मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० मङ्सिर १६ शनिबार
  • Saturday, 02 December, 2023
मञ्जु टेलर काठमाडाैं
२०७९ चैत २८ मंगलबार ०६:१७:००
Read Time : > 5 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

धेरै नेपालीलाई अस्पताल पुर्‍याउने प्रमुख रोग श्वासप्रश्वास, ग्यास्ट्राइटिस र टाउको दुखाइ

Read Time : > 5 मिनेट
मञ्जु टेलर, काठमाडाैं
२०७९ चैत २८ मंगलबार ०६:१७:००

सरकारी तथ्यांकअनुसार ०७८/७९ मा श्वासप्रश्वासको समस्याले २६ लाख ८७ हजार ४४१, टाउको दुखाइबाट १८ लाख ११ हजार ७५३ र ग्यास्ट्राइटिसपीडित १६ लाख २८ हजार ६९ बिरामी पुगे अस्पताल

सरुवाभन्दा नसर्ने रोगको विस्तार झन् भयावह बन्दै गएको छ । पछिल्ला केही वर्षको तथ्यांक हेर्ने हो भने अधिकांश बिरामी अस्पताल भर्नाको प्रमुख कारण नै नसर्ने रोग बनेका छन् । 

सबैभन्दा धेरैलाई सताउने रोगमा श्वासप्रश्वासमा समस्या, टाउको दुखाइ र ग्यास्ट्राइटिस देखिएका छन् । स्वास्थ्य सेवा विभागको एकीकृत स्वास्थ्य सूचना प्रणालीको तथ्यांकअनुसार आर्थिक वर्ष ०७८/७९ मा सबैभन्दा धेरै श्वासप्रश्वाससँग सम्बन्धित बिरामी अस्पताल पुगेका छन् । अपर रेस्पिरेटोरी ट्र्याक इन्फेक्सन भएर १६ लाख ३८ हजार आठ सय पाँच तथा एक्युट रेस्पिरेटोरी इन्फेक्सन भएर १० लाख ४८ हजार ६ सय ३६ जना अस्पताल पुगेका थिए । त्यस्तै, १८ लाख ११ हजार सात सय ५३ जना टाउको दुखाइ र १६ लाख २८ हजार ६९ बिरामी ग्यास्ट्राइटिससँग सम्बन्धित समस्या लिएर अस्पताल पुगेको विभागको तथ्यांक छ । 

त्यसअघिका तीन आर्थिक वर्ष ०७७/७८, ०७६/७७ र ०७५/७६ मा पनि यिनै तीन प्रकारका नसर्ने रोगका बिरामी धेरै देखिएका छन् । ०७७/७८ मा अपर रेस्पिरेटोरी ट्र्याक इन्फेक्सन भएर १३ लाख ६२ हजार दुई सय १९ तथा एक्युट रेस्पिरेटोरी इन्फेक्सन भएर नौ लाख १७ हजार एक सय ३२ जना अस्पताल पुगेका थिए । त्यस्तै, ०७६/७७ मा अपर रेस्पिरेटोरी ट्र्याक इन्फेक्सनका १५ लाख ४७ हजार आठ सय ५५ र एक्युट रेस्पिरेटोरी इन्फेक्सनका १० लाख ७३ हजार दुई सय ११ बिरामी अस्पताल पुगेका थिए । त्यस्तै, ०७५/७६ मा पनि सबैभन्दा धेरै अपर रेस्पिरेटोरी ट्र्याक इन्फेक्सनका १३ लाख ३५ हजार ३१ र एक्युट रेस्पिरेटोरी इन्फेक्सनका नौ लाख ४८ हजार आठ सय ८८ बिरामी अस्पताल पुगेको विभागको तथ्यांक छ । 

धूम्रपान, आगोमा खाना पकाउँदाको धुवाँ, तीव्र सहरीकरण, पूरा सवारीसाधनको प्रयोगबाट निस्किने प्रदूषणलगायतले श्वासप्रश्वासमा संक्रमण निम्त्याउने गरेको छातीरोग विशेषज्ञ डा. नीरज बम बताउँछन् । ‘वातावरण नै प्रदूषित भएपछि श्वासप्रश्वासमा समस्या विकराल बनेको छ । जहाँ बसे पनि श्वास त फेर्नैपर्छ, प्रदूषण एक व्यक्तिको नियन्त्रणमा हुँदैन । धूम्रपान गर्ने, धुवाँधुलोमा रहेर काम गर्ने, आगोमा खाना पकाउनेहरूमा मात्र नभई यसको असर नजिकका अन्य व्यक्तिलाई समेत पर्छ,’ उनले भने, ‘श्वासनलीमा संक्रमण हुँदा नै उपचार गराएर फोक्सोसम्म संक्रमण फैलिनबाट जोगाउन सकिन्छ, तर संक्रमणले दम, निमोनिया, आस्थामालगायत समस्या विकसित भइसक्दासमेत अस्पताल नपुग्ने अर्को समस्या छ ।’ 

