मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ चैत १ बुधबार
  • Tuesday, 17 December, 2024
मञ्जु टेलर काठमाडाैं
२o७९ चैत १ बुधबार o५:५९:oo
Read Time : > 3 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

‘साइलेन्ट किलर’ बन्दै उच्च रक्तचाप

Read Time : > 3 मिनेट
मञ्जु टेलर, काठमाडाैं
नयाँ पत्रिका
२o७९ चैत १ बुधबार o५:५९:oo

नेपालमा प्रत्येक चार वयस्कमा एकजनालाई उच्च रक्तचाप, बर्सेनि अस्पताल पुग्ने आठ लाख प्रभावितमध्ये ९५ प्रतिशतमा पत्ता लाग्दैन कारण

उच्च रक्तचापको लक्षण लिएर स्वास्थ्य संस्था पुग्नेमध्ये ९५ प्रतिशतमा कारण थाहा नहुने समस्या देखिएको छ । स्वास्थ्य सेवा विभाग एकीकृत स्वास्थ्य सूचना व्यवस्थापन प्रणालीको तथ्यांकअनुसार पछिल्ला वर्ष उच्च रक्तचापको लक्षण लिएर अस्पताल पुग्ने बिरामी तीव्र रूपमा बढिरहेका छन् । 

गत वर्ष ०७८/७९ मा सात लाख ९५ हजार ८७ बिरामी उच्च रक्तचापको लक्षणसहित अस्पताल पुगेका थिए, जुन पाँच वर्षअघिको तुलनामा दोब्बर हो । त्यस्तै, ०७७/७८ मा ६ लाख ५७ हजार एक सय ६३ र ०७६/७७ मा सात लाख ४१ हजार पाँच सय ८२ बिरामी अस्पताल पुगेका थिए । ०७५/७६ मा चार लाख ९९ हजार चार सय ८२ र ०७४/७५ मा चार लाख तीन हजार नौ सय ४५ व्यक्ति उच्च रक्तचापको समस्या लिएर अस्पताल पुगेको तथ्यांक छ । 

बिरामी औषधि खानसमेत मान्दैनन् : डा. अरुण मास्के, वरिष्ठ मुटुरोग विशेषज्ञ
देशभरको अस्पतालको तथ्यांक हेर्दा वयस्कमा २० देखि २५ प्रतिशत जनसंख्या उच्च रक्तचापबाट पीडित भएको पाइएको छ । तर, बिरामीहरू औषधि खानसमेत मान्दैनन् । रक्तचाप नियन्त्रण गरेर जोखिमबाट बच्नका लागि औषधि सेवन गर्नुपर्छ । तर, प्रभावितमध्ये पनि एकतिहाइले औषधि नै खाँदैनन् । औषधि खाइरहेकामध्ये पनि एकतिहाइमा उच्च रक्तचाप नियन्त्रणमा आउँदैन ।

उक्त रक्तचापका बिरामी बढिरहँदा नेपाल हेल्थ रिसर्च काउन्सिलको तथ्यांकले प्रत्येक चार वयस्क (२० देखि ५५ वर्ष उमेर समूह)मा एकजनामा यो समस्या रहेको देखाएको छ । काउन्सिलका अनुसार नेपाली वयस्कमा उच्च रक्तचापको समस्या बढेर २४.५ प्रतिशत पुगेको हो । देशभरका ३२ लाखलाई उच्च रक्तचापको समस्या भएर पनि स्वयं आफैँलाई थाहा नभएको अनुमान छ । त्यस्तै, समस्या थाहा पाएर पनि उपचारबाट वञ्चित रहने ३१ लाख र उपचार गर्दागर्दै रक्तचाप नियन्त्रणमा ल्याउन नसकेका ३५ लाख ८० हजार रहेको तथ्यांक छ । 

समुदायस्तरमा यो समस्या धेरैलाई भए पनि चेतनाको अभावले नियमित जाँच गराउन नजाँदा जटिलता निम्तिने गरेको छ । जटिल अवस्थामा पुगेकालाई गाउँ–गाउँमा स्क्रिनिङ र उपचारको सहज पहुँच नहुँदा समस्या बढ्दै गएको चिकित्सकहरू बताउँछन् । उच्च रक्तचापबाट प्रभावित ४० प्रतिशतभन्दा कम मात्रै स्वास्थ्य अवस्थाबारे जानकार रहेको मुटुरोग विशेषज्ञ डा. अभिनव वैद्य बताउँछन् । ‘उच्च रक्तचाप अहिले मुटुसम्बन्धी रोग, मिर्गौलामा समस्याका साथै स्ट्रोकको समेत मुख्य कारक हो । तर, नेपालमा प्रभावितमध्ये २० प्रतिशत मात्रै उपचारको दायराभित्र रहेको पाइन्छ भने एक प्रतिशतले मात्रै उपचारको माध्यमबाट रक्तचाप नियन्त्रणमा ल्याएको पाइएको छ,’ उनले भने । 

प्रत्येक वर्ष नेपालमा ५० हजारभन्दा बढीको मुत्यु मुटुसम्बन्धी रोगका कारण हुने गरेको तथ्यांक छ । यसको मुख्य कारक पनि उच्च रक्तचाप नै रहेको डा. वैद्यले बताए । उनी भन्छन्, ‘हाइपरटेन्सनका कारण जटिल समस्या निम्तिएपछि मात्र अस्पताल पुग्ने र चिकित्सक तथा फिजिसियनमा मात्र उपचार निर्भर रहेका कारण रोग नियन्त्रणबाहिर छ । समुदायस्तरमा रक्तचाप नियन्त्रणका लागि अन्य व्यक्तिलाई पनि जनचेतना दिने र उपचारमा सहयोग पुर्‍याउन स्वास्थ्य स्वयंसेविका र स्वास्थ्य चौकीका स्वास्थ्यकर्मीलाई समेत संलग्न गर्न सकिन्छ ।’ 

