Skip This
अब एक अभिकर्ताले एकभन्दा बढी बिमा कम्पनीमा काम गर्न नपाउने
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ चैत ६ सोमबार
  • Saturday, 27 July, 2024
नयाँ पत्रिका काठमाडौं
२o७९ चैत ६ सोमबार o८:२२:oo
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

अब एक अभिकर्ताले एकभन्दा बढी बिमा कम्पनीमा काम गर्न नपाउने

दुईभन्दा बढी कम्पनीमा काम गर्दै आएका पाँच हजारभन्दा बढी अभिकर्ताले एउटा छनोट गर्नुपर्ने

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ चैत ६ सोमबार o८:२२:oo

नेपाल बिमा प्राधिकरणले बिमा अभिकर्ताले समान प्रकृतिको एउटा मात्रै कम्पनीमा काम गर्न पाउने व्यवस्था कार्यान्वयनमा ल्याएको छ । प्राधिकरणले आइतबारदेखि अनलाइनमार्फत ‘एक अभिकर्ता, एक बिमा कम्पनी’ नीतिलाई व्यवस्थापन गर्न सुरु गरेको हो । 

पहिला एक व्यक्तिले समान प्रकृतिका दुईभन्दा बढी बिमा कम्पनीको अभिकर्ता भएर काम गर्दै आएका थिए । तर, यसै वर्षदेखि लागू भएको बिमा ऐन, २०७९ मा भने एक अभिकर्ताले समान प्रकृतिको एउटा बिमा कम्पनीमा मात्रै काम गर्न पाउने व्यवस्था गरेको छ । सोहीअनुसार अब एक व्यक्तिले एउटा जीवन र एउटा निर्जीवन बिमा कम्पनीको अभिकर्ता भएर मात्र काम गर्न पाउनेछन् । सोही व्यवस्थालाई कार्यान्वयन गर्न प्राधिकरणले केही समयअघिदेखि अभिकर्ताको विवरण संकलन गरेको थियो । विवरण संकलन भएपछि यसलाई कार्यान्वयनमा लगिएको हो । प्राधिकरणले यसलाई अनलाइन प्रणालीमार्फत नै व्यवस्थापन गर्न सुरु गरेको हो । 

आइतबार प्राधिकरणको ललितपुरस्थित केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले अनलाइन प्रणालीमार्फत एक बिमक एक बिमा अभिकर्ताको व्यवस्थापन गर्ने कार्यको शुभारम्भ गरेका हुन् । 
अध्यक्ष सिलवालले अनलाइन प्रणालीका माध्यमबाट बिमा अभिकर्ताको व्यवस्थापन भएपछि बिमा अभिकर्ताको परिचय, रहने स्थान र आबद्ध कम्पनीलगायतका बारेमा स्पष्ट जानकारी प्राप्त हुने बताए । फलस्वरूप बिमा अभिकर्ताको अनुगमन गर्नसमेत सहज हुने उनको भनाइ छ । 

नेपाल बिमा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले अनलाइन प्रणालीमार्फत बिमा अभिकर्ताको व्यवस्थापन र इजाजतपत्र नवीकरण कार्यमा कुनै समस्या आउन नदिन र आएमा तत्काल समाधान गर्न निर्देशन दिए । प्राधिकरणले अनलाइन प्रणालीमार्फत एक बिमक एक बिमा अभिकर्ताको व्यवस्थापनको कार्यसँगै विभिन्न अनलाइन भुक्तानी सेवाप्रदायकबाट नवीकरण दस्तुर भुक्तानी गरी बिमा मध्यस्थकर्ता (बिमा अभिकर्ता र सर्भेयर)को इजाजतपत्र नवीकरणको व्यवस्थालाई निरन्तरता दिएको छ ।

प्राधिकरणमा बिमकहरूमार्फत अनलाइन प्रणालीका माध्यमबाट हालसम्म एक लाख ६३ हजार नौ सय २५ को संख्यामा बिमा अभिकर्ताले स्थायी लेखा नम्बरसमेत आवश्यक कागजात समावेश गरी आ–आफ्नो विवरण अद्यावधिक गराएका छन् ।

बिमा अभिकर्ताको इजाजतपत्र अद्यावधिक गर्नका लागि योग्य देखिएका बिमा अभिकर्ताको संख्या दुई लाख २१ हजार आठ सय ५० रहेको छ,  बाँकी ५७ हजार नौ सय २५ को भने अद्यावधिक गर्ने कार्य प्रक्रियामा रहेको छ ।अनलाइन प्रणालीमा बिमा अभिकर्ताले प्रविष्ट गरेको स्थायी लेखा नम्बरका आधारमा अध्ययन गर्दा समान प्रकृतिका दुई वा दुईभन्दा बढी बिमा कम्पनीमा कार्य गर्ने बिमा अभिकर्ताहरूको संख्या पाँच हजार ४५ मात्रै रहेको पाइएको छ ।

एकभन्दा बढी बिमकमा कार्यरत बिमा अभिकर्तालाई एउटा बिमक छान्न मिल्ने व्यवस्था (वान टाइम पासवर्ड)मार्फत गरिएको छ । त्योअनुसार अब अभिकर्ताले अनलाइनमार्फत आफूले काम गर्ने कम्पनी छनोट गर्न सक्नेछन् । साथै, अनलाइन प्रणालीमार्फत बिमा अभिकर्ता र सर्भेयरको इजाजतपत्र नवीकरण भएको जानकारी इमेलमार्फत सम्बन्धित व्यक्तिलाई जानकारी दिने व्यवस्थासमेत मिलाइएको छ ।