१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
विलियम ए. हेसेल्टाइन
२o८१ बैशाख २० बिहीबार o८:४७:oo
Read Time : > 2 मिनेट
ad
ad
दृष्टिकोण प्रिन्ट संस्करण

भविष्यका महामारीको रोकथाम कसरी गर्ने

Read Time : > 2 मिनेट
विलियम ए. हेसेल्टाइन
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार o८:४७:oo

विश्वभर कोभिड–१९ सम्बन्धी नियमन तीव्रतासाथ घटिरहे पनि हामी अझै विगत तीन वर्षयतादेखि नै प्रभावित भइरहेका छौँ । आधिकारिक आँकडाअनुसार ६८ लाख मानिसले कोभिड–१९ का कारण ज्यान गुमाएका छन् । तथापि वास्तविक आँकडा करिब एक करोड ५० लाखआसपास हुन सक्ने देखिन्छ । अझै पनि मानिसले पीडा व्यहोरिरहेका छन् र सामाजिक एवं आर्थिक अव्यवस्था झेलिरहेका छन् । कोभिड–१९ भाइरसका अझै पनि स्पष्ट जोखिम छन्, अर्थात् पाँचमध्ये एक अमेरिकीमा ‘लङ कोभिड’का लक्षण देख्न सकिन्छ । 

दुःखद पक्ष के छ भने कोभिड–१९ जनावरबाट उत्पत्ति भई विश्वस्तरको जनसंख्यालाई तहसनहस पार्ने अन्तिम रोग होइन । असंख्य भाइरस जनावरमा फेला परेका छन् र तीमध्ये कैयौँबारे अध्ययन हुनै बाँकी छ । यीमध्ये जुनसुकै भाइरसले पनि मानिसलाई संक्रमित पार्ने सम्भावना राख्छन् । र, यदि यसो भएमा हालको विश्वव्यापीकरणको युगमा भाइरस तीव्रतासाथ फैलिनेछ ।

यो अवस्थामा कुन भाइरसले मानिसलाई सबैभन्दा बढी जोखिममा पार्छ भनेर पहिचान गर्नु मुख्य चुनौती हो । यदि हामीले सम्भावित नयाँ रोगको प्रकोपको प्रारम्भिक दिनमा भाइरस पत्ता लगाउन सक्यौँ भने हामीसँग विश्वव्यापी महामारी रोकथामका लागि आवश्यक उपाय अवलम्बन गर्ने उपयुक्त मौका हुनेछ । 

हालै प्रकाशित एक वैज्ञानिक शोधपत्रले मानवमा सम्भावित पशुजन्य भाइरसको संक्रमणका लागि आवश्यक चार महत्वपूर्ण गुण/अवस्था पत्ता लगाउन एक प्रयोगात्मक शृंखला स्थापनाको प्रस्ताव गरेको छ । जुनोसिस (प्रजातिबीच संक्रमण) गराउने सम्भावना भएका भाइरस निर्धारण गरेपछि हामी मानवमा नयाँ संक्रमणको निदान गर्ने विधिलाई द्रुत रूपमा लागू गर्न सक्छौँ । सेरोलोजी र पोलिमरेज–चेन–रियाक्सन आधारित निदान विधि विश्वभरका स्वास्थ्य–सेवामा प्रचलित सबैभन्दा व्यावहारिक निदान हुन् । तर, यी विधि चिकित्सक र वैज्ञानिकले पेथोजेन (रोगको जीवाणु) पत्ता लगाएको अवस्थामा मात्रै उपयोगी हुने गर्छ ।

कोभिड–१९ जनावरबाट उत्पत्ति भई विश्वस्तरको जनसंख्यालाई तहसनहस पार्ने अन्तिम रोग होइन, यो नै दुःखद पक्ष हो 

पशुजन्य भाइरसले निम्न चार जैविक गुण प्रदर्शन गरे ती भाइरसले मानवलाई संक्रमित पार्न सक्छन् । पहिलो, भाइरसले मानव कोषमा पहुँच पाउन मानव संस्करणको ‘सेलुलर इन्ट्री रिसेप्टर’को प्रयोग गर्नुपर्छ । दोस्रो, भाइरसले मानव कोषिकाको नक्कल गर्न र मानव कोषबाट बाहिर निस्कनका लागि मानव अन्तरकोषीय ‘इन्ट्रासेलुलर प्रोटिन’को प्रयोग गर्नुपर्छ । तेस्रो, भाइरसले मानवमा अन्तरनिहित प्रतिरक्षालाई उछिन्न सक्नुपर्छ । र, अन्त्यमा भाइरसले पहिलेदेखि रहेका मानव अनुकूलन प्रतिरोधात्मक एन्टिबडी, टि सेललगायतका प्रकार्यलाई प्रतिस्थापित गर्न सक्नुपर्छ । नयाँ परीक्षणले उल्लिखित विशेषता भएका पशुजन्य भाइरसलाई केन्द्रमा राख्नुपर्छ । यस्ता परीक्षणलाई क्षेत्रीय रूपमा समूहबद्ध गर्न सकिन्छ, जसलाई असामान्य मानवीय रोगको निदानका लागि प्रयोग गर्न सकिनेछ । र, यसले स्वस्थ जनसंख्याका लागि भाइरस–निगरानीमा पनि सहयोग पुर्‍याउनेछ ।

