काठमाडौं महानगरले ल्यान्डफिल्ड साइट प्रभावित क्षेत्र सिसडोल र बन्चरेडाँडाको वातावरणीय अध्ययन गर्ने भएको छ । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)को प्राविधिक सहयोगमा फोहोर प्रभावित क्षेत्रको विस्तृत वातावरणीय अध्ययन र मूल्यांकन गर्न लागिएको हो ।
ल्यान्डफिल्ड साइटको फोहोरको असर कहाँसम्म छ, प्रदूषणको मात्रा कति छ, फोहोरबाट निस्कने झोल (लिच्चड) खानेपानी र खोलामा मिसिएको छ–छैन, खेतीपातीलगायत कृषिजन्य कार्यमा यसको असरलगायत विषयलाई मध्यनजर गर्दै नास्टले अध्ययन गर्न लागेको हो । नास्टले आफ्नो वैज्ञानिक र उपकरणको सहायताले फोहोर फाल्ने क्षेत्रको अध्ययन गर्न लागेको नास्टका वैज्ञानिक रवीन्द्र ढकालले जानकारी दिए । उनका अनुसार सिसडोल र बन्चरेडाँडा क्षेत्रको हावामा कति प्रतिशत प्रदूषण छ, वातावरणीय हिसाबमा त्यहाँ मानव बस्ती राख्न मिल्छ–मिल्दैन भन्नेबारे पनि अध्ययन हुनेछ । ‘हामीसँग वातावरणीय क्षेत्रको अध्ययनका लागि आवश्यक वैज्ञानिक र उपकरण छन्,’ उनले भने, ‘महानगरले आग्रह गरेपछि पहिलोपटक यसरी अध्ययन गर्न लागिएको हो ।
रविनमान श्रेष्ठ, प्रमुख, वातावरण विभाग, काठमाडौं महानगर
स्थानीयकै मागअनुसार प्रभावित क्षेत्रको वातावरणीय अध्ययन गर्न लागिएको हो । यो अध्ययनपछि त्यहाँको वातावरण, कृषि उत्पादन, मानव स्वास्थ्य, खानेपानी, माटोलगायतको अवस्थाबारे थाहा हुनेछ ।
प्रभावित क्षेत्रको वातावरणीय अध्ययनबारे मंगलबार नास्ट र महानगरबीच छलफल भएको थियो । नास्टका सचिव डा. महेश अधिकारी, वैज्ञानिक रवीन्द्र ढकाल, महानगरका वातावरण विभाग प्रमुख रविनमान श्रेष्ठलगायतको सहभागितामा सम्पन्न भएको बैठकमा एक साताभित्र अध्ययन थाल्ने निर्णय भएको छ ।
स्थानीयवासीको मागअनुसार वातावरणीय अध्ययन हुँदै
ल्यान्डफिल्ड साइट क्षेत्रमा फोहोर क्यापिङ नगर्दा त्यसको गन्ध आसपासका बस्तीमा फैलने गरेको गुनासो छ । फोहोरको गन्ध, धुलोधुवाँ र टिपर आतंकबाट हैरानी खेप्दै आएको स्थानीयवासीको गुनासो छ । स्थानीयले नै माग गरेअनुसार प्रभावित क्षेत्रको वातावरणीय अध्ययन गर्न लागिएको महानगरका वातावरण विभाग प्रमुख रविनमान श्रेष्ठले जानकारी दिए । उनका अनुसार यो अध्ययनले त्यहाँको वातावरण, कृषि उत्पादन, मानव स्वास्थ्य, खानेपानी, माटोलगायतको अवस्थाबारे थाहा हुनेछ ।
