पुरानो कालोपत्रे नउप्किँदै मुख्य सडकहरूमा कालोपत्रे गर्न सरकारले नै हरेक वर्ष छुट्याउँछ बजेट
उपत्यकाका कतिपय सडक चाहिनेभन्दा छोटो समयमै कालोपत्रे भए पनि कतिपय भने लामो समयसम्म पनि कालोपत्रे हुन सकेका छैनन् । धुलाम्मे, हिलाम्मे र ठुल्ठूला खाल्डाखुल्डी हुँदासम्म पनि सडक विभाग, काठमाडौं महानगरपालिका, डिभिजन सडक कार्यालयले ती सडक मर्मत गर्न चासो नदिएको हो ।
हाल उपत्यकाका अधिकांश नदी करिडोर सडकमा खाल्डाखुल्डी र अवरोधहरू मात्रै छन् । मेलम्ची खानेपानी आयोजना र नेपाल विद्युत् प्राधिकरणले सडक अस्तव्यस्त पारेका छन् । बिजुलीका तार भूमिगत र खानेपानी पाइप मर्मत गरेपछि सडक अलपत्र छाड्ने गरेका छन् । कतिपय ठाउँमा त निर्माण सामग्रीले सडक नै छेकिएको छ । हाल त्रिपुरेश्वर कालीमाटी खण्डमा पनि खाल्डैखाल्डा छन् । लैनचौर–लाजिम्पाट क्षेत्रका सडकमा पनि मेलम्चीको पाइप फुटेर प्रयोगकर्ताले सास्ती खेप्दै आइरहेका छन् । यसबाहेक रिङरोडबाहिरका केही सडक अस्तव्यस्त छन् । चाबहिल–साँखु सडक, ललितपुरको भैँसेपाटी, चापागाउँ, गोदावरी सडकखण्डमा खाल्डैखाल्डा छन् । तर, यी सडक कालोपत्रे गर्नेबारे भने सरोकारवाला निकायले चासो दिएको छैन । तर, सरकारी निकायले केही सडकलाई भने वर्षैपिच्छे कालोपत्रे गर्दै आइरहेको छ ।
उपत्यकाका केही सीमित सडकमा हरेक वर्ष कालोपत्रेमाथि कालोपत्रे गरिन्छ । पुरानो कालोपत्रे नउप्किँदै हरेक वर्ष सरकारले नै बजेट छुट्याएर कालोपत्रे गर्छ । ठेकेदार कम्पनीलाई त्यस्तो कालोपत्रे गर्न निकै सहज हुन्छ । पिच गर्न धुलो उडाउने वा सडकको बेसमेन्ट मिलाउनुपर्दैन । तर, हरेक वर्ष कालोपत्रेमाथि कालोपत्रे (ओभर ले) थपिँदा उपत्यकाका कतिपय सडकको तहसमेत उचालिएको छ । भित्री सडक र सम्पदा बस्तीका सडकमा यस्तो प्रकारको कालोपत्रेले समस्या निम्त्याउँछ । पुराना बस्तीबीचको सडक, सम्पदा क्षेत्रका सडकमा कालोपत्रे गरिरहँदा सडकको उचाइ बढ्छ । यसो हुँदा घरभित्र सडकको पानी पस्ने डरसमेत हुन्छ । सडकको भाग अग्लो हुँदै जाँदा घर तथा गल्लीहरूमा पानी भरिने समस्या हुने इन्जिनियर विजय जैसीले बताए ।
उपत्यकाका सडकमा नियमित कालोपत्रे
उपत्यकाभित्र एयरपोर्ट–तिनकुने–माइतीघर सडक हरेक वर्ष कालोपत्रे हुन्छ । अझ कोही विदेशी विशिष्ट पाहुँदा आउँदै छन् भने वर्षमा दुईपटकसम्म यो सडकमा कालोपत्रेमाथि कालोपत्रे गरिन्छ । कुपन्डोल–पुल्चोक, सुन्धारा–त्रिपुरेश्वर, भद्रकाली–सुन्धारा, माइतीघर–थापाथली, सुन्धारा–लाजिम्पाट, लैनचौर–सोह्रखुट्टे, बालुवाटार–लैनचौर, महाराजगन्ज बुढानीलकण्ठलगायत सडकखण्डमा पनि हरेक वर्ष कालोपत्रे थपिन्छ । यी सडकमा बढी भिआइपी मुभमेन्ट भइरहने भएकाले पनि सरकारले बढी चासो दिने गरेको सडक विभागले जनाएको छ ।
उपत्यकामा भिआइपी मुभमेन्ट बढी हुने सडकमा भैपरिआउने अवस्था र नियमित रूपमा कालोपत्रे गर्दा बजेट सडक विभागले नै खर्च गर्छ । सडक विभागको तथ्यांकअनुसार भिआइपी मुभमेन्ट बढी हुने करिब एक दर्जन सडकमा नियमित कालोपत्रेका लागि यो वर्ष नौ करोड ५० लाख बजेट विनियोजन भएको थियो । तर, उपत्यकाका अन्य मुख्य सडकमा कालोपत्रे गर्न खाल्डाखुल्डी वा पुरानो कालोपत्रे जीर्ण हुनुपर्छ ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्माले हरेक सडकहरू सफा हुनुपर्ने बताए । उनले केही सडकमा बढी चासो पर्ने भएकाले पनि ती सडकमा हरेक वर्ष कालोपत्रे आवश्यक रहेको जानकारी दिए । ‘सम्पदा क्षेत्रमा कालोपत्रे थपिँदै जाँदा हुने असरलाई हेर्नुपर्छ, त्यसका साथै केही मुख्य सडकहरू सरकारको प्राथमिकतामा पर्नु स्वाभाविक हो,’ उनले भने ।
ललितपुर महानगरले ‘ओभर ले’ गर्न नदिने
काठमाडौंका मुख्य सडकदेखि भित्री सडकसम्म हुने ‘ओभर ले’मा ललितपुर महानगरपालिकाले भने रोक लगाएको छ । ललितपुर महानगर प्रमुख चिरिबाबु महर्जनले सम्पदा तथा अन्य भित्री सडकहरूमा कालोपत्रेमाथि कालोपत्रे गर्न नदिइने बताए । उनले त्यसरी कालोपत्रे गर्दा सडकको केही भागको उचाइसमेत बढ्दा समस्या हुने भन्दै त्यस्तो प्रकारको कालोपत्रेलाई बन्द गरिएको बताए ।
महर्जनका अनुसार सम्पदा क्षेत्रमा हरेक वर्ष कालोपत्रे गर्दा सडकको भाग उचालिन्छ र घरघरमा पानी पस्छ । पाटन दरबार क्षेत्रमा त्यस्तो समस्या देखिन थालिसकेको छ । ‘राम्रो कालोपत्रे गरिएको छ भने हरेक वर्ष दोहोर्याइरहनुपर्दैन,’ उनले भने, ‘अन्यत्र गरे पनि हामी गर्दैनौँ, तर सडकमा खाल्डाखुल्डी पर्न पनि दिन्नौँ ।’ उनले यसो गर्दा एकातिर बजेटको नोक्सान हुने र अर्कातर्फ पुराना बस्तीलाई क्षति पुग्ने भएकाले सबै सडकमा हरेक वर्ष कालोपत्रे आवश्यक नरहेको बताए । उनका अनुसार ललितपुर क्षेत्रमा जथाभावी कालोपत्रे नगर्न महानगरले सडक विभागलाई पत्र पठाइसकेको छ ।