मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७९ फाल्गुण ११ बिहीबार १७:२६:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

ट्राफिक चोक–गेटा विमानस्थल गेट खण्डमा ‘स्मार्ट स्ट्रिट लाइट’ जडान

Read Time : > 1 मिनेट
२०७९ फाल्गुण ११ बिहीबार १७:२६:००

धनगढी–अत्तरिया ६ लेन सडकको धनगढी ट्राफिक चोक–गेटा विमानस्थल गेट खण्डमा ‘स्मार्ट स्ट्रिट लाइट’ जडान गरिएको छ। लाइट जडान गरिएपछि यो खण्डको ६.६ किलोमिटर सडक रातको समयमा झिलिमिली बनेको छ। धनगढी उपमहानगरपालिका र नेपाल विद्युत् प्राधिकरणअन्तर्गत राष्ट्रिय सडक बत्ती प्रवर्द्धन आयोजनाको दुई करोड ६९ लाख ५८ हजार रुपैयाँको लगानीमा बत्ती जडान गरिएको हो।

छ लेन सडकको मिडियनमा दुई सय १६ पोलमा चार सय ३२ आधुनिक बत्ती जडान गरिएका छन्। सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री प्रकाश देउवाले सडक बत्तीको उद्घाटन गरेका छन्। सडक बत्ती जडानमा उपमहानगरको ६० र सडक बत्ती प्रवर्द्धन आयोजनाको ४० प्रतिशत लगानी रहेको धनगढी उपमहानगरपालिका प्रमुख गोपाल हमालले जानकारी दिए।  

सडक बत्ती जडानले दुर्घटना न्यूनीकरणसँगै सहरी सौन्दर्य बढाएको मेयर हमालले बताए। रातिको समयमा बत्तीबाट आवश्यकताअनुसार उज्यालो प्रवाह हुने उनले बताए। राति सवारीको चाप अत्यधिक हुने बेला बल्बबाट बढी प्रकाश प्रवाह हुने र मध्यरातमा कम हुने उनको भनाइ छ। रात परेपछि बत्ती आफैँ बल्ने र उज्यालो भएपछि निभ्ने सेन्सर जडान गरिएको उपमहानगरले जनाएको छ।

मेयर हमालले धनगढीका अन्य सडकमा पनि सडक बत्ती जडानलाई उपमहानगरले प्राथमिकता दिएको बताए। उनले छ लेन सडकको बाँकी खण्डमा पनि अत्याधुनिक सडक बत्ती जडानको काम अगाडि बढेको जानकारी दिए। जथाभावी बाटो काट्नाले छ लेन सडकमा दुर्घटना बढेपछि त्यसलाई रोक्ने प्रयासस्वरूप मिडियनमा तारजाली पनि लगाएको हमालले बताए। बत्ती जडान गरिएपछि रातिको समयमा अँध्यारोका कारण हुने दुर्घटना न्यूनीकरण हुने उनले बताए।

छ लेनअन्तर्गत नै धनगढी ट्राफिक चोकदेखि भन्सारसम्मको दुई किलोमिटर खण्डमा करिब एक करोडको लागतमा आधुनिक बत्ती जडानको काम भइरहेको उपमहानगरका इन्जिनियर दिजराज भट्टले जानकारी दिए। त्यस्तै, ६५ लाख रुपैयाँको लगानीमा नगरका १० ठाउँमा १६ मिटर अग्ला ‘हाइमास्ट लाइट’ निर्माणाधीन अवस्थामा रहेका छन्। सडकमा आधुनिक बत्ती जडानले दुर्घटनाको जोखिम घटाउनुका साथै सहरको सुन्दरता बढाएको उपमहानगरको दाबी छ।