मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ फाल्गुण १२ शुक्रबार
  • Thursday, 09 January, 2025
नवीन अर्याल काठमाडाैं
२o७९ फाल्गुण १२ शुक्रबार १२:oo:oo
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

पोखरा विमानस्थल रात्रिकालीन उडानका लागि तयार

आइएफआर प्रणाली सञ्चालनमा आएसँगै २५ फागुनदेखि बुद्धले राति उडान गर्दै, अब नौ विमानस्थलमा रात्रि उडान हुने

Read Time : > 1 मिनेट
नवीन अर्याल, काठमाडाैं
नयाँ पत्रिका
२o७९ फाल्गुण १२ शुक्रबार १२:oo:oo

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल (पिआइए) रात्रिकालीन उडानका लागि तयार भएको छ । आधुनिक उपकरणको सहायताले जहाज उडाउन र अवतरण गराउन मिल्ने इन्स्ट्रुमेन्ट फ्लाइट रुल (आइएफआर) प्रणाली लागू भएसँगै बुधबारदेखि रातमा पनि उडान गर्न मिल्ने भएको हो ।

१७ पुस ०७९ मा उद्घाटन गरिएको पोखरा विमानस्थलमा आइएफआर प्रणाली लागू भएपछि अन्तर्राष्ट्रिय उडान पनि खुला भएको नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले जनाएको छ । अब पोखरामा अन्तर्राष्ट्रिय उडान गर्न चाहने वायुसेवाले उडान गर्न सक्ने क्यानका सूचना अधिकारी ज्ञानेन्द्र भुलले बताए । पोखरा विमानस्थलमा उद्घाटनकै दिनदेखि भिज्जुवल आन्तरिक उडान भइरहेका थिए ।

आइएफआर उडान सुरु भएपछि बुद्ध एयरले २५ फागुनदेखि पोखरामा रात्रिकालीन उडान गर्न लागेको कम्पनीका मार्केटिङ निर्देशक रूपेश जोशीले बताए । ‘काठमाडौंदेखि सवा सात बजे पोखराका लागि बुद्धको जहाज उड्नेछ, पोखराबाट आठ बजे जहाज काठमाडौं आउनेछ,’ उनले भने, ‘बुद्धले अहिले पोखरामा दैनिक १२ उडान गर्दै आइरहेको छ, अब एक–दुई उडान थपिन सक्छन् ।’ यती, सौर्य, श्रीलगायत वायुसेवा कम्पनीले पनि यात्रुको अवस्था हेरेर रात्रिकालीन उडान गर्ने तयारीमा छन् ।

हालसम्म बिहान ६ बजेदेखि दिउँसो चार बजेसम्म खुला हुने गरेको विमानस्थल अब राति १२ बजेसम्म खुला हुनेछ । २५ फागुनदेखि बुद्धले पोखराबाट झापाको भद्रपुर उडान गर्न लागेको पनि मार्केटिङ निर्देशक जोशीले बताए । अहिले पोखरालाई बेस बनाएर नेपालगन्ज, भैरहवा, भरतपुर उडान भइरहेको छ । भद्रपुर उडान सुरु भएको एक महिनापछि विराटनगर उडान सुरु गर्ने पनि उनले बताए ।

झापाको भद्रपुरबाट पोखरामा रातमा र पोखराबाट भद्रपुर बिहान उडान हुने उनको भनाइ छ । यस्तै, २५ फागुनदेखि बुद्धले चारवटा जहाज रात्रि बिसानका लागि पोखरा पुर्‍याउने भएको छ । आइएफआर उडान सुरु भएसँगै आन्तरिक वायुसेवा कम्पनीले रात्रि उडान सुरु गर्न लागे पनि अन्तर्राष्ट्रिय उडानको भने टुंगो लागेको छैन । पछिल्लो समय केही अन्तर्राष्ट्रिय वायुसेवाले पोखरा उडानका लागि चासो देखाउन थालेको पोखरा विमानस्थल आयोजना प्रमुख बिनेश मुनकर्मीको भनाइ छ ।  

विमानस्थल उद्घाटनकै दिनदेखि पोखराबाट भारतको बनारसमा सातामा तीन दिन अन्तर्राष्ट्रिय उडान गर्ने बुद्ध एयरको तयारी थियो । तर, भारतीय उड्डयन क्षेत्रको नियामकले अनुमति नदिँदा बुद्धको पोखरा–बनारस–पोखरा उडान रोकियो । बुद्धले दिल्लीमा दैनिक र देहरादुन सातामा तीन दिन उडान गर्ने पनि तयारीमा थियो । हंगेरीको विज एयर, थाई स्माइल, जजिरा एयरवेजलगायतले पनि पोखरा उडानका लागि चासो व्यक्त गरेको मुनकर्मीको भनाइ छ । पोखरामा वरिपरिको ‘टेरेन’ र २५ सय मिटरको धावनमार्ग हुँदा न्यारोबडी जहाजले मात्र उडान–अवतरण गर्न सक्छन् । 

चिनियाँ एक्स्पोर्ट–इम्पोर्ट बैंकबाट करिब २८ अर्ब रुपैयाँ ऋण लिएर बनाइएको विमानस्थलको भविष्यलाई लिएर धेरै टीकाटिप्पणी भइरहेको छ । तर, राज्य र निजी क्षेत्रले राम्रोसँग मार्केटिङ गर्न सकेमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको भविष्य राम्रो रहेको पर्यटन व्यवसायी वसन्त मिश्रको भनाइ छ । ‘भविष्यमा भैरहवा र पोखराका दुईवटै अन्तर्राष्ट्रिय विमानस्थलले देशको पर्यटन क्षेत्रमा ठूलो परिवर्तन ल्याउँछन्,’ उनले भने, ‘समुद्रसँग नजोडिएको नेपालजस्तो भौगोलिक मुलुकमा पर्यटकका लागि पहिलो प्रवेशद्वार नै विमानस्थल हो ।’

 नौ विमानस्थलमा रात्रि उडान
देशका तीनवटा अन्तर्राष्ट्रियसहित नौवटा विमानस्थलबाट रात्रिकालीन उडान गर्न मिल्ने भएको छ । काठमाडौं, भैरहवा, भद्रपुर, विराटनगर, जनकपुर, सिमरा, नेपालगन्ज र धनगढी एयरपोर्टबाट आन्तरिक उडान रातिमा पनि भइरहेको छ । अबदेखि पोखरा विमानस्थलबाट पनि रातिमा उडान हुनेछ । आइएफआर प्रणाली जडान गरिएका नौ विमानस्थल बिहान ६ बजेदेखि राति १२ बजेसम्म १८ घन्टा खुला रहँदै आएका छन् । अन्तर्राष्ट्रिय विमानस्थल भने चौबिसै घन्टा खुला हुन्छन् । रात्रिकालीन आन्तरिक उडान हुन थालेपछि त्रिभुवन विमानस्थलमा बढ्दै गएको हवाई चाप पनि कम भएको क्यानको ठहर छ ।