१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o बैशाख २१ बिहीबार
  • Friday, 01 November, 2024
टेकेन्द्र जोशी
२o८o बैशाख २१ बिहीबार o७:o७:oo
Read Time : > 5 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

अपरिहार्य कम्युनिस्ट एकता

कार्यकर्तामा एकताको चाहना हुँदाहुँदै पनि शीर्ष नेताका स्वार्थ र दम्भका कारण एकता हुन नसकेको अवस्थामा अब सम्पूर्ण कम्युनिस्ट गोलबन्द हुनुको विकल्प छैन

Read Time : > 5 मिनेट
टेकेन्द्र जोशी
नयाँ पत्रिका
२o८o बैशाख २१ बिहीबार o७:o७:oo

नेपालका राजनीतिक दलहरूमा जुट्ने, फुट्ने अनि फेरि जुट्ने प्रक्रिया एक नियमित आकस्मिकता बनेको छ । जब जुट्छन्, पार्टीका विचार, सिद्धान्त, रणनीति र कार्यनीतिमा बहसै नगरी मजुदा विचार सिद्धान्तलाई दराजमा थन्क्याउँछन्, अनि निहित राजनीतिक स्वार्थका लागि एकता गर्छन् । परिणामस्वरूप एकताको जग एकता भएकै दिनदेखि डगमगाउन थाल्छ र ढिलोचाँडो पहिरो नै जान्छ । पार्टी एकताको आधार भनेको विचार र सिद्धान्त हो ।

एकतापछि फरक–फरक विचारलाई मर्ज गरी नयाँ विचार र सिद्धान्त निर्माण नगरी गरिएका एकता विशेषगरी कम्युनिस्ट पार्टीमा पटक–पटक भत्किएका प्रशस्त उदाहरण छन् । नयाँ विचारलाई सिध्याउने र पुराना विचारलाई छोड्ने प्रवृत्ति कम्युनिस्ट पार्टीमा बढ्दै गएको छ । मानाैँ, टुटफुट र पुनः एकता कम्युनिस्टको संरचनागत धर्मै हो । हुन त कम्युनिस्ट पार्टी मात्र नभएर कांग्रेस, राप्रपा, जातीय र क्षेत्रीय नाराबाट उठेका मधेसवादी र अन्य दल पटक–पटक टुटफुट र एकता हुँदै हुर्किएका छन् । नेपालको राजनीतिमा ‘राजनीतिको अन्तिम सत्य नै सत्ता प्राप्ति हो’ भन्ने भाष्य निर्माण गरिएकाले टुटफुट र एकता हरेक पार्टीमा हरेक समय सम्भव छ ।

कम्युनिस्ट पार्टी स्थापनामै फुटको बीजारोपणः नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थापना नै विवादबीच भएको थियो । केशरजंग रायमाझीलगायत केही युवाले ‘माक्र्सिस्ट स्टडी सर्कल’ गठन गरेका थिए । सर्कलमा वनारसमा अध्ययनरत मनमोहन अधिकारी पनि थिए । यसको उद्देश्य नेपालमा कम्युनिस्ट पार्टी खोल्नु थियो । यसबारे छलफल हुँदाहुँदै पुष्पलालले थाहै नदिई नेकपा स्थापना गरेका थिए । ००६ वैशाख १० गते भारतको कलकत्तास्थित श्यामबजारमा एक बंगालीको घरमा नेकपाको औपचारिक गठन गरिएको थियो । पाँचजना संस्थापक सदस्यबाट सुरु गरिएको नेकपा ठूलो हुँदै गयो र अहिले सात दशकभन्दा बढी समय बिताउँदा दर्जनौँपटक एकता, विभाजन र फेरि एकताको क्रम–उपक्रमबाट गुज्रिएको छ ।

प्रजातन्त्र पुनस्र्थापनापछिका निर्वाचन र कम्युनिस्ट :  ०४६ को जनआन्दोलनपछि कांग्रेस नेता कृष्णप्रसाद भट्टराईको नेतृत्वमा आन्तरिम सरकार बन्यो । ०४८ को प्रतिनिधिसभा निर्वाचनमा तिनै भट्टराईलाई पराजित गर्दै राजधानीका दुई स्थानबाट एमाले महासचिव मदन भण्डारी विजयी बने । भण्डारीको उदाहरण दिँदै ‘न्युज विक’ले लेखेको थियो– ‘नेपालमा कार्ल माक्र्स जीवित छन् ।’ ०५१ को मध्यावधि निर्वाचनमा कम्युनिस्टहरू सर्वाधिक मत प्राप्त गर्न सफल भए र एमाले पार्टी पहिलो कम्युनिस्ट सरकार बनाउन सफल भयो ।

