
राष्ट्रिय सभा सदस्य वामदेव गौतमले दलित समुदायलाई जातको आधारमा आरक्षण दिँदासम्म उनीहरूमाथि भएको उत्पीडनको अन्त्य नहुने बताएका छन् ।
शुक्रबार राष्ट्रिय सभाअन्तर्गतको दिगो विकास तथा सुशासन समितिको बैठकमा बोल्दै गौतमले जातको आधारमा आरक्षण दिन नहुने धारणा राखे । दलित भनेर प्रतिनिधित्व पनि गराउन नहुने उनको तर्क छ ।
‘आफूले आफैँलाई उत्पीडित भनेर जनप्रतिनिधित्व हुन्छ । कसरी प्रतिनिधित्व गर्नुभयो तपाईं भन्यो भने म दलित समुदायबाट प्रतिनिधित्व गरेको हुँ भनेपछि अब त्यो समुदायचाहिँ दलित भइरहनुपर्याे । तब न प्रतिनिधित्व हुन्छ । त्यसबाट मुक्त हुने व्यवस्था यसले गर्दै गर्दैन,’ उनले भने ।
सबै मानिस एकै भएको उल्लेख गर्दै गौतमले दलित र उत्पीडितजस्ता शब्द नै खारेज गर्नुपर्ने तर्क गरे । छुवाछुत गर्नेलाई आजीवन कारावास र भेदभाव गर्नेलाई कम्तीमा १० वर्ष कैद र जरिवाना गर्नुपर्ने उनको भनाइ छ ।