समय बित्दै जाँदा भाइरसको स्पाइक प्रोटिनमा आइरहेको उत्परिवर्तनपछि ल्याइएको कोभिड बाइभेलेन्ट खोपको प्रभावकारिता मोनोभेलेन्ट खोपभन्दा न्यून देखिएको छ । मोनोभेलेन्ट अर्थात् सुरुवातमा भाइरसको एउटा स्ट्रेनबाट बनाइएको भ्याक्सिनको तुलनामा एकभन्दा बढी भाइरससँग जुध्न सक्ने गरी उत्पादन गरिएको बाइभेलेन्ट खोपको प्रभावकारिता कम भएको पाइएको हो ।
एमआरएनए बाइभेलेन्ट भ्याक्सिन गत अगस्टमा अमेरिकी फुड तथा ड्रग एडमिन्स्ट्रेसनले प्रयोगका लागि अनुमति दिएको थियो । क्लिनिकल ट्रायलमा देखिएको प्रभावकारिताका आधारमा अनुमति दिइएको यी भ्याक्सिनको प्रभावकारिता अस्पताल भर्नादर र मृत्युको जोखिमविरुद्ध कम देखिएको अध्ययनले देखाएका हुन् । दी ल्यान्सेट इन्फेस्कियस डिजिजले गत बिहीबार प्रकाशित गरेको अध्ययनले बाइभेलेन्ट डोजको प्रभावकारिता समुदायस्तरमा कम देखिएको उल्लेख गरेको छ ।
द ल्यान्सेट संक्रामक रोगका अध्ययनकर्ता रोनेन अर्बेल र उनका सहकर्मीले गम्भीर कोभिडका परिणाम रोक्न बाइभ्यालेन्ट भ्याक्सिनको बुस्टर डोजको प्रभावकारिता मूल्यांकन गर्ने उद्देश्यले गरेको अध्ययनको निष्कर्षमा भ्याक्सिनको प्रभावकारिता कम भएको बताएका छन् । उनीहरूले खोपको प्रभावकारिता जाँच्न पाँच लाख ५९ हजार पाँच सय १९ जना सहभागी गराएका थिए । जसमध्ये एक लाख ३४ हजारमा मात्र खोप लगाएर बाँकी सहभागीसँग तुलना गरिएको थियो ।
फाइजरको बायोटेक बाइभेलेन्ट एमआरएनए भ्याक्सिनमा गरिएको उक्त अध्ययनले अस्पताल भर्नाविरुद्ध समायोजित जोखिम अनुपात ०.२८ भएको पाएको थियो । जसले ७२ प्रतिशतको सापेक्ष खोप प्रभावकारिता जनाउँछ । यस्तै, संक्रमणबाट मृत्युविरुद्ध समायोजित ०.३२ अर्थात् ६८ प्रतिशत सापेक्ष खोप प्रभावकारिता देखाएको थियो । जब कि सुरुवातमा फाइजरको मोनोभेलेन्ट खोपको प्रभावकारिता क्लिनिकल ट्रायलमा ९५ प्रतिशत देखाएको थियो । पछि त्यसको प्रभावकारिता घट्न थाले पनि दुईवटा एमआरएनए कम्पोनेन्ट राखेर बाइभेलेन्ट खोप उत्पादन गरिएको थियो ।