समस्या भएकामध्ये २० प्रतिशतले मात्रै रक्तचाप परीक्षण गर्ने गरेको पनि अध्ययनले देखाएका छन् । सामान्यतया उच्च रक्तचापबाट प्रभावितमध्ये आधालाई आफूमा भइरहेको समस्या नै थाहा नहुने र उपचारको पहुँचमा पुग्नु नै मुख्य समस्या भएको बताउँछन् वरिष्ठ मुटुरोग विशेषज्ञ डा. अरुण मास्के । ‘देशभरको अस्पतालको तथ्यांक हेर्दा वयस्कमा २० देखि २५ प्रतिशत जनसंख्या उच्च रक्तचापबाट पीडित भएको पाइएको छ । तर, बिरामीहरू औषधि खानसमेत मान्दैनन्,’ उनले भने, ‘रक्तचाप नियन्त्रण गरेर जोखिमबाट बच्नका लागि औषधि सेवन गर्नुपर्छ । तर, प्रभावितमध्ये पनि एकतिहाइले औषधि नै खाँदैनन् । औषधि खाइरहेकामध्ये पनि एकतिहाइमा उच्च रक्तचाप नियन्त्रणमा आउँदैन ।’ 

कस्ता लक्षण देखिँदा उच्च रक्तचापको जोखिम ?
अधिकांशमा लक्षण नै नदेखिने भएकाले उच्च रक्तचापलाई ‘साइलेन्ट किलर’को नाम दिइएको छ । खासगरी नियमित स्वास्थ्य परीक्षण एकदमै न्यून हुने नेपालजस्ता देशमा उच्च रक्तचाप मुख्य समस्या बनेको छ । 

यसबाहेक लक्षण देखिने बिरामीमा सामान्यतया बिहान सबेरै टाउको दुख्ने, नाकबाट रगत बग्ने, मुटुको धड्कन अनियमित हुने, दृष्टिमा समस्या देखिने, कानमा समस्या हुनेजस्ता लक्षण देखिन्छन् । त्यस्तै, रक्तचाप उच्च हुँदै जाँदा थकान, वाकवाकी, बान्ता, भ्रम, चिन्ता, छाती दुख्ने र मांसपेशी कम्पन हुनेजस्ता गम्भीर समस्या देखिन्छन् । रक्तचाप बढी हुँदा निम्तिने जोखिम नियन्त्रणका लागि रक्तचाप मापन गर्नु एक मात्र उपाय हो । 

उच्च रक्तचाप समयमै नियन्त्रणमा गर्न नसके हृदयाघात र पक्षघातजस्ता जोखिम निम्तिन्छन् । रगतको अत्यधिक दबाबले धमनीलाई कडा बनाउँदा रगत र अक्सिजनको प्रवाह घट्छ, जसले मुटुमा समस्या पार्छ । मुटु नै फेल हुने, धड्कनमा समस्या आउने, मस्तिष्कमा रगत र अक्सिजन आपूर्ति गर्ने धमनीहरू पनि फुट्दा वा अवरुद्ध हुँदा स्ट्रोक हुने र मिर्गौला फेल हुनेजस्ता जोखिम हुन सक्छ । 

विश्वमै घट्नुको साटो बढ्दै उच्च रक्तचापको समस्या
सन् २०१० देखि २०३० सम्ममा हाइपरटेन्सन ३३ प्रतिशतले घटाउने ग्लोबल लक्ष्य लिइए पनि उच्च रक्तचाप स्वास्थ्य जटिलताको मुख्य कारक बन्दै आएको छ । जसले हृदय, मस्तिष्क, मिर्गौला र अन्य रोगको जोखिमलाई उल्लेखनीय रूपमा बढाइरहेको पछिल्ला सर्वेक्षणले देखाएका छन् । विश्व स्वास्थ्य संगठनको तथ्यांकअनुसार हाल विश्वभर ३० देखि ७९ वर्ष उमेरका अनुमानित एक अर्ब २८ करोड मानिस उच्च रक्तचापको समस्याबाट प्रभावित छन्, जसमध्ये पनि अधिकांश (दुईतिहाइ) निम्न र मध्यम आय भएका देशका छन् । डब्लुएचओका अनुसार हाइपरटेन्सन भएका अनुमानित ४६ प्रतिशतलाई उच्च रक्तचापबारे थाहासमेत हुँदैन । लक्षण देखिएर समस्या पहिचान भएकामध्ये पनि आधाभन्दा कम अर्थात् ४२ प्रतिशत मात्रै उपचारको पहुँचमा पुग्छन् । उपचारका लागि औषधि सेवन गरिरहेका प्रत्येक पाँचमध्ये १ अर्थात् २१ प्रतिशतमा मात्रै उच्च रक्तचाप नियन्त्रणमा आएको पाइन्छ, जसका कारण उच्च रक्तचाप विश्वभर अकाल मृत्युको मुख्य कारण बनिरहेको अध्ययनहरूको निष्कर्ष छ ।