०७४ मा कम्युनिस्टका मुख्य ठूला दल एमाले र माओवादी केन्द्रले अप्रत्यासित एकता गरेर दक्षिण एसियाकै ठूलो कम्युनिस्ट पार्टी बनाए । ०७४ को निर्वाचनमा कम्युनिस्टले करिब दुईतिहाइको जनमत प्राप्त गरी एकल स्थायी सरकार बनायो । विश्व कम्युनिस्ट आन्दोलन छिन्नभिन्न र कमजोर हुँदै जाँदा पनि नवउदारतावादको विश्वव्यापी छालले नेपाली जनताको कम्युनिस्टप्रतिको मोह, निकटता, आस र भरोसालाई हल्लाउन सकेन । 

कम्युनिस्टको कमजोरी :  नेपालका कम्युनिस्ट पार्टीहरू फुट्न धेरै ठूलो राष्ट्रिय मुद्दा वा इस्यु चाहिँदैन । यो उनीहरूको जन्मजात कमजोरी हो । पार्टी स्थापना दिवसको मितिका नाममा पनि उनीहरू फुट्ने डिलमा पुगेका थिए । कुनैले सन् १९४९ अप्रिल २२ लाई स्थापना दिवस मान्छन् भने कुनैले सेप्टेम्बर १५ लाई ।

मितिबारे कम्युनिस्टभित्र ठूलो किचलो भएको थियो । एमालेको पाँचौँ महाधिवेशनले १० वैशाख (२२अप्रिल १९४९) मा कम्युनिस्ट पार्टी स्थापना भएको निष्कर्ष निकालेपछि पछिल्लो समय यसबारे बहस भएको पाइँदैन । तर, भविष्यमा यही निहुँमा पनि कम्युनिस्ट फुट्न सक्ने सम्भावना नकार्न सकिँदैन । ०४६ को जनआन्दोलनपछि संसदीय प्रणालीमा प्रवेश गरेका कम्युनिस्टमा फुट्न, जुट्न र मिल्नका लागि वैचारिक, सैद्धान्तिक र राष्ट्रिय इस्यु चाहिएको देखिएन । कम्युनिस्ट मात्र नभई नेपालका सबैजसो राजनीतिक पार्टी शीर्ष नेताको सत्तास्वार्थ, व्यक्तिगत लाभ–हानि, इगो र जुँगाको प्रतिस्पर्धामा सहजै फुट्न र जुट्न सक्छन् ।

एमाले–माले फुट :  ०५४ मा एमाले फुटेर माले बन्यो । भारतसँग गरेको महाकाली सन्धिको विषयलाई लिएर एमालेभित्र चर्को मतभेद चल्यो । विगतमा भारतसँग गरिएका कोसी, गण्डकी सन्धिमा नेपाल ठगिएको इतिहास स्मरण गर्दै महाकाली सन्धिमा पनि नेपाल ठगियो भन्ने एमालेभित्रको एक समूहले निष्कर्ष निकाल्यो । सन्धि राष्ट्रघाती हो र यो सन्धि गर्नु हुँदैन भनेर एमालेभित्र चर्को विरोध भयो । अन्य कम्युनिस्ट घटक त यसविरुद्ध थिए नै । संसद्मा मतदान हुँदा एमालेले ह्विप लगाए पनि केही शीर्ष नेता र सांसदले उल्लंघन गरी सन्धिको विपक्षमा मतदान गरे । सन्धि संसद्बाट बहुमतले अनुमोदन गरियो । यसले एमालेलाई विभाजित गर्‍यो ।

आफ्ना लागि उर्वर भूमि हुँदाहुँदै पनि नेपालमा करिब ६५ प्रतिशत मतभार भएका कम्युनिस्ट पार्टीहरू सधैँ कांग्रेसको पाल्की बोकेर हिँड्नुपर्ने बाध्यता उनीहरूकै पटक–पटकको आपसी टुटफुटले निम्त्याएको हो
 

वामदेव गौतमको नेतृत्वमा एउटा ठूलो हिस्सा एमालेबाट बाहिरियो र माले बन्यो । यद्यपि यो वेला पार्टी फुटमा थोरै भए पनि सैद्धान्तिक आधार थियो । राष्ट्र, राष्ट्रियता, प्राकृतिक सम्पदाको संरक्षण र सदुपयोग जस्ता विषयको लेपन थियो । तर फुटेको पार्टी लामो समयसम्म धानिन सकेन । फुटेको चार वर्षपछि ०५८ मा दुवै पार्टी एक भए । वामदेवलगायत धेरै नेता–कार्यकर्ता एमालेमै फर्किए भने सीपी मैनालीको सानो समूह मालेमै रह्यो । 

