एक भिक्षु जंगलमा दाउरा खोज्दै थिए । उनले नजिकै चारवटै खुट्टा नभएको एउटा फ्याउरो देखे । फ्याउरोलाई यस्तो अवस्थामा पनि हृष्टपुष्ट र स्वस्थ देखेर उनी छक्क परे । उनले मनमनै सोचे– आखिर यसले खान्छ चाहिँ के र यसलाई खुवाउँछ चाहिँ कसले ?
भिक्षु यस्तै केही सोच्दै थिए, नजिकै कतै सिंहको भयानक गर्जन सुने । सिंहको गर्जनसँगै जनावरहरूको भागदौड सुरु भयो । भिक्षु पनि तत्काल एक अग्लो रुखमा चढे । सिंहले हरिणको सिकार गरेको थियो । ऊ मुखमा हरिणलाई च्यापेर त्यही फ्याउरो भएको स्थानतिर अघि बढिरहेको थियो । सिंहले फ्याउरोलाई आक्रमण गर्नुको साटो हरिणको शरीरबाट केही टुक्रा मासु लुछेर उसको नजिकै राखिदियो र आफ्नो बाटो लाग्यो । भिक्षुलाई यो दृश्य अनौठो लाग्यो । उनलाई विश्वासै लागेन । तैपनि, आफ्नै आँखाले देखेको दृश्य विश्वास नगरी पनि सुख थिएन । भोलिपल्ट पनि भिक्षु त्यहीँ गए । उनले अघिल्लो दिनकै जस्तो दृश्य फेरि देखे ।
भिक्षुले मनमनै भने– यो सब भगवान् हुनुहुन्छ भन्ने प्रमाण हो । उहाँले जसलाई पैदा गर्नुहुन्छ, उसको पेट भर्ने व्यवस्था पनि स्वयं उहाँले नै गर्नुहुन्छ । अब यो फ्याउरोझैँ म पनि भगवान्को दयामा बाँच्छु । उहाँले मेरो भोजनको पनि अवश्यै व्यवस्था गर्नुहुनेछ ।
उनी एउटा रुखको फेदमा पलेँटी कसरी बसे । तर, एक दिन, दुई दिन हुँदै पाँचौँ दिनसम्म पनि उनको पेटमा एक दाना भोजन परेन । उनी भोकले उभिनै नसक्ने अवस्थामा पुगे । उनमा बोल्ने शक्तिसम्म रहेन ।
छैटौँ दिन एक महात्मा त्यही बाटो हुँदै कतै गइरहेका थिए । उनले भिक्षुलाई देखेर उनको त्यस्तो अवस्थाबारे जान्न चाहे । भिक्षुले सबै कुरा बताएर भने– भगवान् पनि कति निर्दयी हुँदा रहेछन् । मेरो प्राण जाने अवस्था आउँदा पनि मेरो भोजनको व्यवस्था गरेनन् । महात्माले भने– तपाईंले भनेको सत्य नै हो । तर, भगवान् तपाईं फ्याउरो होइन, सिंह बनेको देख्न चाहनुहुन्थ्यो । तर, तपाईंले उल्टो बाटो रोज्नुभयो । यसमा उहाँको के दोष ? महात्माको भनाइले भिक्षुका आँखा खुले । उनले अबका दिन अरूको जीवन बचाउने काममा समर्पित गर्ने अठोट गरे ।