
एमाले अध्यक्ष केपी ओलीले कांग्रेससँग जुनसुकै समयमा प्रतिपक्षमा भेट हुन सक्ने दोहोर्याएका छन् । उपराष्ट्रपति निर्वाचनमा मतदानपछि कांग्रेस महामन्त्री गगन थापालाई जवाफ फर्काउँदै ओलीले प्रतिपक्षमा भेट्न ८४ साल पर्खन नपर्ने बताएका हुन् ।
राष्ट्रपति निर्वाचनमा मतदान गरेर फर्किने क्रममा ओलीले ‘कांग्रेस र एमाले एक ठाउँमा नआउने भनेर कसम नखाएको’ बताएका थिए । त्यसको जवाफमा महामन्त्री थापाले ८४ सालसम्म एमालेसँग सत्ता सहकार्य नहुने बताएका थिए ।
प्रतिउत्तरमा थापाको नाम नलिई अध्यक्ष ओलीले भने, ‘एकजना अलिक चर्का कांग्रेसले कति सालपछि प्रतिपक्षमा उहाँसँग भेटघाट हुन्छ भन्नुभएछ । प्रतिपक्षमा भेट्न ८४ साल पर्खनुपर्छ ? अहिले भेट्नुभएको छैन ?’
गठबन्धनभित्र केही गडबडी देखिएकाले यस्ता अभिव्यक्ति दिनुपरेको ओलीको दाबी छ । ‘त्यो कुराले उहाँहरूभित्र निकै ठूलो गडबडी देखिन्छ । किन त्यस्तो कुरा बोल्नुपर्याे त भन्दा त्यहाँभित्र केही गडबडी होलान् । त्यसकारण त्यस्तो बोल्नुभएको हो कि !’