मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ चैत २ बिहीबार ०९:२२:००
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

ट्राफिक प्रहरीले सुरु गर्‍यो पैदलयात्री सचेतना अभियान

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ चैत २ बिहीबार ०९:२२:००

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जेब्राक्रसिङको प्रयोग, आकासेपुलबाट सडक पार गर्न र साइकलचालकलाई ट्राफिक नियमसम्बन्धी जनचेतना फैलाउन ‘पैदलयात्री सचेतता अभियान’को सुरु गरेको छ । ‘जेब्राक्रसिङ तथा आकासेपुल प्रयोग गरौँ’ भन्ने प्लेकार्ड देखाएर ट्राफिक प्रहरीले उपत्यकाका विभिन्न चोकमा अभियानको सुरुवात गरेको हो । 

बढ्दो सवारी चाप, जथाभावी सडक वारपार गर्ने व्यवहारका कारण पैदलयात्रीको ज्यान जोखिम रहेको तथ्यांक प्रहरीले सार्वजनिक गरेको छ । अभियानका क्रममा बुधबार ६३७ पैदलयात्रीलाई ट्राफिक प्रहरीले सम्झाइबुझाइ गरेको जनाएको छ । काठमाडौंको न्युरोड, बालकुमारी, जडीबुटी, ललितपुरको सातदोबाटो र जावलाखेल, भक्तपुरको सल्लाघारी र गट्ठाघरमा रहेको आकासेपुलबाट पैदलयात्रुहरूलाई सडक वारपार गर्न लगाइएको थियो । 

यस्तै, ट्राफिक प्रहरीले रेडलाइटमा सडक क्रस गर्ने, जेब्रा क्रसिङमा रोक्ने, फुटपाथमा साइकल चलाउनेलगायत ट्राफिक नियम उल्लंघन गर्ने एक सय ९३ जना साइकल चालकलाई पनि सम्झाइबुझाइ गरेको छ । काठमाडौंको कमलपोखरी, थापाथली, बल्खु, बुढानीलकण्ठ, नयाँबसपार्क, नागढुंगा, बौद्ध र भक्तपुरमा साइकलयात्रीलाई सम्झाइबुझाइ गरिएको हो । 

११ महिनामा ४० पैदलयात्रीको दुर्घटनामा मृत्यु
उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टका अनुसार उपत्यकामा गत आर्थिक वर्षमा मात्रै सवारी दुर्घटनामा ५८ जना र चालू आवको हालसम्म ४० जना पैदलयात्रीको मृत्यु भएको छ । यस तथ्यांकले सडकमा पैदलयात्रु सबैभन्दा बढी जोखिममा रहने देखिएकाले अभियानले दुर्घटनामा कमि ल्याउन मद्दत पुग्ने अनुमान गरिएको छ ।

यसअघि वैशाख ०७४ र पुस ०७६ मा पनि ट्राफिक प्रहरीले जथाभावी सडक पार नगरौँ भन्ने जनचेतनामूलक कार्यक्रम सञ्चालन गरेको थियो । आकासेपुल भएको स्थानमा आकासेपुलबाट, जेब्राक्रस भएका स्थानमा जेब्राक्रसिङबाट मात्रै सडक वारपार गर्न र ट्राफिक नियमको पालना गर्दै सवारीसाधन चलाउन प्रवक्ता भट्टले अनुरोध गरे ।