क्यापिटललाई अनुमति दिइरहेको हमालले बताए । उनले सम्पत्ति व्यवस्थापनमा काम गर्ने अवसर बैंकसँग रहेको बताए । उनले भने, ‘धितोमा आधारिक कर्जा लगानीबाट परियोजनामा आधारित कर्जा लगानी गर्ने प्रणालीमा जान अध्ययन हुनुपर्छ ।’