०७८/७९ मा टाउको दुखाइका बिरामीको चाप दोस्रो नम्बरमा रहेकामा ०७७/७८ मा उक्त स्थान ग्यास्ट्राइटिसका बिरामीले लिएका छन् । देशभरका स्वास्थ्य संस्थामा उपचारका लागि पुगेका बिरामीको तथ्यांकअनुसार सोही वर्ष १४ लाख ६७ हजार एक सय ८७ बिरामीमा ग्यास्ट्राइटिससम्बन्धी समस्या देखिएको हो । त्यस्तै, ०७६/७७ र ०७५/७६ मा पनि दोस्रो नम्बरमा ग्यास्ट्राइटिसकै बिरामी क्रमशः १५ लाख ३५ हजार नौ सय ३४ र १३ लाख ४१ हजार आठ सय ८५ जना अस्पताल पुगेको विभागको तथ्यांक छ । 

यी वर्षहरूमा धेरै बिरामी अस्पताल पुर्‍याउने तेस्रो रोग देखिएको छ टाउको दुखाइ । ०७७/७८ मा १३ लाख ५६ हजार चार सय ७५, ०७६/७७ मा १२ लाख ९० हजार नौ सय ३० र ०७५/७६ मा ११ लाख ४२ हजार दुई सय ३९ जना टाउको दुखाइको समस्या लिएर अस्पताल पुगेका थिए । 

स्नायुरोग विशेषज्ञ डा. दीपेश शाक्य एक लक्षणको रूपमा देखिने टाउको दुखाइ विभिन्न रोगको संकेत हुन सक्ने बताउँछन् । शारीरिक र मानसिक तनाव, शरीरमा पानीको कमी, स्नायुमा समस्या र माइग्रेन टाउको दुख्ने प्रमुख कारण देखिने उनले बताए । ‘टाउको दुखाइ सामान्य लक्षण मानिए पनि दुखाइको अवस्था, दुख्ने समय र ठाउँ आदिका आधारमा जटिलतासमेत फरक हुन्छ । हालसम्मका अध्ययनले डेढ सयभन्दा धेरै किसिमको टाउको दुखाइ हुने देखाएको छ,’ डा. शाक्यले भने, ‘पछिल्ला वर्षहरूमा कोभिड महामारी र यसले निम्त्याएको तनावलाई समेत टाउको दुखाइ बढ्नुको कारण मानिएको छ । तर, माइग्रेनबाहेकका अन्य दुखाइलाई पेनकिलरको प्रयोगबाट नियन्त्रणमा राख्ने गरिन्छ ।’

उच्च रक्तचाप, ढाड दुखाइ, छालामा संक्रमण र हाडजोर्नीमा समस्या निम्तिने बिरामीको चाप पनि अस्पतालमा अग्रपंक्तिमा छ । ०७८/७९ मा नौ लाख ७१ हजार एक सय ८२ जना हाडजोर्नीको समस्या, आठ लाख आठ हजार आठ सय २८ जना ढाड दुखाइ, सात लाख ९५ हजार ८७ उच्च रक्तचाप र सात लाख ३५ हजार २२ जना छालासम्बन्धी रोग लिएर अस्पताल भर्ना भएको सरकारी तथ्यांकले देखाउँछ । त्यस्तै, ०७७/७८ मा हाडजोर्नीको समस्या लिएर १० लाख ६१ हजार ६७, छालाको संक्रमण भएका सात लाख २७ हजार ६ सय ६९, ढाड दुखेर ६ लाख ७७ हजार चार सय २० र उच्च रक्तचापका ६ लाख ५७ हजार एक सय ६३ बिरामी अस्पताल पुगेका छन् । ०७६/७७ मा पनि हाडजोर्नीको समस्या भएका १० लाख १० हजार सात सय २२, उच्च रक्तचापका सात लाख ४१ हजार पाँच सय ८२, छालाको संक्रमण भएका ६ लाख ८७ हजार आठ सय ७२ र ढाड दुखाइका ६ लाख ६१ हजार तीन सय ४५ बिरामी अस्पताल पुगेको तथ्यांक छ । त्यस्तै, ०७५/७६ मा हाडजोर्नीको समस्या लिएर नौ लाख १३ हजार नौ सय नौ, ढाड दुख्ने समस्या लिएर पाँच लाख ५९ हजार तीन सय २७ र छालाको संक्रमण भएका पाँच लाख ५७ हजार तीन सय ४२ बिरामी अस्पताल पुगेको सरकारी तथ्यांक छ । 