यसअघि प्रभावित क्षेत्रका स्थानीयले वातावरणीय अध्ययनको माग गर्दै फोहोर ढुवानीमा अवरोध पनि गरेका थिए । सोहीअनुसार महानगरले अध्ययनको योजना अघि बढाएको विभाग प्रमुख श्रेष्ठले बताए । ‘फोहोर प्रभावित क्षेत्रको वातावरणीय र कृषिको अवस्थाबारे राम्ररी अध्ययन भएको छैन,’ उनले भने, ‘त्यसकारण पनि यसपटक अध्ययन गर्न थालेका हौँ ।’ नास्टको टोलीले अध्ययन गरेका आधारमा समस्या समाधान गर्ने जिम्मा महानगरको हो । महानगरले प्रभावित क्षेत्रमा काम गर्नका लागि यो अध्ययन अत्यावश्यक रहेकोले नास्टसँग सहयोग मागिएको विभाग प्रमुख श्रेष्ठको भनाइ छ । यदि फोहोरका कारण कृषि उत्पादनमा असर परेको रहेछ भने महानगरले स्थानीयको खेतीयोग्य जमिन र उत्पादनका आधारमा क्षतिपूर्ति दिनेछ । लिच्चडको प्रभावकारी व्यवस्थापनका लागि केमिकल राख्ने, आसपासमा नगनाउने गरी फोहोर व्यवस्थापनको रणनीति बनाउने महानगरको योजना छ ।
बन्चरेडाँडा र सिसडोलमा तीन सयभन्दा धेरै घरधुरी
हाल फोहोर व्यवस्थापन हुँदै आएको बन्चरेडाँडा पुरानो ल्यान्डफिल्ड साइट सिसडोलभन्दा केही टाढा छ । तर, त्यस क्षेत्रमा पनि बस्ती भएकाले वरपरका बासिन्दालाई फोहोरको असर पर्ने गरेको छ । महानगरको तथ्यांकअनुसार सिसडोल र बन्चरेडाँडावरपर तीन सयभन्दा धेरै घरधुरी छन् । त्यस क्षेत्रमा फोहोरबाट निस्किने दुर्गन्ध, रसायन र विभिन्न घातक ग्यासले स्थानीयको स्वास्थ्यमा असर पार्ने गरेको छ ।
फोहोर क्यापिङ गर्न नयाँ डोजर खरिद गरिँदै
महानगरले फोहोर क्यापिङ गर्न नयाँ डोजर किन्न लागेको छ । दैनिक रूपमा फोहोर क्यापिङ गर्नुपर्ने भएकाले उक्त कार्यका लागि एउटा डोजर किन्ने तयारी भएको वातावरण विभागका प्रमुख श्रेष्ठको भनाइ छ । ‘अहिले फोहोर क्यापिङ गर्न हामीसँग डोजर छैन, त्यसको स्थानीयले विरोध गरिरहेका छन्,’ उनले भने, ‘त्यसकारण नयाँ डोजर किनेर फोहोर क्यापिङ गर्ने योजना छ ।’
प्रभावित क्षेत्रका किसानको बालीनालीमा हुने क्षति कम गर्न महानगरले स्प्रे पम्प वितरण गर्ने भएको छ । फोहोरका कारण खेतीपातीमा किरा लाग्ने, डढेलो लाग्नेजस्ता समस्या देखिएका छन् ।
स्थानीयवासीले कीटनाशक औषधि छर्कन पम्प र बिउबिजन माग गरेपछि महानगरले पम्प उपलब्ध गराउने तयारी गरेको हो । यसबाहेक करिब दुई सय घरपरिवारले फोहोरको प्रदूषणका कारण खेतीपाती हुन छाडेको भन्दै त्यसबराबरको क्षतिपूर्ति महानगरसँग मागसमेत गरेका छन् । यसबाहेक हाल काठमाडौं महानगरले फोहोर प्रभावित क्षेत्रका बासिन्दाको स्वास्थ्यको बिमा कार्यक्रम सकाएको छ । धुनिबेँशी र ककनी नगरपालिकालाई आर्थिक रकम दिएर महानगरले प्रभावित क्षेत्रका स्थानीयको स्वास्थ्य बिमा गर्न लगाएको हो । बिमा गर्दा एक परिवारबराबर तीन हजार पाँच सय रुपैयाँ लाग्ने गर्छ । यसमा महानगर आफैँले खर्च गरेको छ ।
ढुवानीमा टाइमकार्ड
स्नाथीयले फोहोर ढुवानीमा समत तोक्न माग गरेपछि महानगरले बन्चरेडाँडातर्फ फोहोर बोक्ने सवारीसाधनको टाइमकार्ड तोकेको छ । बिहान ६ बजेदेखि दिउँसो दुई बजेसम्म फोहोर व्यवस्थापन गर्न फोहोर व्यवस्थापनको जिम्मा लिएका निजी कम्पनी र महानगरका कन्टेनरलाई निर्देशन दिइएको छ ।