माओवादी केन्द्रको फुट : ०५२ मा जनयुद्ध सुरु गरेको माओवादी ०६२/६३ को जनआन्दोलनपछि एमाले र कांग्रेससँगै लोकतान्त्रिक संसदीय व्यवस्थामा आइपुग्यो । ०६४को पहिलो संविधानसभा चुनावपछि नारायणकाजी श्रेष्ठको एकता केन्द्र माओवादीमा मिल्यो । मोहन वैद्य र नेत्रविक्रम चन्दले माओवादी छाडेर अर्को पार्टी बनाए । पछि चन्दले छुट्टै पार्टी गठन गरे । बाबुराम भट्टराईले त कम्युनिस्ट आन्दोलन नै छोडेर नयाँ शक्ति नेपाल पार्टीका संयोजक बने र सो पार्टी पनि भंग गरी जनता समाजवादी पार्टीमा पुगे । उनी अहिले नेपाल समाजवादी पार्टीका प्रमुख छन् ।

शान्ति प्रक्रियामा आइसकेपछि पनि माओवादीभित्र रहेको आन्तरिक संघर्ष कम भएन । पार्टी एक रहुन्जेल प्रचण्ड, डा. भट्टराई र वैद्यबीच त्रिपक्षीय संघर्ष हुन्थ्यो । पालुङटारमा सम्पन्न छैटौँ विस्तारित बैठकमा प्रचण्ड, डा. भट्टराई र वैद्यले छुट्टाछुट्टै दस्ताबेज पेस गरे पनि कुनै पनि प्रस्ताव पारित हुन सकेन ।

अन्ततः अन्तरद्वन्द्व पार्टी फुटमाा परिणत भयो । ०६९ असार ४ गते वैद्य–बादल समूह माओवादीबाट अलग भयो । माओवादी फुट्यो । पछि २०७० मंसिरमा वैद्य नेतृत्वको पार्टीबाट विप्लव समूह फुट्यो भने बादल समूह पुनः प्रचण्ड समूहमै मिसियो । बादललगायत पूर्व माओवादी एमालेमा विलय भए । शान्ति प्रक्रियामा आएपछि मात्र होइन, युद्धमै छँदादेखि नै माओवादीबाट विभिन्न समूह निस्किने र जोडिने क्रम चलिरहेको थियो । ०६५ मा एकता केन्द्रसँग र ०७३ मा विभिन्न १० माओवादी घटकबीच एकता भयो । माओवादीमा जति फुट भएको छ त्यति नै एकता पनि भएको छ ।

नेकपा एकता र विभाजन : अप्रत्यासित रूपमा एमाले र माओवादीले ०७४ असोज १७ गते पत्रकार सम्मेलन गरी ६ बुँदे सहमति सार्वजनिक गरे । नजिकिँदो संघीय र प्रादेशिक निर्वाचनलाई केन्द्रमा राखेर वाम गठबन्धन गराएर पार्टी एकताको मार्गचित्र कोरियो । ०७५ जेठ ३ मा दुई पार्टीबीच एकता भयो र घोषणासभामा दुवै पार्टीका नेताले यसलाई नेपाली कम्युनिस्ट आन्दोलनको ऐतिहासिक परिघटनाका रूपमा व्याख्या गरे । दुई अध्यक्षीय प्रणालीको थालनी गरियो । केपी ओली र प्रचण्ड एकतापछिको नेकपाका अध्यक्ष रहे । 

एकताको उन्मादमा पचासौँ वर्ष वामपन्थीले शासन सत्ता चलाउने र समाजवाद ल्याउने घोषणासमेत गरियो । दुई ठूला वामपन्थी पार्टीको एकीकरणसँगै नेपाली कम्युनिस्ट आन्दोलनमा एक नयाँ अध्याय सुरु भयो । पार्टी एकताको वाचासहित दुई ठूला वाम पार्टीबीच गरिएको गठबन्धनले जनतामा उत्साह जगायो । अस्थिर राजनीतिले वाक्क भएका जनताले स्थिर सरकारको अपेक्षा गरी वाम गठबन्धनलाई करिब दुईतिहाई मत दिए । साझा घोषणापत्र बनाएर चुनाव लडेका दुवै दलले अपेक्षित नतिजा पनि ल्याए । प्रतिनिधिसभामा कुल १७४ सिट जिते भने सातमध्ये ६ प्रदेशमा सरकार बनाउन सहज बहुमत पाए । यो सरकारले देश र जनताका लागि केही दीर्घकालीन उच्च महत्वका काम गर्छ भन्ने जनताले विश्वास गरे ।