उच्च रक्तचापको कनेक्सन अन्य रोगसँग पनि हुन्छ, जुन समस्या भएका बिरामीको दर पनि उच्च नै देखिन्छ । मुटुरोग विशेषज्ञ डा. अरुण मास्के प्रारम्भिक चरणमै औषधि सेवन गर्न नमान्दा हाइपरटेन्सनको समस्या जटिल बन्दै गएको बताउँछन् । ‘थप निम्तिन सक्ने जटिलता रोक्न नियमित औषधि सेवन गरेर रक्तचाप नियन्त्रण गर्नुपर्छ, तर बिरामीले समस्या थाहा पाएरसमेत औषधि खान मान्दैनन्,’ उनले भने, ‘सामान्य लक्षणलाई बेवास्ता गर्दा अधिकांशमा जटिलता देखिने गरेको छ ।’ उनका अनुसार अस्वस्थ जीवनशैली अर्थात् शारीरिक रूपमा सक्रिय नहुने, शारीरिक व्यायामको कमी, दिनभरिजसो कम्प्युटरमा बसेर काम गर्ने वा निहुरिएर बस्ने, अनियमित निद्राजस्ता कारणले रक्तचापको समस्या बढाइरहेको छ । साथै अल्कोहल र निकोटिनको बढ्दो प्रयोग, प्रशोधित खाद्यपदार्थको प्रयोगले पनि यसमा बढावा दिइरहेको छ । अस्वस्थ दैनिकीले निम्त्याइरहेको मोटोपन, मधुमेहजस्ता समस्याले समेत उच्च रक्तचापलाई सहयोग गरिरहेको छ । 

कोभिड महामारीबाहेक डेंगु, झाडापखालाजस्ता सर्ने रोगहरू मौसमी रूपमा देखिने भए तापनि वर्षभरिको तथ्यांक हेर्दा नसर्ने रोगबाट बढी जनसंख्या प्रभावित भइरहेको चिकित्सक बताउँछन् । चिकित्सक डा. बाबुराम मरासिनी धूम्रपान, आगो बाल्दा निस्कने धुवाँ र बाहिरी प्रदूषणका कारण पुरानो दमखोकीका बिरामी जाडो समयमा बढी प्रभावित भएर अस्पताल पुग्छन् । त्यस्तै, जाडोयाममै रक्तचाप गडबड हुने, हाडजोर्नी दुख्ने र यसले निम्त्याउने लक्षणहरूले समेत अस्पताल पुग्नेको संख्या बढाउँछ । चाडबाडको समयमा अस्वस्थ खानपान र कामको प्रकृति पनि स्वस्थ नहुँदा नसर्ने रोगबाट प्रभावितको संख्या सधैँ उच्च देखिन्छ । उनी भन्छन्, ‘बर्खामा फोहोर पानीको प्रयोगबाट झाडापखाला, आउँ, जन्डिसजस्ता समस्या एकैचोटि बढ्छन्, जाडो मौसममा संक्रामक रोग नदेखिने र नसर्ने रोगको जोखिम रहिरहने भएकाले यस्ता रोगबाट प्रभावित हुने संख्या ठूलो छ ।’ 

यसबाहेक अस्वस्थ खानपान, तनावपूर्ण जीवनशैली, मेडिकलबाट किनेर जथाभावी औषधिको प्रयोग आदि कारणले नसर्ने रोगको जोखिम उच्च रहेको डा. मरासिनीको बुझाइ छ । ‘श्वासप्रश्वाससम्बन्धी समस्या पहिलेदेखि नै अगाडि देखिन्छ । अन्तर्राष्ट्रिय अध्ययनहरूले समेत भान्सामा दाउराको प्रयोग, धूम्रपानको खुला प्रयोगजस्ता कारणले बालबालिकामै रुघाखोकी, दम र फोक्सोमा समस्या देखिने गरेको निष्कर्ष निकालेका थिए । हाल सहरी क्षेत्रमा बढ्दो भिडभाड र प्रदूषणसमेत यसको अर्को कारण बनेको छ,’ उनले भने । 

