१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
२०७९ चैत १० शुक्रबार ०७:०२:००
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

बालिका मृत्यु प्रकरण : गल्ती स्विकार्नुपर्ने भन्दै २० दिनदेखि पीडितद्वारा अस्पतालमा धर्ना

Read Time : > 1 मिनेट
२०७९ चैत १० शुक्रबार ०७:०२:००

उपचारका क्रममा २८ महिने छोरीको मृत्यु भएपछि मोरङ पथरीका गंगा गौतम ज्ञानेश्वरस्थित हिमाल अस्पतालमा पुगेर धर्ना दिन थालेको २० दिन बित्यो । ४४ दिनअघि अस्पतालको लापरबाहीले २८ महिने छोरी प्रशंसाको मृत्यु भएको भन्दै गौतमदम्पती र आफन्तले निरन्तर अस्पताल परिसरमा धर्ना दिँदै आइरहेका छन् । तर, अस्पताल प्रशासनले आफूहरूको माग सुनुवाइ नगरेको पीडित पक्षको गुनासो छ ।

‘अस्पताल र चिकित्सकको लापरबाहीले नै छोरीको मृत्यु भएको हो,’ प्रशंसाका बाबु गौतमले भने, ‘त्यसैले यसको जिम्मा अस्पताल प्रशासन र उपचारमा संलग्न चिकित्सक हुनुपर्छ ।’ उनले सामान्य उपचार गराउन ल्याएकी बालिका अस्पतालको लापरबाहीले मृत्यु भएकाले यसको जिम्मेवारी अस्पताल नै हुनुपर्ने दाबी गरे । 

गौतम पेसाले संगीतकर्मी हुन् । उनको परिवार हाल काठमाडौंमै बस्दै आएको छ । उपचारका क्रममा चिकित्सकको लापरबाहीले बालिकाको मृत्यु भएको गौतम परिवार अहिले पीडामा छ । उपचारमा संलग्न चिकित्सकलाई कारबाही हुनुपर्ने, अस्पतालले गल्ती स्विकार्नुपर्ने र घटनाको जिम्मा लिनुपर्ने उनीहरूको माग छ । तर, आर्थिक क्षतिपूर्ति माग नगरिएको गौतमले बताए । ‘हामीले आर्थिक क्षतिपूर्ति माग गरेका छैनौँ,’ उनले भने, ‘अस्पतालले गल्ती भयो भनेर स्वीकार गरे धर्ना छाड्छौँ ।’ 

अस्पतालका निर्देशक नवीन सुब्बाले उपचारमा कुनै कमजोर नभएको दाबी गरे । ‘अस्पताल आउनुअघि नै उहाँले फार्मेसीबाट जथाभावी औषधि खानुभएको रहेछ,’ उनले भने, ‘दुई–तीन दिन बच्चाको अवस्था राम्रो थियो, । तर, २६ माघपछि बच्चाको अवस्था गम्भीर बनेको थियो ।’ उनका अनुसार त्यस दिन १२ बजेदेखि नै बच्चालाई गाह्रो भएको थियो । एक्सरे गर्दा बच्चालाई निमोनिया भएको पुष्टि भयो । सोही दिन पीडित पक्षले कान्ति बाल अस्पताल पुर्‍याए । तर, त्यहाँ पुर्‍याएको एक घन्टामै बालिकाको ज्यान गयो । निर्देशक सुब्बाले यसमा आफूहरूको गल्ती भए कारबाही भोग्न तयार रहेको बताए । 

गत २३ माघमा सामान्य रुघाखोकी र ज्वरो आएकी बालिकालाई उनका बुबा गौतमले उपचारका लागि अस्पताल लगेका थिए । तीन दिनसम्मको उपचारमा केही सुधार भएको थियो । तर, २६ माघमा बालिकाको छातीमा निमोनिया र अन्य संक्रमण देखियो । सोही दिन उनको मृत्यु भयो । बालिकालाई अस्पतालका चिकित्सक डा. जयदेव यादवले हेरेका थिए । उनले परीक्षण नगराई औषधि दिएको र बिरामी शिथिल भएपछि मृत्यु भएको पीडित पक्षको आरोप छ ।

२६ माघमा अस्पताल प्रशासनले बालिकाको अवस्था नाजुक बनेको र रिफर गरेर अत्याएपछि आफन्तले कान्ति बाल अस्पताल लगेका थिए । तर, त्यहाँ पुर्‍याएलगत्तै बालिकाको मृत्यु भएको थियो । अस्पतालको हेलचेक्र्याइँले बालिकाको मृत्यु भएको पीडित पक्षको आरोप छ । त्यसयता बालिकाका बुबा गौतमसहित उनका आफन्तले लापरबाही गर्ने चिकित्सकलाई कारबाही गर्नुपर्ने माग राख्दै आएका छन् । 

बालिकाको उपचारमा संलग्न डा. जयदेव यादवले आफ्नो गल्ती भए सजाय भोग्न तयार रहेको बताए । ‘मैले गरेको उपचारमा कमी छैन,’ उनले भने, ‘सही समयमा सही उपचार गरेको छु । यदि मेरो गल्ती रहेछ भने कारबाही होस् ।’