१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २३ आइतबार
  • Sunday, 05 May, 2024
२o८१ बैशाख २३ आइतबार o९:o९:oo
Read Time : > 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

पर्यटकको उत्कृष्ट गन्तव्य बन्दै राइनासकोट

अन्यत्र गएका स्थानीय गाउँमै फर्किए

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २३ आइतबार o९:o९:oo

भूकम्पले क्षतिग्रस्त लमजुङको राइनासकोट पछिल्लो समय पर्यटकको उत्कृष्ट गन्तव्य बनेको छ । लमजुङको राइनास नगरपालिका– ९ मा रहेको ऐतिहासिक राइनासकोटमा पुनर्निर्माण गरिएका १४ घरमा घरवास पर्यटन सञ्चालन गरिएसँगै राइनासकोट पुग्ने पर्यटक बढेका हुन् ।

अमेरिकी नागरिक नतासा वाजनियाकको पहलमा राइनासकोटमा १४ घर पुनर्निर्माण गरिएका छन् । डेढ करोड रुपैयाँभन्दा बढीको लगानीमा स्थानीय महत्व झल्कने भूकम्प प्रतिरोधी घर बने । रित्तिन लागेको गाउँ भूकम्प गएपछि जुर्मुराएको स्थानीय विष्णुमाया गुरुङले बताइन् । ‘पानी, बिजुली, बाटोघाटोको समस्याले गाउँ रित्तिनै आँटेको थियो भूकम्पपछि पहिलोपटक गाउँ फेरि जुर्मुराएको छ,’ गुरुङले भनिन्, ।

केही वर्ष पहिले आवश्यक विकासका पूर्वाधारसमेत नहुँदा राइनासकोटका बासिन्दा धमाधम अन्यत्र बसाइँ सर्ने गर्थे, तर पुनर्निर्माणपछि गाउँमै होमस्टे सञ्चालन गरेर आर्थिक उपार्जन गरिरहेका छन् । राइनासकोटमा दैनिक ३०–४० जना पर्यटक आउने गरेको होमस्टे सञ्चालक एवं राइनास नगरपालिकाका नगरप्रमुख खड्कबहादुर गुरुङले बताए ।

उनले भने, ‘१४ घरमा होमस्टे सुरु गर्ने योजनाअनुसार १४ वटै घर निर्माण गरियो । हाल १४ वटा घरमा होमस्टे सञ्चालन गरिएको छ । एकदिनमा ८४ जनासम्म राख्न सकिने क्षमता रहेको गुरुङले बताए । होमस्टेमा अर्गानिक खानाका परिकारसँगै स्थानीय खसी तथा कुखुराको मासु खुवाउने गरिएको छ ।

गाउँ छोडी अन्यत्र गएका फर्कन थाले  
राइनासकोट गाउँमा १४ घरधुरी रहेका छन् । १० घरले होमस्टे चलाएका छन् । राइनासकोटको होमस्टेमा लमजुङ, तनहुँ, गोरखासहित काठमाडाैं, पोखरा, चितवनलगायतका देशका विभिन्न ठाउँबाट पर्यटक दैनिक आउँछन् । होमस्टे सञ्चालकका अनुसार राइनासकोटको होमस्टेमा एकरात बसेको पर्यटकले चार सय रुपैयाँ, लोकल कुखुराको मासुसहितको एकछाक खानाको तीन सय रुपैयाँ, र सादा खानाको एक सय ५० रुपैयाँ तिर्नुपर्छ ।

गाउँमा होमस्टे सञ्चालन भई स्थानीयले मनग्य कमाउन थालेसँगै गाउँ छोडी अन्यत्र गएका पनि गाउँ फर्कन थालेका छन् । अहिले चार घरधुरी गाउँ फर्किसकेका छन् । गाउँमा अहिले सडक, पानी, बिजुली र इन्टरनेटको सुविधा पनि छ । पहिले खेतीपाती गरेर जीवन गुजार्ने स्थानीय अहिले होमस्टे व्यवसायबाटै मनग्य कमाउन थालेका छन् ।

राइनासकोटबाट बिहानैको मनमोहक सूर्योदय र साँझपखको सूर्यास्तको दृश्य, आँखैअगाडि ‘बादलुको घुम्टो’ ओढी मुस्कुराएका हिमाल, नागबेली पारामा बगेका चेपे र मस्र्याङ्दीको लोभलाग्दो दृश्य, बाइसे–चौबिसे राज्यशासनमा निर्माण गरिएको ऐतिहासिक राइनासकोट किल्ला, स्थानीय कालिका, कोटेश्वर महादेव, थानीमाई मन्दिरलगायत थुप्रै कोट, किल्ला र गढीहरूको अवलोकन गर्न सकिन्छ ।

सर्वोदय सेवा आश्रमका संस्थापक अध्यक्ष एवं सामाजिक अभियन्ता कृष्णराज ओलियाका अनुसार राइनास नगरपालिका– ९, मा रहेको राइनासकोटबाट एक सय ८० डिग्रीको बिन्दुमा एकैपटकमा बुद्ध, मनास्लु, अन्नपूर्ण, पिक ट्वान्टी नाइन, गणेश, माछापुच्छे«लगायत १८ वटा हिमशृंखला आँखैअगाडि देख्न सकिन्छ । गाउँमा स्थानीयको कला, संस्कृतिलाई जोगाउन संग्रहालयसमेत स्थापना गरिएको छ ।

लमजुङ जिल्लाको राइनासकोट शाहवंशीय राजाको उद्गमस्थल हो । राइनासकोटबाट लमजुङ हिमालसहित मनास्लु, अन्नपूर्ण, माछापुच्छ्रेका साथै धवलागिरिजस्ता हिमालको एकसाथ अवलोकन गरी पर्यटक रमाउने गरेका छन् । लमजुङको प्रवेशद्वार पाउँदीबाट दुई घन्टाको सवारीयात्रा र तीनघन्टाको पैदल यात्रापछि राइनसकोट पुग्न सकिन्छ । नेपालका बाइसे–चौबिसे राज्यकालमा तत्कालीन राजकुमार द्रव्य शाह बसेको राइनासकोट पुग्न लमजुङ प्रवेशद्वार पाउँदीबाट १३ किलोमिटर हुँदै दूधपोखरीमार्ग र त्यहाँबाट झन्डै २० मिनेटको सिँढी उक्लिनुपर्छ ।

ad
ad