जंगलमा एउटा चरो निकै सुरिलो आवाजमा गीत गाइरहेको थियो । उसको स्वरमा कोइलीको जस्तै मिठास थियो । एक दिन एक किसान किराले भरिएको बाक्सा लिएर त्यही जंगल हुँदै कतै जाँदै थिए । चराले किसानलाई रोकेर सोध्यो । महाशय, तपाईंको बाक्साभित्र के छ र तपाईं कहाँ जाँदै हुनुहुन्छ ?
किसानले भने– मेरो बाक्सामा किरा छन् । म यिनलाई बेचेर चराका प्वाँख किन्न बजारतिर जाँदै छु । यति भनेर किसान आफ्नो बाटो लागे । चराले उनलाई रोक्दै भन्यो– प्वाँख त मसित पनि छन् । मलाई किराको खोजीमा धेरै टाढा–टाढा जानुपर्छ । बरु तपाईं मलाई किरा दिनुहोस् । त्यसको बदलामा म तपाईंलाई मेरो एउटा प्वाँख दिन्छु । यसबाट तपाईंलाई बजारसम्म जानुपरेन र मलाई पनि किराको खोजीमा यताउता भौँतारिनुपरेन ।
किसानलाई पनि चराको प्रस्ताव ठिक लाग्यो । उनले किरा चरालाई दिए । चराले आफ्नो एउटा प्वाँख किसानलाई दियो । त्यसपछि हरेक दिन यही क्रम चलिरह्यो । हुँदाहुँदा यस्तो दिन पनि आयो, अब किसानलाई दिनका लागि चराको जिउमा एउटै प्वाँख बाँकी रहेन । प्वाँख नपाउने भएपछि किसानले पनि किरा दिन छाडे । चरो आफैँ उडेर किरा खोज्न जान पनि सकेन । साथमा ऊ निकै भद्दा पनि देखिन थाल्यो ।
चरालाई आफ्नै रूप देख्दा घिन लाग्न थाल्यो । आफ्नो गल्ती सम्झेर ऊ पछुताउँदै रुन थाल्यो । जीवनमा कुनै पनि कामका लागि छोटो बाटो रोज्नुको परिणाम उसले भोगिरहेको थियो । आखिरमा खानाको खोजी गर्दागर्दै भोक र तिर्खाले उसको मृत्यु भयो ।