१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
श्रवण थापा काठमाडाैं
२०७९ चैत १४ मंगलबार ०७:१३:००
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

इन्दुशंकर चिनी उद्योगद्वारा २८ लाख क्विन्टल उखु क्रसिङ

Read Time : > 1 मिनेट
श्रवण थापा, काठमाडाैं
२०७९ चैत १४ मंगलबार ०७:१३:००

इन्दुशंकर चिनी उद्योग हरिवनले चालू सिजनमा २८ लाख क्विन्टल उखु क्रसिङ गरेको छ । ५ पुसबाट उखु क्रसिङ गरेको उद्योगले १० चैत रातिबाट क्रसिङ बन्द गरेको छ । ९३ दिन सञ्चालनमा रहेको उद्योगले कुल २८ लाख ३१ हजार सात सय पाँच क्विन्टल उखु क्रसिङ गरेको उद्योगका प्रशासकीय प्रमुख ठाकुर नेपालले जनाकारी दिए । 

उद्योगले यो वर्ष ३० लाख क्विन्टल उखु क्रसिङ गर्ने लक्ष्य राखेको थियो । उखुखेती घटेका कारण उत्पादन कम भएकाले लक्ष्यअनुसार क्रसिङ गर्न नसकेको उनले बताए । उद्योगका उखु प्रबन्धक योगनारायण रजकले किसानको खेतमा उखु सकिएपछि मिल बन्द गर्नुपरेको बताए । ‘मिलगेट एरियाको उखु सकेर मिल बन्द गरेका छौँ,’ उनले भने, ‘किसानको उखुको भुक्तानी पनि धमाधम भइरहेको छ । फागुन १५ सम्मको झन्डै ८५ करोड रुपैयाँ भुक्तानी भइसकेको छ ।’ बाँकी रकम पनि निर्धारित तालिकाबमोजिम चैत महिनाभित्रै भुक्तानी दिइसक्ने उनले बताए ।

जिल्लाका अन्य चिनी उद्योगले वर्षौँसम्म किसानको पैसा भुक्तानी नदिएको गुनासो आए पनि इन्दुशंकरले भने भुक्तानी गर्दै आइरहेको छ । सरकारले यो वर्ष उखुको प्रतिक्विन्टल मूल्य ६ सय १० रुपैयाँ कायम गरेको छ । त्यसमा उद्योगीले पाँच सय ४० रुपैयाँ भुक्तानी दिनुपर्नेछ भने बाँकी ७० रुपैयाँ सरकारले अनुदानबापत उपलब्ध गराउनेछ ।

जिल्लामा सञ्चालनमा रहेका तीनवटा चिनी उद्योगमध्ये अन्नपूर्ण चिनी उद्योग धनकौल र महालक्ष्मी चिनी उद्योग बगदह यसअघि नै बन्द भइसकेका छन् । अन्नपूर्ण चिनी उद्योगले प्राविधिक कारण देखाउँदै उद्योग बन्द गरेको थियो भने गोडैता नगरपालिकास्थित बगदहमा रहेको महालक्ष्मी चिनी उद्योगले पनि उखु नपाएपछि छिट्टै उद्योग बन्द गरेको थियो ।

 दुवै उद्योगबाट थोरै किसानले मात्र भुक्तानी पाएको तथा अधिकांशले यस सिजनको समेत भुक्तानी नपाएको गुनासो गर्न थालेका छन् । उद्योग बन्द गरेर उद्योगपतिहरू सम्पर्कविहीन भएका भन्दै किसानहरू चिन्तित बनेका छन् ।