Skip This
अफगान महिला नोबेल शान्ति पुरस्कारका हकदार छन्
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २६ बुधबार
  • Wednesday, 08 May, 2024
हुज्जतुल्लाह जिया
२o८१ बैशाख २६ बुधबार १o:१६:oo
Read Time : > 2 मिनेट
ad
ad
दृष्टिकोण प्रिन्ट संस्करण

अफगान महिला नोबेल शान्ति पुरस्कारका हकदार छन्

Read Time : > 2 मिनेट
हुज्जतुल्लाह जिया
नयाँ पत्रिका
२o८१ बैशाख २६ बुधबार १o:१६:oo

केही सातायता हामी अफगानबीच कसले नोबेल शान्ति पुरस्कार पाउनेछ भनेर व्यापक बहस भइरहेको छ । केहीले सन् २०२१ मा काबुलमा तालिबानले कब्जा गर्नुअगाडिका महिला सरकारी अधिकारीलाई पुरस्कार दिइनुपर्ने सल्लाह दिएका छन् भने अरूले निर्वासनमा रहेका महिला अधिकार अभियन्तालाई दिइनुपर्नेमा जोड दिएका छन् । त्यसैगरी, केहीले काबुलको दस्त–ए–बर्ची बस्तीमा रहेको काज एजुकेसनल सेन्टरमा ३० सेप्टेम्बरमा भएको बम हमलामा बाँच्न सफल १७ वर्षीया फातिमा अमिरीलाई पुरस्कार दिन सुझाएका छन् । सो आक्रमणमा दर्जनौँ मारिएका थिए । त्यसमा पनि अधिकांश बालिका विद्यार्थी मारिएका थिए ।

सो दिन विद्यार्थी अफगानिस्तानको सार्वजनिक विश्वविद्यालय भर्ना हुन आवश्यक ‘कनकोर’ जाँचको पूर्वतयारी परीक्षा दिइरहेका थिए । आक्रमणले आघातग्रस्त भएकी, साथीहरूको मृत्युको शोक र आफूसमेत घाइते हुँदाहुँदै पनि अमिरीले कनकोर परीक्षा दिइन् र ८५ प्रतिशत अंकका साथ उनी काबुल विश्वविद्यालयमा आफूले रोजेको कम्प्युटर विज्ञान पढ्न योग्य भएकी थिइन् । तर, अहिले उनले विश्वविद्यालय पढ्न पाउनेछैनन् । वास्तवमा फातिमा तालिबान सत्तामा महिला र बालिका अधिकारको प्रतीकका रूपमा अगाडि आएकी छिन् । 

दुई छोरीका बुबाका नाताले म जहिल्यै आफ्ना सन्तानको वर्तमान र भविष्यका लागि चिन्तित रहन्छु । तर, मैले दिनदिनै देख्ने वा सुन्ने फातिमाजस्ता युवतीका कारण परिवर्तन हुनेछ भनेर आशा गर्ने ठाउँ जीवितै छ । तालिबान सत्तामा आएयता सरकारले महिलामाथि कैयौँ बन्देज लगाएको छ । अफगान बालिकालाई विद्यालय, विश्वविद्यालय र निजी शैक्षिक संस्थामा समेत जानबाट प्रतिबन्ध लगाइएको छ ।

अफगान महिलालाई पार्क, जिमजस्ता सार्वजनिक स्थलमा जानबाट रोकिएको छ र गैरसरकारी तथा केही सरकारी संस्थामा समेत काम गर्नबाट रोक लगाइएको छ । त्यति मात्र नभई महिलाले एक्लै यात्रा गर्न पाउँदैनन् र सार्वजनिक ठाउँमा जानैपरे पैतालादेखि शिरसम्म जिउ ढाकेकै हुनुपर्छ ।

नतिजा काबुलका ती इलाका, जहाँ महिलाको भिड हुने गथ्र्यो, त्यहाँ पनि पुरुषकै हालीमुहाली देखिन्छ । थुप्रै कफी पसल, जहाँ बालिका–किशोरी र महिलाले समय बिताउँथे, त्यहाँ अब पसलेले ग्राहक गुमाएका छन् । पार्कमा पहिले पुरुष परिवार वा गर्लफ्रेन्डसँग घुम्न जान्थे, तर अहिले पार्कमा पहिलेको जस्तो रोमाञ्चकता छैन । सहरका ब्युटी पार्लरको व्यापार खस्किँदो छ ।

अफगान महिलाले आफ्नो अधिकारको लडाइँ लड्दा अद्वितीय बहादुरी, सहनशीलता र आत्मसम्मान प्रस्तुत गरिरहेका छन्

  शिक्षा, सार्वजनिक ठाउँमा हिँडडुल र रोजगारीको अधिकार कुण्ठित गरिँदा पनि अफगान बालिका–किशोरी र महिलाले संघर्ष गर्न छाडेका छैनन् । यी महिलाले विभिन्न सहर विशेषतः काबुलमा अधिकारका लागि विरोध प्रदर्शन गरिरहेका छन् । तर, तालिबान अधिकारीले निर्मम दमन गरेका छन् र केही प्रदर्शनकारी एवं अभियन्तालाई हिरासतमा लिएर जेल सजाय पनि दिएका छन् 

