तनहुँको पर्यटकीय नगरी बन्दीपुर यतिखेर फूलैफूलले ढाकिएको छ । बन्दीपुर बजारका घरका छतमा रंगीबिरंगी फूलहरू फुलेका छन् । कलात्मक घरले सुन्दरता बढाएको बन्दीपुरका हरेक घरमा फुलाइएका विभिन्न जातका फूलले पर्यटकलाई थप मोहित गरेको छ ।
बन्दीपुरका ७० भन्दा होटेलहरूमा दैनिक पाँच–सात सयको संख्यामा पर्यटक आउने गरेको बन्दीपुर पर्यटन विकास समितिका पूर्वअध्यक्ष बैस गुरुङले बताए । ‘केही दिनदेखि अत्यधिक गर्मी बढेसँगै पर्यटकहरू रिफ्रेस हुन बन्दीपुर आउन थालेका छन् ।
यहाँको मौसम गर्मीमा चिसो हावा चल्ने र जाडोमा तापक्रम बढ्ने भएकाले पनि यो ठाउँ पर्यटकको रोजाइमा पर्ने गर्छ । अहिले बजार क्षेत्रमा फूलहरू फुलेका छन् । त्यसले पनि पर्यटकलाई आकर्षित गरेको छ,’ उनले भने । बन्दीपुरमा चाइनिज पर्यटक धेरै आउने गर्छन् । त्यस्तै भारत, अमेरिका, अस्टेलिया, न्युजिल्यान्ड, जर्मनलगायतका देशबाट पनि आउने गरेका छन् ।
यहाँ कलात्मक घरले मात्र नभई बजार क्षेत्रमा बिछ्याइएको ढुंगाले पनि पर्यटकको मन खिच्ने गर्छ । त्यस्तै, बजार क्षेत्रमा राखिएको मेटालिक पोलले पनि बन्दीपुरको सुन्दरतामा थप सुन्दरता बढाएको बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाले बताए । बन्दीपुरबाट माछापुच्छे«, अन्नपूर्णसहित एघारवटा हिमालहरू नजिकैबाट नियाल्न सकिनेछ । बन्दीपुरमा बिदाको दिनमा आन्तरिक पर्यटकको भिड बढ्ने गरेको छ ।