Skip This
सीमाक्षेत्रमा फेरि बढ्यो कोरोना संक्रमण 
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ चैत १० शुक्रबार
  • Saturday, 27 July, 2024
२o७९ चैत १० शुक्रबार १३:२६:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

सीमाक्षेत्रमा फेरि बढ्यो कोरोना संक्रमण 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o७९ चैत १० शुक्रबार १३:२६:oo

भारतसँग सीमा जोडिएका सुदूरपश्चिम प्रदेशका जिल्लामा कोरोना संक्रमण दर बढ्दै गएको छ।

केही महिना संक्रमण शून्य रहेको भए पनि हाल दिनहुँजसो संक्रमण देखिइरहेको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालय कोभिड– १९ सम्पर्क व्यक्ति हेमराज जोशीले जानकारी दिए। निर्देशनालयको तथ्यांकअनुसार चैत सुरु भएयता मात्रै यहाँ २४ जनामा संक्रमण पुष्टि भइसकेको छ।

भारतका विभिन्न सहरमा कोरोना संक्रमण देखिएकाले त्यसको प्रभाव यहाँ पनि परेको जोशीको भनाइ छ। उनले भने, ‘भारतका विभिन्न सहरमा कोरोना फैलिएको भन्ने छ, त्यसको प्रभाव यहाँ पनि पर्न थालेको हो। संक्रमित पुष्टि हुने सबै भारतबाट फर्किएका छन्।’ 

भारतसँग जोडिएका झुलाघाट, पुलघाट, जौलजीवी, गड्डाचौकी र त्रिनगर नाकामा नियमित रूपमा कोरोना परीक्षण जारी रहेको निर्देशनालयले जनाएको छ। 

नयाँ वर्ष नजिक आइरहेका वेला यहाँका नाकामा भारतबाट स्वदेश फर्किनेको संख्या पनि बढ्दै गएको छ। नयाँ वर्ष तथा बिशु पर्व मनाउन गाउँ फर्किनेको संख्या बढेकाले  संक्रणदर पनि वृद्धि भएको  जोशीले बताए। 

भारतमा संक्रमण देखिएका सहरहरूसित दूरीका हिसाबले यो प्रदेश नजिक भएकाले उच्च जोखिम रहेको र सतर्कता अपनाउन आवश्यक  छ। 

भारतमा ओमिक्रोनको संक्रमण तीव्र रूपमा फैलिरहेकाले यहाँका नाकामा स्वास्थ्य चेकजाँचमा कडाइ गरिएको छ। उनले भने, ‘सीमानाकामै हेल्थ डेस्क स्थापना गरी एन्टिजेन परीक्षणमार्फत परीक्षणको काम भइरहेको छ, संक्रमण देखिनेलाई सम्बन्धित पालिकासँग समन्वय गरेर होम आइसोलेसन बस्न भन्ने गरेका छौँ। यसले जोखिम कम गर्न सकिन्छ।’

साथै कोभिड– १९ सम्पर्क व्यक्ति जोशीका अनुसार कोरोना भाइरसको रोकथाम र नियन्त्रणका लागि कोरोनाविरुद्धको खोप अभियानलाई निरन्तरता दिइएको छ। प्रदेशका सबै स्थानीय तहमा हाल ५५ वर्षमाथिकालाई कोरोनाविरुद्धको बुस्टर डोज लगाउन थालिएको जोशीको भनाइ छ। 

सुदूरपश्चिम प्रदेशमा हालसम्म ६ लाख ४२ हजार तीन सय ६४ जनाको कोरोना परीक्षण गरिएकामा ६१ हजार नौ सय आठजनामा संक्रमण भइसकेको छ। 

संक्रमणकै कारण यस प्रदेशमा ६ सय ३५ जनाको ज्यान गइसकेको छ। भारतसँग सीमा जोडिएको यस प्रदेशमा कोरोना संक्रमण बढ्दै गएकाले जनस्वास्थ्यका मापदण्ड अनिवार्य रूपमा पालना गर्न निर्देशनालयको आग्रह छ। रासस