१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
फाइल तस्बिर
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २४ सोमबार १७:२१:oo
Read Time : > 1 मिनेट
ad
ad
अर्थ डिजिटल संस्करण

सरकारले घटायाे रासायनिक मलमा दिँदै आएको अनुदान 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार १७:२१:oo

सरकारले रासायनिक मलको खरिदमा कृषकलाई दिँदै आएको अनुदान घटाएको छ। कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार मल आपूर्ति तथा वितरण व्यवस्थापन समितिको आजको बैठकले अनुदान घटाउने निर्णय गरेको हो।

‘रासायनिक मलमा यसअघि समग्रमा ७० दशमलव ८२ प्रतिशतबराबर अनुदान दिइरहेकोमा अब ५९ दशमलव ०४ प्रतिशत कायम गरिएको छ। यो दरलाई क्रमशः ५० प्रतिशतमा झारिनेछ।’ कृषि मन्त्रालयले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ।

सरकारले मलको अनुदान घटाएसँगै कृषकले यसअघि खरिद गर्दै आएको मूल्य पनि बढ्ने भएको छ। अनुदान कटौतीपछि आयात विन्दुमा युरिया प्रतिकिलो रु २५, डिएपी प्रतिकिलो रु ५० र पोटास प्रतिकिलो रु ४० मा बिक्री वितरण हुनेछ। 

यसअघि आयात विन्दुमा युरिया प्रतिकिलो रु १४, डिएपी प्रतिकिलो रु ४३ र पोटास प्रतिकिलो रु ३१ मा बिक्री वितरण भइरहेको थियो।

साबिकभन्दा अब युरिया प्रतिकिलो रु ११, डिएपी प्रतिकिलो रु सात र पोटास प्रतिकिलो रु नौ महँगो पर्ने भएको छ। सरकारले यसअघि युरियामा ८० प्रतिशत, डिएपीमा ६० प्रतिशत र पोटासमा ५९ प्रतिशत अनुदान दिइरहेको थियो। तर, अब युरियामा ६४ दशमलव ४९, डिएपीमा ५२ दशमलव ३८ र पोटासमा ४६ दशमलव ०९ प्रतिशत मात्रै अनुदान दिइनेछ।

अर्थ मन्त्रालयले रासायनिक मलको अनुदान घटाउन भनेपछि यस्तो निर्णय गरिएको पनि कृषि मन्त्रालयले जनाएको छ।

‘रासायनिक मलको बढ्दो माग, बढ्दो अन्तर्राष्ट्रिय मूल्य र तद्अनुरूप रासायनिक मलमा बढ्दो अनुदान रकमलाई ध्यानमा राख्दै अर्थ मन्त्रालयको पत्रअनुसार स्रोत सुनिश्चितता गर्दाको सर्तको रूपमा रासायनिक मलमा दिइँदै आएको अनुदानलाई लागतको ५० प्रतिशतमा सीमित राख्ने राय आएको छ ।’ कृषि मन्त्रालयको विज्ञप्तिमा भनिएको छ।

मन्त्रालयका अनुसार नेपालका लागि वार्षिक पाँच लाख २० हजार मेट्रिक टन रासायनिक मल आवश्यक पर्छ। मलमा कृषकलाई अनुदान उपलब्ध गराउन चालू आर्थिक वर्ष ०७९/८० को बजेटमा रू १५ अर्ब ६ लाख छुट्याइएको थियो। 

गत साउन २७ गते अर्थ मन्त्रालयबाट रू १६ अर्ब स्रोत सुनिश्चितता दिइएको थियो भने यही फागुन ८ गते रु सात अर्ब ५० करोडको स्रोत सहमति दिइएको थियो। यसरी चालू आर्थिक वर्षका लागि रासायनिक मल शीर्षकमा कुल रु ३८ अर्ब ५० करोड ६ लाख बजेट कायम भएको छ।

हालसम्म कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट्र टेडिङ कर्पोरेसनबाट कुल तीन लाख ३१ हजार पाँच सय मेट्रिक टन रासायनिक मल खरिद भइसकेको मन्त्रालयले जनाएको छ।

यसरी, खरिद भएको मलमध्ये करिब दुई लाख ३७ हजार पाँच सय मेट्रिक टन मल आयात भइसकेको छ भने ९४ हजार मेट्रिक टन आयातका क्रममा छ। यस वर्ष धानबालीका लागि ९० हजार मेट्रिक टन मल अपुग हुने पनि मन्त्रालयले जनाएको छ।

ad
ad