१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १८ मंगलबार
  • Tuesday, 30 April, 2024
२o८१ बैशाख १८ मंगलबार १५:४१:oo
Read Time : > 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

अञ्जानमा सार्वजनिक जमिन अतिक्रमण गर्नेप्रति उदार बन्दै तुलसीपुर उपमहानगर

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख १८ मंगलबार १५:४१:oo

तुलसीपुर उपमहानगरपालिकाले आफ्नो नाममा रहेको जग्गाको खोजी गरेको छ । उपमहानगरले केही समयअघि सूचना प्रकाशन गरेर अतिक्रमण गरी बनाइएका घरहरू हटाउने बताएको थियो । त्यसका लागि आफ्नो जग्गाको विस्तृत विवरण तयार गर्न अध्ययन गरिसकिएको उपमहानगरपालिकाका प्रवक्ता माधव वलीले जानकारी दिए ।

‘हामीले जग्गाको खोजी गर्ने कार्यको अध्ययन पूरा गरेका छौँ,’ उनले भने, ‘अबको केही समयमा प्रतिवेदन आउँछ । प्रतिवेदन आएपछि जग्गा व्यवस्थापनको काम हुन्छ ।’

प्रवक्ता वलीले उपमहानगरको नाममा रहेको जग्गामा बनेका घरहरूलाई तीन किसिमले विभाजन गरेर काम अघि बढाउने बताए । केही व्यक्ति जानी–जानी बसेको, केही जग्गा ०५३ सालमा बेचिएको र केही जग्गा उपमहानगरपालिकाको भएको थाहा नभएर बसेको पाइएको उनको भनाइ छ । ‘तत्कालीन अवस्थामा नगरपालिकाले आफ्नो जग्गामा तारबार गरेको थियो । तर, केही जग्गामा तारबार गर्न छुटेछ,’ उनले भने, ‘तारबार गरेकोभन्दा बाहिरको जग्गा ऐलानी हो भनेर घर बनाएकाहरू पनि पाइयो । यसको विषयमा भने हामी सामाजिक न्यायका आधारमा काम गर्छौँ ।’

जानाजान उपमहानगरपालिकाको जग्गामा बनेका घरलाई भने हटाउने तयारी भएको प्रवक्ता वलीले बताए । ०५३ सालमा तत्कालीन नगरपालिकालाई पाँच बिघा जग्गा बेच्न अनुमति दिइएकोमा साढे दुई बिघा मात्रै विक्री भएको थियो । बाँकी साढे दुई बिघा जग्गा भने उपमहानगरपालिकाले बिक्री गर्ने उनले समेत बताए ।

उपमहानगरका पाँचवटा कित्ता छन् । तीमध्ये तुलसीपुर बसपार्कको उत्तरतर्फ आलुमण्डी आसपासको कित्ता नं. ५(ख) ५४४ मा १ बिघा १० कट्ठा १४ धुर जग्गा छ । त्यस्तै, कित्ता नं. ५(ख) कै  ५४५ मा ३४ कट्ठा, ५(ख) ५४६ मा ११ कट्ठा र ५(ख)४९९३ मा  ५३ हजार ५ सय ६५ वर्ग मिटर जग्गा रहेको छ । तीमध्ये अधिकांश जग्गा अतिक्रमणमा परेको छ । कित्ता नं. ५(घ) ८१२ मा अतिक्रमित जग्गामा बनेका घर भने घरधनीले आफैँ हटाउन थालेका छन् ।

उपमहानगरपालिकाले कात्तिक ३ गते नै जग्गा खाली गरिदिन भन्दै ३५ दिने सूचना जारी गरेको थियो । तर, सूचना प्रकाशित भएको ३५ दिन कटिसक्दा पनि चासो नदिएको भन्दै नागरिकले ध्यानाकर्षण गराइरहेका छन् । तर, आफूहरू नियमित यही कार्यमा लागिरहेको नगरप्रमुख टीकाराम खड्काले बताए । वास्तविक सुकुमबासी रहेको पाइएमा भने निश्चित ठाउँमा व्यवस्थापन गरिने उनको भनाइ छ ।

ad
ad