१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ फाल्गुण २८ आइतबार
  • Saturday, 28 September, 2024
मुना कुँवर काठमाडाैं
२o७९ फाल्गुण २८ आइतबार o७:५९:oo
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

मापदण्डअनुसार छैन उपत्यकाको दूरसञ्चार सेवा

प्राधिकरणको मापदण्डअनुसार कल सेटअप सक्सेस रेट ९९.९९ प्रतिशत हुनुपर्छ, तर एनसेलको ९३.६९ प्रतिशत, नेपाल दूरसञ्चारको ९९.७८ र स्मार्ट टेलिकमको २६.३९ प्रतिशत मात्रै

Read Time : > 1 मिनेट
मुना कुँवर, काठमाडाैं
नयाँ पत्रिका
२o७९ फाल्गुण २८ आइतबार o७:५९:oo

काठमाडाैं उपत्यकाभित्रको दूरसञ्चार सेवा मापदण्डअनुसार नरहेको पाइएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको मोबाइल सेवाको गुणस्तर परीक्षण (ड्राइभ टेस्ट)सम्बन्धी प्रतिवेदनले यस्तो देखाएको हो । प्राधिकरणले गत माघमा काठमाडौं उपत्यकाका विभिन्न स्थानमा गरिएको भ्वाइस सेवाको गुणस्तर परीक्षण गरेको थियो । 

प्राधिकरणले ग्वार्को, कोटेश्वर, पुरानो सिनामंगल, नयाँबस्ती, बौद्ध, चाबहिल, गौशाला, सिफल, हाँडीगाउँ, कपन, धुम्बाराही, बारफेदी, भंगाल, हात्तीगाैंडा, बुढानीलकण्ठमा ड्राइभ टेस्ट गरेको थियो । गत माघ २० देखि २४ गतेसम्म नेपाल दूरसञ्चार कम्पनी, एनसेल आजियाटा र स्मार्ट टेलिकमको नेटवर्कको प्राधिकरणले सो स्थानमा ड्राइभ टेस्ट गरेको थियो । 

टेस्ट ड्राइभमा दूरसञ्चार सेवाप्रदायक कम्पनीहरूको मुख्य सूचकमध्ये कल सेटअप सक्सेस रेटमा नेपाल दूरसञ्चारको रेट ९९.७८ प्रतिशत रहेको छ । एनसेलको ९३.६९ प्रतिशत थियो भने स्मार्ट टेलिकमको २६.३९ प्रतिशत रहेको प्रतिवेदनमा उल्लेख छ । प्राधिकरणले तोकेको मापदण्डअनुसारको कल सेटअप सक्सेस रेट ९९.९९ प्रतिशत हुनुपर्छ । 

कल सेटअप टाइममा नेपाल दूरसञ्चारको ६.९७ सेकेन्ड देखिएको छ । एनसेलको ५.१८ सेकेन्डभन्दा कम छ भने स्मार्टको ११.९३ सेकेन्ड देखिएको थियो । प्राधिकरणको नियमअनुसार कल सेटअप टाइम पाँच सेकेन्डभन्दा कम हुनुपर्छ । एउटा मोबाइलबाट अर्को मोबाइलमा सम्पर्क गर्दा सम्पर्क अर्थात् घन्टी बज्न लाग्ने समय नै अल सेटअप समय हो । त्यस्तै, कल ब्लक रेटमा नेपाल दूरसञ्चारको ११.२१ प्रतिशत छ । एनसेलको ६.३ प्रतिशत र स्मार्टको ७३.६ प्रतिशत रहेको छ । प्राधिकरणले भने दुई प्रतिशतभन्दा कम हुनुपर्ने प्रावधान राखेको छ । 

ड्राइभ टेस्ट गर्दा प्राधिकरणले चलायमान सवारीसाधनमा जडान गरिएको परीक्षण उपकरणबाट लगातार फोनकल गरी वा डाटा प्रयोग गरी मोबाइल नेटवर्कको मुख्य–मुख्य सेवा मानकको तथ्यांक संकलन गरेको थियो । कुनै एक स्थानमा उपलब्ध सबै सेवाप्रदायकको गुणस्तर मापन समानान्तर रूपमा एकैसाथ गरिएको थियो । सबै सेवाप्रदायकको कुनै एक स्थानमा उपलब्ध फोरजी, थ्रिजी र टुजीमध्ये सर्वाधिक अनुकूल नेटवर्क स्वचालित रूपमा छनोट हुने गरी उपकरण व्यवस्था गरिएको थियो ।

कल परीक्षण सेवाप्रदायकको आफनै नेटवर्कभित्र लोकल कल १२० सकेन्डसम्म गरिएको थियो । नेपाल दूरसञ्चार कम्पनीको प्राधिकरणले १०७ वटा कलमा परीक्षणको प्रयास गरिएको थियो । जसमा ९५ वटा कल स्थापित भएका थिए । सफल दर भने ८८.७८ भएको प्राधिकरणको रिपोर्टले देखाएको छ । त्यस्तै, १२ वटा कल ब्लक गरिएका थिए । कल ड्रप रेट भने शून्य छ । 

यस्तै, एनसेलको भने १११ वटा कल परीक्षणका लागि प्रयास गरेको थियो । जसमा १०४ वटा कल स्थापित भएका थिए । जसको सफल दर ९३.६९ प्रतिशत रहेको छ । त्यस्तै, सातवटा कल ब्लक भएका थिए । कल ड्रप रेट शून्य रहेको छ । 
स्मार्ट टेलिकमको भने १९७ वटा कल परीक्षणका लागि प्रयास गरिएकोमा ५२ वटा स्थापित भएका थिए । यसको सफल दर २६.३९ प्रतिशत छ । १४५ वटा कल ब्लक थिए ।