यी रोगका बिरामी पनि धेरै
उच्च रक्तचाप, ढाड दुखाइ, छालाको संक्रमण र हाडजोर्नीको समस्याले पनि धेरै नेपालीलाई अस्पताल पुर्‍याउँछ । स्वास्थ्य सेवा विभागको तथ्यांकअनुसार ०७८/७९ मा नौ लाख ७१ हजार १८२ जना हाडजोर्नीको समस्या, आठ लाख आठ हजार ८२८ जना ढाड दुखाइ, सात लाख ९५ हजार ८७ उच्च रक्तचाप र सात लाख ३५ हजार २२ जना छालासम्बन्धी रोग लिएर अस्पताल भर्ना भएका थिए । 

सामान्य अवस्थामै औषधि खान नमान्दा उच्च रक्तचापले जटिलता निम्त्याउँदै छ : डा. अरुण मास्के, मुटुरोग विशेषज्ञ
सामान्य लक्षणलाई बेवास्ता गर्दा अधिकांशमा जटिलता देखिने गरेको छ । अस्वस्थ जीवनशैली अर्थात् शारीरिक रूपमा सक्रिय नहुने, शारीरिक व्यायामको कमी, दिनभरिजसो कम्प्युटरमा बसेर काम गर्ने वा निहुरिएर बस्ने, अनियमित निद्राजस्ता कारणले रक्तचापको समस्या बढाइरहेको छ । साथै अल्कोहल र निकोटिनको बढ्दो प्रयोग, प्रशोधित खाद्यपदार्थको प्रयोगले पनि यसमा बढावा दिइरहेको छ । अस्वस्थ दैनिकीले निम्त्याइरहेको मोटोपन, मधुमेहजस्ता समस्याले समेत उच्च रक्तचापलाई सहयोग गरिरहेको छ । नेपालमा वयस्क जनसंख्याको २० देखि २५ प्रतिशतलाई उच्च रक्तचापको समस्या छ, जुन सामान्य होइन । औषधिको प्रयोगबाट यसलाई नियन्त्रण गर्न सकिने भए पनि त्यसलाई बेवास्ता गर्दा हृदयाघात, स्ट्रोक, मिर्गौला फेलजस्ता जटिलता बढ्दो छ । थप निम्तिन सक्ने जटिलता रोक्न नियमित औषधि सेवन गरेर रक्तचाप नियन्त्रण गर्नुपर्छ, तर बिरामीले समस्या थाहा पाएरसमेत औषधि खान मान्दैनन् । 

श्वासप्रश्वासले निम्त्याउने समस्या कुनै एक व्यक्तिको नियन्त्रणमा छैन : डा. नीरज बम, छातीरोग विशेषज्ञ 
धूम्रपान, आगोमा खाना पकाउँदा निस्कने धुवाँधुलो, तीव्र सहरीकरण, पुराना सवारीसाधनको प्रयोगजस्ता कारण निम्तिने प्रदूषणले श्वासप्रश्वासमा संक्रमण गराउँछ । विभिन्न कारणले वातावरणमा थुप्रिँदै गएको प्रदूषणले जन्मिने ब्याक्टेरियाले पनि श्वासप्रश्वासमा समस्या निम्त्याउने गरेका छन् । जहाँ बसे पनि श्वास त फेर्नैपर्छ, तर प्रदूषणको समस्या व्यक्तिको नियन्त्रणमा हुँदैन । श्वासनलीमा संक्रमण हुँदा नै उपचार गराए फोक्सोसम्म संक्रमण पुग्न पाउँदैन । तर, दम, निमोनिया, आस्थामालगायत समस्या भइसक्दासमेत उपचारका लागि अस्पताल नपुग्ने समस्याले थप जटिलता निम्त्याउने गरेको छ । 

टाउको दुखाइ एक लक्षण हो, जुन विभिन्न रोगको संकेत हुन सक्छ : डा. दीपेश शाक्य, वरिष्ठ स्नायुरोग विशेषज्ञ 
टाउको दुखाइ सामान्य लक्षण मानिए पनि दुखाइको अवस्था, दुख्ने समय र ठाउँ आदिका आधारमा जटिलतासमेत फरक हुन्छ । यो एक लक्षण हो जुन विभिन्न रोगको संकेत हुन सक्छ । हालसम्मका अध्ययनले डेढ सयभन्दा धेरै किसिमको टाउको दुखाइ हुने देखाएको छ । शारीरिक र मानसिक तनाव, शरीरमा पानीको कमी, स्नायुमा समस्या र माइग्रेन टाउको दुख्ने प्रमुख कारण हुन् । पछिल्ला वर्षहरूमा कोभिड महामारी र यसले निम्त्याएको तनावलाई समेत टाउको दुखाइ बढ्नुको कारण मानिएको छ ।