पहिलो जुनोटिक गुण अर्थात् मानव कोषमा पहुँच पाउने क्षमताको अध्ययन गर्न सजिलो नै छ किनभने हामीले पशु भाइरसको सतहको प्रोटिनलाई रिपोर्टर भाइरसमा इन्जिनियरिङ गरेर परीक्षण गर्न सक्छौँ (रिपोर्टर भाइरस अनुसन्धान एवं निगरानी प्रयोजनका लागि प्रयोगशालामा प्रयोग गरिने पुनरुत्पादन क्षमता नभएको क्षति नगर्ने भाइरस हो) । 

दोस्रो गुण अर्थात् भाइरसले आफैँलाई तीव्र रूपमा पुनरुत्पादन गर्ने गुणमा विभिन्न अन्तरकोषीय प्रोटिनबीच जटिल अन्तर्क्रिया आवश्यक पर्छ । त्यसकारण एउटा मात्रै प्रतिकूलताले पशुजन्य भाइरस मानव कोषमा फैलिन सक्दैन । तेस्रो गुण अर्थात् पशुजन्य भाइरसले मानवमा अन्तर्निहित प्रतिरोधी क्षमतालाई उछिन्न सक्ने विषयमा खासै अध्ययन भएको छैन ।

मानव कोषको प्रतिरोध प्रक्रिया अन्तरकोषीय वातावरणको सिर्जनाबाट हुन्छ । अन्तरकोषीय वातावरणले संक्रामक भाइरसलाई रोक्छ र प्रतिरोध प्रक्रियाको अनुकूलन व्यवस्थालाई भाइरसबारे जानकारी दिन्छ । यसबारे थप अध्ययन आवश्यक देखिन्छ । उदाहरणका लागि इबोला भाइरस मानव कोषमा पुनरुत्पादन हुन्छन्, तर बिरलै संक्रामक हुन्छन् भन्ने तथ्यको अध्ययन हुन आवश्यक छ ।

अन्तिम गुण भाइरसले पहिलेदेखि नै रहेका मानव अनुकूलन प्रतिरोधात्मक एन्टिबडी, टि सेललगायत प्रकार्यलाई निष्प्रभावी बनाउनु हो । यी एन्टिबडी, टि सेलले मानव शरीरमै भाइरसविरुद्ध कसरी लड्छन् भनेर परीक्षण गर्न सकिन्छ तर भाइरसविरुद्धको कति प्रतिरोधले सम्भावित घातक पशुजन्य भाइरसको संक्रमणबाट जोगिन सकिन्छ भन्नेमा निश्चिन्तता छैन । 

सुरुवातमै प्रकोप पत्ता लगाउन चिकित्सक र वैज्ञानिक मानव जनसंख्यामा पशुजन्य भाइरसको अनुगमन गर्न सक्षम हुनुपर्छ । तर, हाम्रो स्वास्थ्य व्यवस्थाले पहिलेदेखि पत्ता लागेका भाइरसको परीक्षण गर्ने सामथ्र्य पनि राख्दैन । हामीलाई तुरुन्तै विश्वव्यापी एवं पहुँचयोग्य स्वास्थ्य सेवा आवश्यक छ । यसप्रकारको व्यवस्थाले भाइरस निगरानीमा बल पुर्‍याउनेछ । 

भाइरस निगरानीका लागि आवश्यक बृहत् निगरानी संहिता र बलियो स्वास्थ्य सेवाका अतिरिक्त हामीले पशु सिर्जित भाइरसको सिर्जना गर्ने वनविनाश, वन्यजन्तु पैठारी र जलवायु परिवर्तनका मुद्दाको पनि सम्बोधन गर्नुपर्छ । बृहत् महामारी रोकथाम निश्चय नै खर्चिलो हुनेछ, तथापि यो खर्च रोकथाम नगर्दा हुने क्षतिको तुलनामा निकै कम हो । बढ्दो जनसंख्या, फैलिँदो सहरीकरण, प्रकृतिको अतिक्रमण र निरन्तर रूपमा चलिरहने हवाई यात्राले महामारीको सम्भावना सधैँ रहिरहनेछ । केही संक्रमण देखिन पनि थालिसकेका छन् । अमेरिका र विश्वका अन्य हिस्सामा चराहरूमा देखिएका अत्यधिक घातक इन्फ्लुएन्जालाई खतराको संकेतका रूपमा लिनुपर्छ । अर्थात् हामीले जहिल्यै नयाँ महामारी सोचेकोभन्दा चाँडै आउनेछ भनेर सचेत हुन जरुरी छ । 
(हेसेल्टाइन जैविक प्रविधि वैज्ञानिक एवं उद्यमी हुन्) प्रोजेक्ट सिन्डिकेटबाट
 

ad
ad