मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o बैशाख ११ सोमबार
  • Tuesday, 17 December, 2024
नयाँ पत्रिका काठमाडौं
२o८o बैशाख ११ सोमबार o७:४५:oo
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

जेठ पहिलो साताबाट विद्युत् निर्यात हुँदै यस वर्ष १२ सय मेगावाट निर्यात गरिने

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o बैशाख ११ सोमबार o७:४५:oo

आगामी जेठ पहिलो साताबाट भारततर्फ विद्युत् निर्यात हुने भएको छ । सुक्खा यामका कारण स्वदेशी उत्पादन कम हुँदा अहिले भारतबाट नै विद्युत् आयात भइरहेको छ । अब गर्मीमा हिउँ पग्लिएर खोलामा पानीको बहाब बढ्छ । साथै, प्रिमनसुनको सिजनमा पानी पर्न थालेपछि सिँचाइतर्फ हुने विद्युत्को खपत हट्छ । त्यस अवस्थामा जेठ पहिलो साताबाट विद्युत् निर्यात सुरु हुन सक्ने नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए । ‘गत वर्ष जेठको १६ गतेबाट विद्युत् निर्यात सुरु भएको थियो । यो वर्ष पनि जेठको पहिला साताबाट विद्युत् निर्यात हुने अनुमान छ,’ उनले भने, ‘यति नै भन्ने त हुँदैन । थोरै मात्रामा भए पनि विद्युत् निर्यात हुन्छ ।’

यो वर्ष करिब १२ सय मेगावाट विद्युत् निर्यात हुने उनले बताए । उनका अनुसार निर्यात अनुमतिको स्वीकृतिका लागि भारतीय निकायहरूमा आयोजनाहरूको सूची पठाइसकेको छ । भारतले आफ्नो देशमा चार सय ५२ मेगावाट विद्युत् बिक्री गर्न अनुमति दिइसकेको छ । अहिले चार सय ५६ मेगावाटको अपर तामाकोसीसहितका आयोजनाको स्वीकृतिका लागि प्रस्ताव पठाएको बताइएको छ ।  

उद्योगमा विद्युत् आपूर्ति समस्या अल्पकालीन
नेपाल विद्युत् प्राधिकरणले कोसी प्रदेशका सुनसरी, मोरङ औद्योगिक करिडोरलगायतका क्षेत्रमा देखिएको विद्युतु आपूर्तिको समस्या अल्पकालीन भएको बताएको छ । विनाजानकारी उद्योगहरूको विद्युत् आपूर्ति कटौती गरिएको भन्ने उद्योगीहरूबाट गुनासो आएपछि प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले १०–१५ दिनमा समस्या समाधान हुने बताए । यस वर्ष हिउँ–पानी नपरेर सुक्खायाम लम्बिँदा नदी प्रवाहमा आधारित जलविद्युत् आयोजनाहरूको विद्युत् उत्पादनमा करिब ३० प्रतिशत गिरावट आएको उनको भनाइ छ । सोही कारण विद्युत् आपूर्तिमा समस्या भएको उनको भनाइ छ । 

यस्तै, धनुषाको ढल्केबर सबस्टेसनबाट थप विद्युत् पूर्वतर्फ पठाउन प्रसारण लाइनको क्षमताले नधानेको, सप्तरीको रूपनी सबस्टेसनको बे्रकर चुँडिएकोलगायतका कारण पनि विद्युत् आपूर्तिमा चुनौती भएको बताइएको छ । यसैगरी, कटैया–कुशहवा एक सय ३२ केभी प्रसारण लाइनमार्फत भारतको बिहारबाट आयात भइरहेको विद्युत् उतैबाट कटौती हुँदा पनि समस्या भएको कार्यकारी निर्देशक घिसिङले बताए । 

कार्यकारी निर्देशक घिसिङका अनुसार ताप्लेजुङ, पाँचथर र इलाममा निर्माण भएका जलविद्युत् आयोजनाहरूको जडित क्षमता करिब दुई सय मेगावाट भए तापनि हिउँ–पानी नपर्दा अहिले करिब ३० मेगावाट मात्र विद्युत् उत्पादन भई काबेली करिडोर प्रसारण लाइनमार्फत प्रवाह भइरहेको छ । तर, एकदुई दिनदेखि ती आयोजनाहरूबाट विद्युत् उत्पादन बढ्दै गएकाले उद्योगहरूलाई अहिले नियमित विद्युत् आपूर्ति भइरहेको कार्यकारी निर्देशक घिसिङले बताए । 

अहिले प्रणालीमा विद्युत्को उच्चतम माग एक हजार सात सय ५० मेगावाट पुगेको छ । औसत माग एक हजार तीन सय मेगावाट र आधार माग एक हजार दुई सय ७५ मेगावाट रहेको छ । तराईमा गर्मी बढ्दा खेतमा सिँचाइ गर्न सिँचाइको लोड अत्यधिक बढेको छ । झापाको दमकदेखि अनारमनी क्षेत्रको मात्र विद्युत् माग ८० मेगावाट पुगेको छ । प्राधिकरणले कुलेखानी जलाशयलाई २४सै घन्टा पूर्ण क्षमतामा चलाएको छ ।  

 लोडसेडिङको तालिका बनाउन उद्योगीको माग
उद्योगीहरू भने यो अवस्थामा लोडसेडिङको तालिका नै बनाउन माग गरेका छन् । सुक्खायामलगायतका कारण यो समयमा २४ घन्टा नै बिजुली पाउने सम्भावना रहँदैन । त्यो अवस्थामा अनौपचारिक रूपमा विद्युत् कटौती गर्नभन्दा लोडसेडिङकै तालिका बनाउनुपर्ने उनीहरूको माग छ । उद्योग संगठन मोरङका अध्यक्ष सुयेस प्याकुरेल पनि लोडसेडिङको तालिका बनाउँदा सहज हुने बताउँछन् ।

‘विद्युत् उद्योगका लागि कच्चा पदार्थ नै हो । योविना उद्योग सञ्चालन हुँदैन । तर, विनातालिका दिनदिनै लाइट काट्दा उद्योग सञ्चालनमा गाह्रो भएको छ,’ उनले भने, ‘यो अवस्थामा २४ घन्टा नै बिजुली पाउन सकिँदैन, हामी त्यो समस्या बुझ्छौँ । त्यो अवस्थामा प्राधिकरणले लोडसेडिङको तालिका दिए हामीले सोहीअनुसार उद्योग सञ्चालन गर्ने तालिका बनाउने थियाैँ ।’