१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
राष्ट्रपति रामचन्द्र पौडेलसँग अमेरिकी राजदूत डिन आर थम्प्सन 
नयाँ पत्रिका काठमाडौं
२०७९ चैत ७ मंगलबार ०७:५७:००
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

राष्ट्रपति पौडेलसँग भारतीय र अमेरिकी राजदूतको भेट

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ चैत ७ मंगलबार ०७:५७:००

भारतीय राष्ट्रपतिलाई निम्ता पठाउने तयारी

राष्ट्रपति रामचन्द्र पौडेललाई नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव र अमेरिकी राजदूत डिन आर थम्प्सनले शिष्टाचार भेट गरेका छन् । राष्ट्रपतिमा निर्वाचित भएपछि पौडेलसँग उनीहरूले क्रमशः आइतबार र सोमबार शीतलनिवासमा शिष्टाचार भेट गरेका हुन् ।

राष्ट्रपति पौडेलले राजदूत श्रीवास्तवसँग भारतीय राष्ट्रपतिलाई नेपाल भ्रमण गराउने विषयमा कुराकानी गरेका छन् । स्रोतका अनुसार राष्ट्रपति पौडेल भारतीय समकक्षीलाई नेपाल भ्रमणको औपचारिक निमन्त्रणा पठाउने तयारीमा छन् । यसअघि भारतबाट २६–१९ कात्तिक ०७३ मा तत्कालीन भारतीय राष्ट्रपति प्रणव मुखर्जीको नेपाल भ्रमण भएको थियो ।

त्यसपछि निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीले भारत भ्रमण गरेकी थिइन् । भारतीय राष्ट्रपतिलाई नेपालका तर्फबाट भ्रमणका लागि ‘स्ट्यान्डिङ इन्भाइटेसन’ छ । भारतीय राष्ट्रपति द्रौपदी मुर्मुले २९ फागुनमा समकक्षी पौडेललाई बधाई सन्देश दिएकी थिइन् भने भोलिपल्ट केरलाबाट टेलिफोन गरेर बधाई दिएकी थिइन् । दुई राष्ट्रपतिको टेलिफोनमा राष्ट्रपति पौडेलले भारतीय समकक्षीलाई नेपाल भ्रमणका लागि मौखिक निम्ता दिएका थिए । 

राष्ट्रपति पौडेल र अमेरिकी राजदूत थम्प्सनबीच दुईपक्षीय सम्बन्धबारे कुराकानी भएको राष्ट्रपतिका परराष्ट्र मामिला सल्लाहकार डा. सुरेशचन्द्र चालिसेले जानकारी दिए । पौडेलले नेपालको उन्नतिका लागि कृषि, वन, पर्यटन तथा जलस्रोतको उपयोग गनुपर्ने आफ्नो धारणा रहेको बताए । अमेरिकी राजदूत थम्प्सनले यी क्षेत्रमा नेपाललाई भविष्यमा सहयोग गर्ने बताएका थिए ।

यसैबीच, सोमबार शपथग्रहण गरेका उपराष्ट्रपति रामसहायप्रसाद यादवलाई भारतीय समकक्षी जगदीप धनकरले बधाई दिएका छन् । सामाजिक सञ्जाल ट्विटरमा उपराष्ट्रपति धनकरले दुई देशबीच जनस्तरीय विशिष्ट समबन्ध थप सुदृढ गर्न नवनिर्वाचित समकक्षी यादवसँग सहकार्य गर्ने प्रतिबद्धता जनाएका छन् ।