Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
२०७९ चैत ६ सोमबार ०८:३०:००
Read Time : > 2 मिनेट
अर्थ प्रिन्ट संस्करण

नागढुंगा सुरुङमार्ग निर्माण : क्रसर बन्दमा रोकिएको कामबापत क्षतिपूर्ति माग्दै जापानी कम्पनी

Read Time : > 2 मिनेट
२०७९ चैत ६ सोमबार ०८:३०:००

अवैध क्रसर उद्योग बन्द गर्दा रोकिएको कामबापत नागढुंगा सुरुङमार्ग निर्माण गरिरहेकोे जापानी कम्पनी हाजमा एन्डो कर्पाेरेसनले नेपाल सरकारसँग क्षतिपूर्ति माग्ने भएको छ । यसका लागि निर्माण कम्पनीले सडक विभागमा प्रारम्भिक सूचना (वार्निङ नोटिस)समेत दिइसकेको छ ।

सरकारले २० पुसदेखि अवैध क्रसर उद्योग बन्द गर्दा बालुवाको अभाव भई २ माघदेखि दुई हप्तासम्म आयोजनाको निर्माण रोकिएको थियो । साथै, टनेल खन्न जापानदेखि ल्याइएका प्राविधिक कामदार, मेसिनहरू पनि यतिकै बस्नुपरेको थियो । सरकारले ११ माघदेखि क्रसर उद्योग खुलाउने निर्णय गरेपछि माघको तेस्रो साताबाट आयोजनाको निर्माण कार्य सुरु भएको थियो । उक्त समयमा नेपालकै कारण काम रोकिँदा नोक्सानी भएको भन्दै कम्पनीले क्षतिपूर्ति माग्ने सूचना सडक विभागमा दिएको हो ।

आयोजनाका सूचना अधिकारी माधव अधिकारीले कम्पनीबाट क्षतिपूर्ति माग्ने सूचना प्राप्त भएको बताए । ‘बीचमा क्रसर उद्योग बन्द हुँदा आयोजनाको निर्माण कार्य रोकिएको थियोे । त्यसबापत क्षतिपूर्ति माग्ने भन्दै निर्माण कम्पनीले वार्निङ नोटिस दिइसकेको छ,’ उनले भने, ‘सम्भवतः अब विस्तृत अध्ययन गरेर के–कस्तो क्षतिपूर्ति चाहिने हो, सोहीअनुसार थप पत्र पठाउँछ होला ।’

क्रसर बन्द हुँदा जति दिन काम रोकिएको थियो, सोही दिनबराबरको म्याद थप गर्नुपर्ने माग कम्पनीले राख्ने सम्भावना रहेको छ । साथै, त्यस अवधिको मेसिन, प्राविधिक कामदार यत्तिकै बसेका थिए । त्यसबापत पनि कम्पनीले क्षतिपूर्ति माग्न सक्ने विभागका अधिकारीहरू बताउँछन् । आयोजनालाई चाहिने गिट्टी टनेल खन्दा निस्कने ढुंगाबाट नै बनाइन्छ । तर, बालुवा भने बाहिरबाट नै ल्याउनुपर्ने हुनछ । त्यो अवस्थामा सरकारले क्रसर उद्योग बन्द गर्दा बालुवाको अभाव भई आयोजनाको निर्माण कार्य रोकिएको थियो ।

विशेष गरी पश्चिम क्षेत्रबाट राजधानी प्रवेश गर्ने सवारीसाधनलाई सहजता प्रदान गर्ने गरी नागढुंगामा टनेल बनाउने काम भइरहेको छ । जाइकाको १६ अर्ब ६३ करोड रुपैयाँ सहुलियत ऋण र नेपाल सरकारको पाँच अर्ब ८५ करोड रुपैयाँ लगानीमा यो आयोजना निर्माण भइरहेको छ । जुन आयोजना निर्माण जापानी निर्माण कम्पनी हाजमा एन्डो कर्पाेरेसनले गरिरहेको छ । 

यसका लागि ०७६ असोजमा उक्त कम्पनीसँग ठेक्का सम्झौता भएको थियो । त्यसको १४ महिनापछि अर्थात् ०७७ पुसबाट यसको निर्माण सुरु भएको थियो । डिसेम्बर २०२० (०७७ पुस)देखि सुरु गरेको थियो । हालसम्म आयोजनाको ५०.१५ प्रतिशत काम सकिएको छ । आयोजना कार्यालयबाट प्राप्त फेब्रुअरी २०२३ मसान्तसम्मको प्रगति विवरणले यस्तो देखाएको हो । आयोजनाको वित्तीय प्रगति भने ७०.५० प्रतिशत पुगेको प्रगति प्रतिवेदनमा उल्लेख छ । 

आयोजनाअन्तर्गतको टनेलको मात्रै भौतिक प्रगति भने ७९.२० प्रतिशत पुगेको छ । आयोजनामा मुख्य सुरुङको लम्बाइ दुई हजार ६ सय ८८ मिटर रहेको छ । त्यसमा हालसम्म एक हजार आठ सय ६९ मिटर सुरुङ निर्माण भएको छ । पूर्व (काठमाडौं)बाट आठ सय ९३ मिटर र पश्चिम (नागढुंगा)बाट नौ सय ७६ मिटर सुरुङ खनिएको छ । 

यस्तै, सहायक (इभ्याकुएसन) सुरुङको कुल लम्बाइ दुई हजार पाँच सय ५७ मिटर रहेको छ । त्यसको भने हालसम्म दुई हजार एक सय २७ मिटर सुरुङ खनिएको छ । त्यसमा पूर्वबाट एक हजार एक सय ४७ मिटर र पश्चिमबाट नौ सय ८० मिटर सुरुङ खनिएको छ ।

आगामी असारभित्र नै सुरुङ मार्गको ब्रेक थ्रु गर्ने लक्ष्य राखिएको छ । वर्किङ अडिटको भने शतप्रतिशत अर्थात् एक सय २६ मिटर नै काम सम्पन्न भएको छ । क्रस–प्यासेजको भने ७४ मिटर निर्माण भएको छ । त्यसको कुल लम्बाइ एक सय २८ मिटर रहेको छ । त्यसमा पूर्वबाट ३८ मिटर र पश्चिमबाट ३६ मिटर निर्माण भएको छ । 

कम्पनीले यसको बाँकी काम २५ अप्रिल २०२४ भित्र सम्पन्न गर्नुपर्नेछ । पहिला यो आयोजना अप्रिल २०२३ भित्र नै सम्पन्न गर्नुपर्ने थियो । तर, बीचमा कोरोनाका कारण काम नभएपछि ८६ दिन म्याद थपिएको छ । थपिएको समयअनुसार जुलाई ०२३ भित्र उक्त आयोजना बनिसक्नुपर्ने थियो । तर, त्यो म्यादमा आयोजना नबन्ने देखिएपछि कम्पनीको मागअनुसार हालै नौ महिना म्याद थप गरिएको छ । यद्यपि, कम्पनीले यही कारण म्याद थप गर्नुपर्ने माग राखेमा यो अवधि थप बढ्न सक्नेछ ।