नेकपाले केपी ओली नेतृत्वमा सरकार बनायो । करिब दुईतिहाइ जनमत प्राप्त पार्टीको सरकार बनेका वेला देश र जनताका लागि धेरै राम्रा काम गर्न सकिन्थ्यो । तर, नेतृत्वमा अहंकार, दम्भ र एकाधिकारवाद हाबी भयो । पार्टीभन्दा प्रधानमन्त्री बलियो हो, राज्य सञ्चालनमा पार्टीको सल्लाह र संलग्नता आवश्यक छैन, प्रधानमन्त्रीले आफ्नो सानो झुन्डको सल्लाहमा आफूखुसी राज्य सञ्चालन गर्न पाउनुपर्छ भन्ने भास्य निर्माण गर्न खोजियो । स्तुतिगानमा रमाउन थालियो, जनमतको अवमूल्यन गरियो । अर्कातिर कम्युनिस्टको यति ठुलो पार्टी भत्काउन देशकै दक्षिणपन्थी पार्टीहरू र बाह्य शक्ति सलबलाउन थाले । देश र जनताको आवाज सुन्न पार्टीले ओली सरकारलाई दबाब दिए पनि सरकारले सुनेन ।

संविधान मिचेर दुई–दुईपटक संसद् भंग गरियो । तत्कालीन राष्ट्रपति कार्यालयलाई प्रधानमन्त्रीको आदेशपालकका रूपमा गलत प्रयोग गरियो । न्यायापालिकालाई कार्यपालिकाभित्र खेल्न निमन्त्रणा गरियो । फलतः पार्टी फुट्यो । सर्वोच्च अदालतले एमाले र माओवादीलाई पहिलेकै अवस्थामा बस भन्ने आदेश दियो । पूर्व एमालेका केही पुराना र नयाँ नेताहरूले केपी ओलीको अहंकार, दम्भ र सर्वसत्तावादलाई स्वीकार गर्न नसकिने ठहर गर्दै छुट्टै पार्टी एकीकृत समाजवादी पार्टी गठन गरे ।

अन्त्यमा :  कम्युनिस्टका लागि उर्वर भूमि हुँदाहुँदै पनि नेपालमा करिब ६५ प्रतिशत मतभार भएका कम्युनिस्ट पार्टीहरू सधैँ कांग्रेसको पालकी बोकेर हिँड्नुपर्ने बाध्यता उनीहरूकै पटक–पटकको टुटफुटले निम्त्याएको हो । कम्युनिस्ट पार्टीहरू एक ठाउँमा आउन नसकेकाले सिद्धान्त र विचारविहीन नयाँ पार्टीहरू जन्मेर गम्भीर चुनौती दिन थालेका छन् । अब हामिसँग दुई विकल्प छन्, कि एकीकृत हुने र सुध्रिने कि सिद्धिने । आमकम्युनिस्ट कार्यकर्तामा एकताको चाहना छ, तर शीर्ष नेताका स्वार्थ र दम्भका कारण एकता हुन सकेको छैन । अब सम्पूर्ण कम्युनिस्ट गोलबन्द हुनुको विकल्प छैन ।

 एकता मात्र होइन, कम्युनिस्ट सिद्धान्त र विधिअनुसार पार्टी सञ्चालन गर्नुपर्छ । केन्द्रीयता मात्र होइन, सामूहिकता खोजिनुपर्छ । एकताको आधार सैद्धान्तिक र राष्ट्रिय आवश्यकताको हुनुपर्छ । आजको नेपाली समाज पुँजीवादी बनिसकेको छ । त्यसैले, अब कम्युनिस्ट पार्टीको कार्यभार रास्ट्रिय पुँजी निर्माण गर्ने, मौजुदा पुँजीलाई उत्पादक पुँजीमा रूपान्तरण गर्दै श्रमशक्तिलाई उत्पादन र उद्योगसँग जोडेर समाजवादको तयारी गर्नु हो । वामपन्थी पार्टीबीचको एकता आजको अपरिहार्यता हो । वामपन्थी पार्टीहरूसँग कि सुध्रिने, कि सिद्धिनेबाहेक अर्को विकल्प छैन ।