मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडाैं
२०८० बैशाख २४ आइतबार ०९:३३:००
Read Time : < 1 मिनेट
अन्तर्वार्ता प्रिन्ट संस्करण

राजनीतिक विश्लेषक श्याम श्रेष्ठलाई तीन प्रश्न

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०८० बैशाख २४ आइतबार ०९:३३:००

रास्वपाले सरकारलाई दिँदै आएको समर्थन फिर्ता लिनुको राजनीतिक सन्देश के हो ?
यसको ठुलो र ठोस राजनीतिक सन्देश छ जस्तो लाग्दैन । सरकारलाई दिएको समर्थन फिर्ता नलिने र रोजा मन्त्रालय लिएर सरकारमा जाने दाबी गरिरहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले यसरी एकाएक समर्थन फिर्ता लिनुको अर्थ मालदार मन्त्रालय हात पार्न प्रधानमन्त्रीलाई दबाब दिने उद्देश्य हुन सक्छ । त्यसबाहेक यसको अलग सन्देश छ जस्तो लाग्दैन ।

यसले वर्तमान सरकारको आयुमा तात्विक असर पार्छ कि पार्दैन ?
अहिलेको राजनीतिक समीकरण हेर्दा तत्कालै त्यस्तो कुनै सम्भावना देखिन्न । रास्वपाले समर्थन फिर्ता लिँदैमा सरकारको विपक्षमा बहुमत पुगिहाल्ने स्थिति छैन । अहिलेको गठबन्धन सरकारमा रहेका ठुलामध्ये कुनै एक दल अर्कातिर नजाउन्जेल तत्कालै यो सरकारको आयुमा असर पर्ने देखिन्न । संसद्मा रहेका बाँकी सबै दल मिल्दा पनि सरकारको विपक्षमा बहुमत पुग्ने अवस्था नभएकाले सरकार ढल्ने अवस्था छैन ।

तत्काल नयाँ गठबन्धन बन्न सक्ने सम्भावना कति देखिन्छ ?
तत्कालै यस्तो सम्भावना छैन । अहिलेको अस्थिर नेपाली राजनीतिमा गठबन्धन बन्नु र भत्किनु अनौठो त होइन । तर, तत्काल नयाँ गठबन्धन बनिहाल्ने सम्भावना भने देखिन्न । किनकि, बाँकी दल मिलेर संसद्मा बहुमत पुर्‍याउन सकिने सजिलो अंकगणित छैन । रास्वपासँगै जनमत पार्टीले समर्थन फिर्ता लिए पनि यसले सरकारको भविष्य तत्काल खतरामा पर्ला जस्तो लाग्दैन ।