। उदाहरणका लागि अभियन्ता जरिफा यकुबीलाई गत नोभेम्बरमा महिला अधिकार आन्दोलन गर्न खोजेको भन्दै ४० दिनसम्म हिरासतमा राखियो । अघिल्लो महिना जरिफासँग कुरा गर्दा उनले आँसु झार्दै र डराउँदै आफू थुनिएको अनुभव सुनाउन अस्वीकार गरिन् । उनले आफू आघातग्रस्त भएको र मानसिक स्वास्थ्यका लागि आफूले औषधि सेवन गरिरहेको बताइन् ।

जरिफाले विश्वजगत्ले महिलामाथिको अत्याचारविरुद्ध ओठे भत्र्सना गरे पनि अफगान महिला र तिनका संघर्षलाई समर्थन गर्न चाहँदैनन् भन्दै गुनासो गरिन् । उनका अनुसार इरानी महिलाका मामिलामा अन्तर्राष्ट्रिय जगत्को समर्थन शक्तिशाली एवं स्पष्ट थियो । यद्यपि, अफगान महिलाले हार मानेका छैनन् । बालिका र युवा महिला साहसी शिक्षकले चलाएका गोप्य विद्यालयमा दिनानुदिन बढिरहेका छन् । बाँकी बालिका ह्वाट्सएप र टेलिग्रामजस्ता मेसेजिङ एपका सहायताले पढिरहेका छन् । 

डिसेम्बर २०२२ मा जब तालिबानले निजी शैक्षिक संस्थामा प्रतिबन्ध लगाए, मैले पनि उच्च–माध्यमिक र विश्वविद्यालय जाने उमेरका बालिका–किशोरीलाई स्वयंसेवकका रूपमा अंग्रेजी पढाउन थालेको छु । अनलाइन कक्षाबारे जानकारी फैलिन समय लाग्दैन र पर्याप्त विद्यार्थी हुँदा हामी तिनलाई ह्वाट्सएप वा टेलिग्रामबाट पढाउँछौँ । हामीले शिक्षा सामग्री र गृहकार्यसहित पाठ रेकर्ड गरेर भ्वाइस मेसेजबाट विद्यार्थीलाई पठाउँछौँ । विद्यार्थी पाठ डाउनलोड गर्छन्, गृहकार्य गर्छन् र एपका माध्यमबाटै पठाउँछन् । 

महिलाले रोजगारीका क्षेत्रमा पनि हार मानेका छैनन् । नियमन र प्रताडनाका बाबजुद महिलाले ब्युटी पार्लर वा कस्मेटिक पसलजस्ता व्यापार व्यवसाय चलाउन छाडेका छैनन् र केही महिलाले त सडकमा ठेला व्यापारसमेत गर्छन् । त्यसैगरी, महिलाले अस्पतालमा नर्स र डाक्टरका रूपमा, प्राथमिक विद्यालयमा शिक्षकका काम गर्न छाडेका छैनन् । 

विदेशमा रहेका अफगान महिलाले पनि संघर्षमा योगदान पु¥याएका छन् । उल्लेख्य संख्यामा रहेका अभियन्ता, पत्रकार र मुलुक छोडेका पूर्व–अधिकारीले अफगान महिलाका मुद्दालाई अन्तर्राष्ट्रियकरण गर्न अथक प्रयास गरिरहेका छन् । र, यिनले तालिबानले धार्मिक नियमका नाममा महिलामाथि भइरहेको धरपकड एवं यातनाको विरोध गरिरहेका छन् । त्यसैगरी, विदेशमा रहेका अफगान महिलाले तालिबानले पेस गर्ने धार्मिक दलिललाई पनि चुनौती दिइरहेका छन् । यो दबाबले तालिबान सरकारलाई अन्तर्राष्ट्रिय जगत्मा वैधता प्राप्त भइरहेको छैन र तालिबानको सुमधुर अन्तर्राष्ट्रिय सम्बन्ध पनि बन्न सकिरहेको छैन ।  

अफगान महिलाले आफ्नो अधिकारको लडाइँ लड्दा अद्वितीय बहादुरी, सहनशीलता र आत्मसम्मान प्रस्तुत गरिरहेका छन् । यी महिला सशस्त्र समूह र पुरुषले विरोध गर्न नसकेको तालिबान सरकारलाई चुनौती दिइरहेका छन् । जब मेरा छोरीहरू हुर्किनेछन्, तब उनीहरूले थुप्रै वीरांगना देख्न पाउनेछन् भन्नेमा म ढुक्क छु । विश्वले अफगानिस्तानका महिला र बालिकाको साहसलाई चिन्न सक्नुपर्छ र यिनको संघर्षमा साथ दिनुपर्छ । यी महिला नोबेल शान्ति पुरस्कारभन्दा ठूलो समर्थन एवं सम्मानका हकदार हुन् ।  

(जिया अफगानिस्तानका पत्रकार एवं लेखक हुन्) अल जजिराबाट

ad
ad