१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ७ सोमबार
  • Monday, 20 May, 2024
रमेश सुनार कालिकोट
२o८१ जेठ ७ सोमबार १७:३९:oo
Read Time : < 1 मिनेट
ad
ad
पालिका अपडेट डिजिटल संस्करण

सिँचाइ पोखरीले किसानलाई राहत

Read Time : < 1 मिनेट
रमेश सुनार, कालिकोट
नयाँ पत्रिका
२o८१ जेठ ७ सोमबार १७:३९:oo

कालिकोटको शुभकालीका गाउँपालिका–५ मा सिँचाइ पोखरी बनेपछि किसानलाई राहत भएको छ। हिउँदको समयमा पानी अभावका कारण सुक्खा रहने करिब २४३ रोपनी जमिनमा सिँचाइ हुने गरी दल्लै चाखामा पोखरी बनेपछि स्थानीय खुसी छन्।

बढ्दो औद्योगीकरण, वन विनाश, आगलागी, अव्यवस्थित बसोबासले वातावरणमा प्रभाव परेकाले पानीका मुहान सुक्ने र सिँचाइ अभावमा जमिन बाँझो रहँदै आएकोमा अब स्थानीयले यी समस्याबाट मुक्ति पाएका छन्।

‘पहिला धेरै दुःख र मेहनत गरेर खेती गरिन्थ्यो। घरमा मुस्किलले खान पुग्ने अन्नबाली उत्पादन हुन्थ्यो। स्थानीय वीरेन्द्रबहादुर शाहीले भने, ‘अब व्यावसायिक खेती गर्ने सोच बनाएका छौँ।’

पोखरीमा करिब ४५ मिनेट टाढाको मूलबाट पानी ल्याइएको छ। प्रदेश सरकारको १५ लाख बजेटमा उपभोक्ता समितिको सक्रियतामा पोखरी तयार गरिएको हो। सुक्खायाममा पानीको उचित प्रयोग गरी सञ्चित गर्ने र खाद्य तथा हिउँदे बाली उत्पादन बढाउने उद्देश्यका साथ सिँचाइ पोखरी निर्माण गरिएको शुभकालिका गाउँपालिकाका इन्जिनियर नरेन्द्रप्रसाद चौलागाईंले बताए।

सिँचाइ पोखरीबाट वडा नम्बर ५ का ८१ घरधुरी लाभान्वित हुने उपभोक्ता समितिकी अध्यक्ष सीता शाहीले बताइन्। ‘सिँचाइ पोखरी निर्माणले कृषकमा धेरै आशा जगाएको छ। सिँचाइ पोखरीले हिउँदमा धेरै कृषकलाई लाभान्वित बनाउनेछ,’ उनले भनिन्।

बाह्रै महिना सिँचाइ हुने भएपछि तरकारी उत्पादनमा वृद्धि गर्ने कृषकको योजना छ। सडक, विद्युत् पुगे पनि पर्याप्त सिँचाइका लागि पानी नहुँदा तरकारी तथा अन्य वस्तु आयात गर्दै आएका किसानले अब त्यसका कमी आउने अपेक्षा गरेका छन्। अहिले पनि कालिकोटका धेरै स्थानीय तहहरूमा सिँचाइको सुविधा छैन।

ad
ad